मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
रसिद
२०७८ भदौ १८ शुक्रबार ११:३५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

२० वर्षअघिको अवस्थामा फर्केको छ अफगानिस्तान

देश/परदेश

Read Time : > 2 मिनेट
रसिद
२०७८ भदौ १८ शुक्रबार ११:३५:००

तालिबान कब्जापछि अफगान जनताको हालत २० वर्षपहिलेकै अवस्थामा फर्केको छ । अमेरिकी पैसा, उपकरण र तालिमको सहयोगमा हामीले गरेको प्रयास पूरै खेर गएको छ ।

जब अमेरिकी सेनाको अन्तिम हवाईजहाजले काबुल छाड्यो, तालिबानीले रातभर बन्दुक पड्काएर खुसियाली मनाए । बन्दुकका आवाजले मेरा सबै आशा समाप्त भए भनिरहेका थिए । म अहिले ३८ वर्षको छु, मैले अझै तालिबानी शासनको त्रासदपूर्ण विगत बिर्सन सकिरहेको छैन । किशोर छँदा एक दिन म परिवारसहित काबुल घुम्न गएको थिएँ । मेरै उमेरका आफन्तले केही खेल हेर्न पाइन्छ कि भनी मलाई खेल मैदान लगे । त्यहाँ ठुलो भिड प्रतीक्षारत थियो, तर त्यहाँ कुनै खेल भइरहेको थिएन । मैदानमा पछ्यौराले ढाकिएकी एक महिलालाई कारबाट घिसारेर ल्याइयो, माइक समातेका व्यक्तिले ती महिलाको अपराधको बयान गरे । लगत्तै गोली चलेको आवाज सुनियो, तालिबानले ती महिलाको हत्या गरे । म यति भयभीत भएछु कि त्यसपछिका थुप्रै रात निदाउनै सकिनँ ।              

म तालिबानको विचारधारा र तिनका गतिविधिको कट्टर विरोधी थिएँ । त्यसैले, अफगानिस्तानमा अमेरिकाले सन् २००१ मा गरेको आक्रमणलाई नयाँ जीवनको अध्यायका रूपमा हेर्न थालेँ । उसको आक्रमणले मलाई मेरो मुलुकको सुदिन फिर्ने आशा जगायो । तसर्थ, अफगानिस्तानमा कार्यरत अमेरिकी संस्थाका लागि काम गर्न थालेँ । अमेरिकाले अफगानिस्तान छाड्ने पक्कापक्की भयो । अमेरिकीसँगै म पनि जोगिन्छु भन्ने सोचेको थिएँ, तर मेरै आँखाअगाडि अन्तिम अमेरिकी जहाजले अफगानिस्तान छोड्यो र एयरपोर्ट सदाका लागि तालिबानको कब्जामा पुग्यो । जे होस्, म मेरो परिवार र अरूलाई पनि अन्धकारमा धकेलिएको यो अफगानिस्तानबाट बाहिर निकाल्ने प्रयास गर्नेछु ।  

१५ अगस्टमा तालिबान काबुल प्रवेश गर्दा पूरै सहरभर अनौठो माहोल थियो । अमेरिकाले आफ्ना सहयोगीको उद्धार गर्ने खबर आउँदा हजारौँ अफगानी काबुल एयरपोर्टतर्फ दौडिए । म पनि परिवारलाई भेट्न दौडिँदै घर पुगेँ । मेरा पुराना रोजगारदाताले मलाई उद्धार गर्न कागज तयारी गरिसकेका थिए । तर, उडान सूचीमा मेरो नाम आएन । अमेरिकाले उद्धारलाई व्यवस्थित गराउन नसक्दा कठिन परिस्थितिमा सघाउने मजस्ता कैयौँलाई निराश मात्रै बनाएको छैन, जीवन नै जोखिममा पारिदिएको छ ।

