मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
२o८२ श्रावण १८ आइतबार १५:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र बडिमालिकामा धनगढीको पेटारो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार १५:३६:oo

धनगढी उपमहानगरपालिकाले बाजुरास्थित सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बडिमालिकामा पेटारो (पूजा सामग्रीको पोको)सहित टोली पठाएको छ। उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीसहित उपमहानगरका जनप्रतिनिधि र कर्मचारीसहित ३५ जनाको टोली आइतबार पेटारो लिएर बडिमालिका प्रस्थान गरेको हो।

धनगढीले पहिलोपटक पेटारोसहित सरकारी टोली बडिमालिका पठाएको हो। धनगढी उपमहानगरपालिका कार्यालयअगाडि रहेको वनदेवी मन्दिरमा पूजाआजापछि आइतबार बिहान टोली त्यसतर्फ प्रस्थान गरेको छ।

बडिमालिकामा जिल्ला प्रशासन कार्यालयमार्फत डोटी, जुम्ला, कालीकोट, बाजुराबाट सरकारी टोलीसहित पेटारो तथा जुम्लाबाट डोली पठाउने परम्परा रहिआएको छ। हरेक वर्ष साउनको जनै पूर्णिमाको अघिल्लो दिन अर्थात शुक्ल चतुर्दशी तिथिमा बडिमालिका मन्दिरमा पूजा हुन्छ। यहीवेला बडिमालिकामा ठुलो मेलासमेत लाग्ने गरेको छ।

बडिमालिका मन्दिरमा हुने पूजालाई लक्षित गरेर डोटी, बाजुरा, जुम्लाबाट सरकारी पेटारो र डोली पठाउने चलन वर्षाैँदेखि कायम छ। धनगढीले भने यस वर्षबाट पेटारो पठाउने परम्पराको सुरुवात गरेको हो। धनगढी उपमहानगरपालिकाको ३६औँ कार्यपालिका बैठकले बडिमालिकामा पेटारो पठाउने निर्णय गरेको थियो।

उपप्रमुख रानाले धनगढीका बासिन्दाको प्रतिनिधित्व गर्दै पूजाआजा गरेर आशीर्वाद लिन उपमहानगरको टोली बडिमालिका जान लागेको बताइन्। पूजाआजासँगै सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटकीय स्थल बडिमालिकाको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले धनगढीबाट टोली पठाउन परम्पराको सुरुवात गरिएको उनले बताइन्।

डोटीबाट सरकारी टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरेर पैदल बडिमालिका जाने गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार यो परम्परा सदिर्यौँदेखि कायम छ। 

बडिमालिका सुदूरपश्चिमकै सुन्दर धार्मिक पर्यटकीय क्षेत्र हो। धार्मिक आस्थाले भरिपूर्ण बडिमालिकाको दर्शन र पूजाआजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ। १४ हजार ६ सय मिटर अग्लो डाँडाको टुप्पोमा रहेको भगवतीको मन्दिरमा पूजाआजा गर्न बर्सेनि हजारौँ श्रद्धालु त्यहाँ पुग्ने गर्छन्।

बडिमालिका धार्मिकसँगै पर्यटकीय हिसाबले पनि विशेष महत्त्वको क्षेत्र हो। विशाल फाँटहरू, त्यहाँ फुलेका रंगीचंगी फूलहरूले त्यहाँ पुग्ने जोकोहीको मन आकर्षित गर्छ।