१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मोहन विष्ट कन्चनपुर
२o८१ बैशाख २४ सोमबार o७:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेको सुदूरपश्चिम इन्चार्ज को ?

उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य लेखराज भट्ट दुवैको आफू इन्चार्ज भएको दाबी

Read Time : > 1 मिनेट
मोहन विष्ट, कन्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:४३:oo

एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज कसलाई मान्ने भन्ने विषयमा विवाद चर्किएको छ । एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन् । दुवै नेताको दाबीले इन्चार्ज कसलाई मान्ने भन्नेमा कार्यकर्तामा पनि अन्योलता देखिएको छ । अध्यक्ष केपी ओलीले रावल र भट्टसहित केही नेताहरूलाई आफ्नो निवासमा बोलाएर प्रदेश इन्चार्ज भट्ट नै भएको भनेको खबर दुई दिनअघि सार्वजनिक भएको थियो । योसँगै प्रदेश इन्चार्जको विवाद सतहमा देखिएको छ । सुदूरपश्चिम पुगेका दुवै नेताले आफू नै प्रदेश इन्चार्ज भएको दाबी गरेका छन् । 

कञ्चनपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता भट्टले आफू नै एमालेको सुदूरपश्चिम इन्चार्ज भएको दाबी गरे । पार्टीले आफूलाई इन्चार्जको जिम्मेवारी दिएको भन्दै भ्रममा नपर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे । अध्यक्ष ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई इन्चार्ज, कर्ण थापालाई अध्यक्ष र भीम रावललाई सहजीकरणको संयोजनको जिम्मेवारी तोकेको भट्टको दाबी छ । ‘अध्यक्षज्यूले मलाई तपाईं नै प्रदेश इन्चार्ज हो भन्नुभएको छ । उपाध्यक्ष कमरेड भीम रावललाई संयोजन गर्ने जिम्मेवारी हो,’ भट्टले भने, ‘उहाँसँग मेरो व्यक्तिगत मतभेद छैन ।’ 

तत्कालीन नेकपामा विवाद हुँदा ओलीलाई साथ दिएका नेता भट्ट अदालतको फैसलाले दुई पार्टी पूर्ववत् अवस्थामा फर्केपछि माओवादी छाडेर एमालेमा लागे । पार्टी विभाजनको अप्ठ्यारो वेला भट्टको दह्रिलो साथ पाएका ओलीले उनलाई सुदूरपश्चिम इन्चार्ज बनाएका थिए । पार्टी त्यागसँगै माओवादी केन्द्रले कारबाही गरेपछि उनको सांसद पद गुमेको छ । अध्यक्ष ओलीले भट्टलाई नै प्रदेश इन्चार्ज तोकेका उनीनिकट सुदूरपश्चिमका नेताहरू बताउँछन् ।

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भने प्रदेशको इन्चार्ज भट्ट नै भएको बताए । रावललाई इन्चार्जको जिम्मेवारी दिन पार्टीले नयाँ कार्यविभाजन गर्नुपर्ने उनको भनाइ छ । ‘अस्ति पनि अध्यक्ष, महासचिव, संसदीय दलको उपनेतासहित बसेर प्रदेश इन्चार्ज लेखराजजीलाई नै तोकेको हो,’ थापाले भने, ‘२ जेठअघि, नेकपा हुँदा र नेकपामा विवादपछि गरी पार्टीमा तीनवटा कार्यविभाजन छन् । २ जेठअघिका कार्यविभाजनलाई पनि समायोजन गर्न आवश्यक छ ।’ रावलप्रति संकेत गर्दै थापाले कसैले म इन्चार्ज हुँ भनेर दाबी गर्दैमा नहुने बताए । 

उपाध्यक्ष रावलले भने एमाले एकताका लागि भएको १० बुँदे सहमतिपछि पार्टी २ जेठ ०७५ अघिको अवस्थामा फर्केकाले प्रदेश संयोजक स्वतः आफू भएको दाबी गरेका छन् । मंगलबार नै धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीको सुदूरपश्चिम संयोजक आफू भएको दाबी गर्दै संयोजकबाट हटाइएको हल्ला प्रायोजित भएको बताए ।

 ‘कोहीकोही समाचार दिन्छन् कसले कसलाई हटायो रे । त्यस्ता प्रायोजित समाचारको कुनै अर्थ छैन । यसलाई तपाईंहरूले गम्भीर रूपमा नलिनुहोला,’ उनले भने । पार्टीकै केही नेताले आफूलाई संयोजकबाट हटाएको हल्ला चलाएको उनको संकेत थियो । तत्कालीन एमालेमा रावल सुदूरपश्चिम संयोजक थिए । १० बुँदे सहमतिलाई रचनात्मक रूपमा कार्यान्वयन गर्न, सबै तहका कमिटी, जनसंगठनका पदाधिकारी र सदस्यलाई पार्टी २ जेठ ०७५ अघि फर्केको अवस्थालाई ध्यानमा राखी काम गर्न अन्तरपार्टी निर्देशन जारी भइसकेकाले यसमा कुनै अलमल नरहेको उनको भनाइ थियो ।

 

ad
ad