Skip This
विध्वंसात्मक गतिविधिमा संलग्नहरूको भिडियो फुटेज पठाउन बाँके प्रशासनको अपिल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
२o८२ भदौ ३० सोमबार २१:२४:oo
Read Time : < 1 मिनेट
समाचार

विध्वंसात्मक गतिविधिमा संलग्नहरूको भिडियो फुटेज पठाउन बाँके प्रशासनको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार २१:२४:oo

जेन–जी आन्दोलनका क्रमा बाँकेका सरकारी तथा निजी संरचनामा भएको विध्वंसात्मक गतिविधिमा संलग्नहरूको भिडियो फुटेज पठाउन जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ । विध्वंसमा संलग्नहरूको पहिचान गरी कानुनी कठघरामा ल्याउन बाँके प्रशासनले सर्वसाधारणबाट भिडियो फुटेज मागेको हो। 

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सोमबार एक सूचना जारी गरी विध्वंसात्मक गतिविधिमा संलग्नहरूको पहिचान गर्ने कार्य अगाडि बढाएको जनाएका हुन्। २४ भदौमा भएको आन्दोलनका क्रममा केही उच्छृंखल व्यक्ति तथा समूहले जिल्लास्थित दर्जनौँ सरकारी कार्यालय र कार्यालयका महत्त्वपूर्ण अभिलेख, सरकारी गाडीसमेतमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए। ‘सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने व्यक्ति एवं समूहको समयमै पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन नसकिए समाजमा दण्डहीनता र कानुनविहीनताको अवस्था सिर्जना हुन सक्ने भएकाले कारबाहीको दायरामा ल्याउन अतिआवश्यक देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी जोशीले जारी गरेको सूचनामा उल्लेख छ । 

‘विध्वंस, लुटपाट तथा आगजनी गर्ने व्यक्तिको पहिचान गर्नुपर्ने भएकोले आफूसँग भएका जानकारी, सूचना, तथ्य प्रमाण, भिडियो फुटेजलगायत सामग्री भए जिल्ला प्रशासनलाई उपलब्ध गराइदिनु हुन आग्रह छ,’ सूचनामा उल्लेख छ । 

प्रशासनले प्रमुख जिल्ला अधिकारीको मोबाइल र ह्वाट्सएप नम्बरमा ९८५८०२७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको ९८५८०२०१८८ र ९८५८०७०१८८ मा खबर गरिदिन अपिल गरेको छ ।