Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ भदौ २९ मंगलबार १९:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक निर्माणमा स्थानीय जनप्रतिनिधिकोे अवरोध

Read Time : > 1 मिनेट
२०७८ भदौ २९ मंगलबार १९:३९:००

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–रसुवागढी सडकखण्डको बेत्रावती–नयाँपुल खण्डको सडक निर्माणमा जनप्रतिनिधिले अवरोध गरेका छन् । मुआब्जाको कारण देखाउँदै उत्तरगया गाउँपालिका ५ का वडाध्यक्ष ईश्वर थापा तथा उनका परिवारले अवरोध गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । 

रसुवाको बेत्रावती बाइजक्सनदेखि नयाँपुलसम्मको जग्गा प्राप्ति गर्नका लागि प्रक्रिया अघि बढिसकेको अवस्थामा त्रिशूली थ्री ए जलविद्युत् आयोजनासँगको विवाद रहेको भनी अवरोध गरिरहेकाले हालसम्म पनि पूर्ण हुन नसकेको उनले बताए । 

हालसम्म २० जनाभन्दा बढी जग्गाधनीले मुआब्जा लिइसकेका छन् । आयोजनाका अनुसार आगामी एक साताभित्र करिब ३० जना जग्गाधनीले मुआब्जाबापतको रकम लिइसक्ने योजना छ । आयोजनाबाट मुआब्जा रकम वितरणमा कुनै समस्या नरहेकोसमेत आयोजनाप्रमुख भण्डारीले बताए । नापी तथा मालपोत कार्यालयबाट दाखिला भई आएमा मुआब्जा धनीको खातामा मुआब्जाबापतको रकम तत्काल जम्मा गरिदिने गरेको उनले बताए । 

सोही क्षेत्रमा सोमबार योजनाप्रमुख नारायणदत्त भण्डारीको उपस्थितिमा निर्माण कार्य सुरु भई तीन सय मिटर कार्य गरिरहँदा स्थानीयले अवरोध नगरेको तर वडाध्यक्ष थापासहित उनका परिवारले अभद्र व्यवहार गरी ढुंगामुडा गरेको तथा अपरेटरलाई आक्रमणको प्रयाससमेत गरेको आयोजनाप्रमुखले बताए । उनका अनुसार सो वेला नेपाली सेनाको टोपी लगाएका एकसमेत अवरोध गर्न उपस्थित भएका थिए । उनीहरूले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत हस्तक्षेप गरेको बताइएको छ । 

वडाध्यक्ष तथा उनको परिवारबाट भएको अभद्र व्यवहारका कारण आयोजनाको काममै प्रभाव परेको भण्डारीको गुनासो छ । काम गर्न समस्या भएसँगै योजनाले जिल्ला प्रशासन कार्यालय रसुवालाई सुरक्षा व्यवस्था गरिदिन माग गरेको छ । सोमबार मात्र करिब तीन सय मिटर सडक निर्माण गरिरहँदा अन्य क्षेत्रबाट कुनै अवरोध नआएकोमा उत्तरगया गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्षसहित उनको परिवारले कार्य क्षेत्रमा अभद्र व्यवहार गरेको र ढुंगामुढा गर्नुका साथै अपरेटरमाथि हातपातसमेत गर्न खोजेपछि योजनाले तत्काल निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालय रसुवासमक्ष सुरक्षा माग गरेका छन् । 

मंगलबार बेत्रावतीदेखि नयाँपुलसम्मको तीन किलोमिटर सडक स्तरोन्नतिका लागि सशस्त्र र नेपाल प्रहरी सुरक्षाका लागि परिचालन गरिएको थियो । तर, वडाध्यक्ष  तथा उनका परिवारले काममा अवरोध गरेकाले काम अघि बढ्न नसकेको भण्डारीले बताए ।  

उक्त सडक छेउमा पर्ने ६१ वटा घरटहराको क्षतिपूर्तिबापत  ३ करोड ५० लाख रकम यसअघि नै दिइसकिएको उनले बताए । अहिले उक्त क्षेत्रका १२७ जना जग्गाधनीमध्ये २० जनाको मुआब्जाको रकम दिइसकेको समेत उनले बताए । ३० जनाको एकसातामा वितरण हुनेसमेत उनको भनाइ छ । बाँकी जग्गाधनीकोे कागजातसहित प्रक्रिया पुर्याएर आएपछि सबै रकम भुक्तानी हुनेसमेत उनले बताए । मुआब्जाको रकम वितरणका लागि कार्यालयसँग ५० करोड मुआब्जाको रकम रहेको बताइएको छ । 

बेत्रावतीदेखि नयाँपुलसम्मको तत्काल पिच गर्ने सडकको दायाँ बायाँ १५÷१५ मिटर गरी ३० मिटर क्षेत्र गल्छी त्रिशूली रसुवागढी सडक योजनाले अधिग्रहण गर्नेछ । 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक रूपान्तरणकारी (गेम चेन्जर) राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना हो । गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबँेसीसम्म र तेस्रो खण्ड स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको हो । स्याफ्रुबँेसीदेखि रसुवागढीसम्म चिनियाँ पक्षले काम गर्ने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।