यसअघि अमेरिकीसँग काम गरेका थुप्रैमाथि हातपात भएको छ, धम्की आएका छन् र केहीको हत्यासमेत गरिएको छ । अमेरिकाले अफगानिस्तान छोड्नु हाम्रा लागि खराब दिन हो भन्ने हामीलाई थाहा छ । काबुल कब्जामा गएपछि परिवारको बन्दोबस्त गरी तालिबानबाट जोगिन छिमेकमा शरण लिएको थिएँ । त्यो साता तालिबान लडाकु मेरो घर आएका पनि थिए । फोनबाट एक आफन्तले तालिबान लडाकु मलाई खोज्न आएको र आफू सफाइकर्मी भएको र परिवार भागिसकेको जानकारी दिएको बताइन् । तालिबान लडाकु पुनः मेरो घर आएछन् । अब मलाई जे पनि हुन सक्ने सन्देश दिएर गएको खबर पाएको छु । यस घटनाले म खतरामा छु भन्ने भयलाई थप बलियो बनाइदिएको छ । मेरो बुबा सेनामा हुनुहुन्थ्यो, उहाँ तालिबानविरुद्ध लड्नुभयो । लोकतन्त्रका लागि लड्नु नै सच्चा देशप्रेम र उच्च नैतिकताको प्रदर्शन हो भनेर मेरा बाले सिकाएका थिए । मैले अफगानिस्तानको चुनाव तथा पर्यवेक्षण कार्यक्रममा तीन वर्षजति काम गरेँ । पछिल्लो समय म एक अन्तर्राष्ट्रिय संस्थामा काम गर्थें । मेरा पूर्वरोजगारदाताले मेरा लागि विशेष आप्रवासन भिसा र पि–२ भिसाका लागि पहल गरेका पनि थिए । एक अमेरिकी जनप्रतिनिधिले त मलाई तुरुन्तै एयरपोर्टमा प्रवेश दिएर उडानको व्यवस्थाका लागि पत्र नै लेखेका थिए । तर, अहिले त जहाजबाट उद्धार पनि बन्द भइसकेको छ।

तालिबान कब्जापछि अफगान जनताको हालत २० वर्षपहिलेकै अवस्थामा फर्केको छ । अमेरिकी पैसा, उपकरण र तालिमको सहयोगमा हामीले गरेको प्रयास पूरै खेर गएको छ । अमेरिकाको उपस्थितिमा असंख्य चुनौतीका बाबजुद हामी सामान्य जीवनयापन गरिरहेका थियौँ । सन्तानको भविष्यप्रति हामी आशावादी थियौँ । अहिले सबैतिर अन्धकार मात्रै देखिएको छ । मेरा छोरीहरूले सम्भवतः आफ्नो शिक्षा पूरा गर्न अब कहिल्यै पाउनेछैनन् । सबै तालिबानको वैचारिकी एवं सांस्कृतिक नियमभित्र बस्न अभिशप्त हुनेछौँ । मुलुक छाडेर नयाँ जीवन जिउने आशा पनि अब एउटा नमिठो सपना बनिसकेको छ । अहिले अफगानिस्तानमा मानिस सास त फेरिरहेका छन्, तर तिनको जीवन सकिएको छ । तालिबानले मानव र महिला अधिकारको सम्मान गर्ने जनाए पनि त्यसमा विश्वास गर्ने आधार देखिन्न । उनीहरूको रबैयामा परिवर्तन अन्तर्राष्ट्रिय दबाब र आफ्नो सत्तालाई मान्यता दिलाउनका लागि मात्रै हो । एकपटक अन्तर्राष्ट्रिय मान्यता पाए उनीहरू आफ्नो वास्तविक प्रवृत्तिमा फर्किनेमा म ढुक्क छु । 

हाम्रो जीवन पूरै प्रभावित भइसकेको छ । खाद्यान्नको मूल्यले आकाश छोइसकेको छ भने हाम्रो मुद्राले आफ्नो मूल्य गुमाइसकेको छ । अब पासपोर्ट पाउन असम्भव छ र पासपोर्टबिना अधिकांश अफगानीलाई तेस्रो मुलुक जान असम्भव छ । हामी अहिले विशेष परोपकारी भिसाका लागि कुरिरहेका छौँ । अफगानिस्तान मैले प्रेम गर्ने मुलुकका रूपमा बाँकी रहेन । तालिबानले इच्छुक अफगानीलाई मुलुक छाड्न दिने वाचा पूरा गर्ने कुनै प्रत्याभूति छैन । यद्यपि, सन्तान र परिवारका लागि ज्यान हत्केलामा राखेरै भए पनि यो मुलुक छोड्ने मेरो प्रयास भने जारी नै रहनेछ । 

न्युयोर्क टाइम्सबाट    

(रसिद अमेरिकाले अफगानिस्तानमा सञ्चालन गरेको एक कार्यक्रमका अफगान कर्मचारी हुन्)