मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Sunday, 14 September, 2025
कमलराज भट्ट काठमाडौं
२o८२ भदौ ३० सोमबार oo:५o:oo
Read Time : > 1 मिनेट
समाचार

सहिद परिवार प्रधानमन्त्री भेट्न दिनभर बालुवाटारमा, भेट्दै नदिई निकालिएपछि मध्यराति धर्नामा 

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार oo:५o:oo

जेनजी आन्दोलनका सहिद परिवारले आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिबद्धताबमोजिम आफूहरुको माग पूरा नगरेको र दिनभर कुराएर भेट समेत नदिइ बालुवाटारबाट निकालेको भन्दै उनीहरु आक्रोशित भई प्रम निवासको गेटमा राति धर्ना दिएका हुन् । आफूहरुलाई वेवास्ता गरी प्रधानमन्त्री कार्की सत्ताको खेलमा लागेको गुनासो उनीहरुको छ । धर्नामा जेनजी समूहको नेतृत्व गरिरहेका सुधन गुरुङ आफ्नो टिमसहित पुगेका थिए । उनले सहिद परिवारको कुरा बालुवाटारभित्र पुर्याउने प्रयास गरेपछि सम्भव भएन । 

सहिद परिवारका सदस्यले पाँचवटा माग अघि सारेका छन् । मृतकलाई राष्ट्रिय शहिद घोषणा गर्ने,  उनीहरुको राजकीय अन्त्येष्टि र शव यात्रा गरिदिने पहिलो माग छ । दोस्रोमा परिवारलाई उचित क्षतिपूर्तिका साथै रोजगार, बीमा, शिक्षाको प्रबन्ध गर्नुपर्ने दोस्रो माग छ । तेस्रोमा अब बन्ने विभिन्न समितिहरुमा शहिद परिवारको प्रतिनिधित्व हुनुपर्ने माग अघि सारेका छन् । चौथोमा विमानस्थलमा फोटोहरु राखेर सहिदप्रति सम्मान दिनुपर्ने र पाँचौ माग शालिकसहित एउटा सहिद पार्क बनाइदिनुपर्ने रहेको छ । प्रधानमन्त्री कार्कीले शनिबार सहिद परिवारसँगको भेटमा मागहरु सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएकी थिइन् । आइतबार बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्रीको आमन्त्रणअनुसार ८ बजे नै बालुवाटार पुगेका सहिद परिवारले रातिसम्म पनि प्रधानमन्त्री भेट्न पाएनन् । राति १० बजेपछि सेनाले उनीहरुलाई बाहिर निकालेपछि आक्रोशित  बनेका उनीहरुले गेटमा धर्ना दिएका हुन् ।

’हिजो हामीलाई तपाइहरुको सम्पूर्ण माग पूरा हुन्छ, विहान ९ बजे आउनु भन्नुभएको थियो,’ धर्नामा बसेका सहिद परिवारका सदस्य कमल सुवेदीले भने, ’दिनभरी झुलाइदिए । हुन्छ हुन्छ भनेर बालुवाटारमा कुराएर राखे । १० बजे राति निस्केर जाउ भने ।’

आन्दोलनमा भान्जा रोशन न्यौपाने गुमाएका सुवेदी प्रधानमन्त्रीले सहिद परिवारको भावनासँग खेलबाड गरेको गुनासो गर्छन् । ’विहान ८ बजे नै आयौं । कुरायो कुरायो । सपथ ग्रहण छ भनेर कुरायो । दिउँसो मागहरु सिंहदरबारमा दर्ता गराएर आउनु भन्यो । हामी दर्ता गराएर आयौं । गर्दा गर्दा रात पर्यो । ८ बज्यो । आजै निर्णय हुन्छ । प्रधानमन्त्री निवासको कार्यकक्ष बाहिर कुरेको कुर्यै भयौं । मन्त्री बनाए कि के गरे अर्को गेटमा निस्किए । उताबाट गए । १० बजिसकेपछि आर्मीले यहाँ बस्न मिल्दैन भन्यो । हाम्रो माग पनि सम्बोधन भएन, त्यसरी बाहिर निकालियो,’ उनले भने, ’हाम्रो मागहरु हिजै मौखिक सहमति भइ गर्दिन्छु भन्नुभएको थियो । आज विहान ९ बजे गर्ने भन्ने भएको थियो । अन्तिममा राति १० बजेसम्म कुराएर हामीलाई निकालियो ।’

आफूहरुले जायज माग नै राखेको उनको भनाइ छ । ‘यति मागलाई खासै ठूलो कुरा थिएन । तर गर्ने भन्दा भन्दै हाम्रै भावनासँग खेलियो । हाम्रै बलिदानबाट बनेको सरकारले हामीमाथि खेलबाड गरिदिँदा दुख लागेको छ । बलिदानीबाट बनेको प्रधानमन्त्रीसँग आस थियो । केही पनि गर्दिनुभएन,’ सुवेदीले भने ।

सोमबार बिहानै आउनेगरी उनीहरु मध्यराति घर गएका छन्।