१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २ शनिबार १६:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आवश्यक संरचना नबनी बञ्चरेडाँडामा फोहोर फाल्न लागिएकोप्रति स्थानीयको आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २ शनिबार १६:२५:००

काठमाडौंको फोहोर विसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । सरकारी निकायले बञ्चरेडाँडामा फोहोर विसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि स्थानीयले आपत्ति जनाएका हुन्।

स्थानीय सनत उप्रेतीले भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीयहरू एकजुट हुने बताए । स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, स्थानीय सात सय घरको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकारसम्पन्न समिति बनाइनुपर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनीकरण गर्नुपर्नेलगायत सरकार र स्थानीयबीच भएको सहमति पूरा नभएसम्म बञ्चरेडाँडामा फोहोर खस्न नदिने उनले बताए ।

‘यो समस्या सरकारको पनि हो, हाम्रो र सबैको हो । काठमाडौं हामीले पनि सफा गर्नुपर्छ, हामी पनि सभ्य नागरिक बन्नुपर्छ। हामी प्रभावित क्षेत्रका जनताको पाँचवटा माग पूरा गरेपछि मात्रै फोहोर खस्न दिन्छौँ,’ उनले भने ।

त्यस्तै, अर्का स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाए । उनले तत्काल यसले असर नगरे पनि पछि गएर स्थानीयहरूलाई धेरै असहज परिस्थिति सिर्जना हुने बताए । उनले सरकारले लिचडको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल कायम रहिरहेका वेला फोहोर ल्याउन लागेको बताए ।

सहरी विकास तथा भवन निर्माण विभागका ल्यान्डफिल्ड साइटका सुपरभाइजर ध्रुवप्रसाद धिमालका अनुसार फोहोर फाल्नका लागि आवश्यक दुईमध्ये एउटा सेल मात्र तयार भएको बताए । उनले फोहोर खसाल्नलाई तयारी भइसकेको र नगरपालिकालाई यसबारे जानकारी दिइसकेको भन्दै फोहोर फाल्न मिल्ने बताए ।

धिमाल भन्छन्, ‘फोहोर फाल्नका लागि सेल वान र सेल टु दुईवटा छन्। सेल वान तयार भइसकेको छ। लिचड पनि तयार भएको छ, यो फालेको फोहोरको लिचड आएर जम्मा हुन्छ। अब फोहोर खसाल्नलाई रोकिँदैन। सेल टु बन्दै गर्छ, तर फोहोर खसे पनि काम रोकिँदैन, फोहोर खसाल्न तयारी छ भनेर नगरपालिकालाई जिम्मा लगाइसकेका छौँ। पत्र पठाएको छ, के गर्छ नगरपालिकाले ।’

सरकारले काठमाडौंको फाेहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइटमा विसर्जन गरिरहे पनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रूपमा बञ्चरेडाँडालाई विसर्जनको गन्तव्य बनाएको छ। तर, आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरूले त्यसको विरोध गरिरहेका छन्। स्थानीयहरूले आफूसँग भएका पाँचबुँदे माग लागू भए मात्र बञ्चरेडाँडामा फोहोर फाल्न दिने नत्र सरकारको प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिएका छन् ।