१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १७ बिहीबार
  • Thursday, 03 July, 2025
२o७८ भदौ १७ बिहीबार १o:५१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तिजको ‘सपिङ’ गर्न गएकाहरू शव बनेर फर्किए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १७ बिहीबार १o:५१:oo

गएको असार २८ गते दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक महिनाभित्र सिस्ने खोलाको पुल बनाउन निर्माण व्यवसायीले गरेको प्रतिबद्धतालाई आफ्नो फेसबुकमा पोस्ट गरे ।  घोराही–लमही सडकखण्डअन्तर्गत पर्ने उक्त खोलामा पुल निर्माण गरिरहेको एडभेन्चर/जेभीका प्रतिनिधि यज्ञ केसीसहितको पुलको फोटो हालेपछि समयमै पुल बन्ने कुरामा आशावादी बने । किनकि त्यो पुलले निकै सास्ती दिएको थियो । कुरुम्बाङले उदाहरणीय कार्य गरेको भन्दै यो पुल एक महिनाभित्रै बन्नेमा सबै निर्धक्क थिए ।  तर, दुई महिना पुग्नै लाग्दा पनि पुल निर्माणको काम एकरति पनि अघि बढेन । फलस्वरूप बुधबार राति निकै दुःखद घटना भयो । त्यतिवेला प्रशंसा गरेका निर्माण व्यवसायी केसीलाई दण्डित गर्नुपर्ने अवस्था आयो । 

बुधबार बेलुका १० बजेतिर खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भयो । तिजका सामग्री किनमेल गर्ने भनी चालकसहित पाँचजना कार रिजर्भ गरेर भारतको रुपैडिहा गएका थिए । सामान किन्दा–किन्दा रुपैडिहाबाट फर्किने क्रममा रात परिसकेको थियो । राति १० बजे सिस्नेखोला पुगे । महिलाहरूको महान् पर्वका रूपमा लिइने तिज मनाउन सामान ल्याएर फर्किँदै थिए । तर, उनीहरूको तिज मनाउने सपना चकनाचुर पार्‍याे ‘सिस्नेखोलाले ।’ 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार त्यो दिन खोला ठूलो आएको थियो । ठूला सवारीसाधनहरू आवतजावत गर्न सक्ने भए पनि साना सवारीसाधनहरू आवतजावत गर्न सक्ने अनस्था थिएन । अन्ततः कार पनि बग्यो । चालक हाम फालेर बाँच्न सफल भए । तर, अन्य चार महिलाको मृत्यु भयो । मृत्यु हुनेमा दुईजना एकै घरका हुन् ।

घोराही उपमहानगरपालिका– १३ निवासी ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही– १४ निवासी ३० वर्षीया राधा श्रेष्ठ दुई बहिनी हुन् । उनीहरू घोराही उपमहानगरपालिका– १६ का वडा सदस्य जगत श्रेष्ठका छोरीहरू हुन् । उनका दुईजना मात्रै छोरी थिए । उनीहरू दुवैजनाको बिहे भइसकेको थियो । जेठी छोरी सुशीलाका सन्तान छैनन्, तर कान्छी छोरी राधाको १२ वर्षको एउटा छोरा रहेको वडा सदस्य खिमा घर्तीले जानकारी दिइन् ।  

गाडी बगेपछि उद्धारमा खटिएको प्रहरीसहितको टोली ।तस्बिर सौजन्य : कुलदीप न्यौपाने

त्यस्तै, घोराही उपमहानगरपालिका– १३ निवासी ४० वर्षीया रीता माया पुन, घोराही– १४ निवासी करिब ४० वर्षीया विमला केसीको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरू प्र–३–०१–०२४ च ४४४० नम्बरको कारमा सवार थिए । कारचालक घोराही उपमहानगरपालिका– १४ निवासी  ४३ वर्षीय नरबहादुर पुन खुट्टा भाँचिएको अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ भने मृतक चारजनाकै प्रतिष्ठानमा पोस्टमार्टम हुँदै छ  ।

कम्पनी प्रतिनिधिलाई पक्राउ गर्न निर्देशन  
दाङको लमही–घोराही सडकखण्डअन्तर्गत सिस्नेखोलाले कार बगाएर चारजनाको मृत्यु भएपछि सोही खोलामा पुल निर्माण गरिरहेका निर्माण कम्पनीका प्रतिनिधिलाई दाङका प्रमुख जिल्ला अधिकारीले तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । प्रजिअ रामबहादुर कुरुम्बाङले बाँके प्रहरीलाई पत्र लेख्दै तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन् । 

पुल निर्माणको काम ढिला हुँदा अकालमा ज्यान गुमाउनुपरेको भन्दै सोही खोलामा पुल निर्माण गरिरहेको एडभेन्चर/जेभीका प्रतिनिधि यज्ञ केसीलाई तत्काल पक्राउ गरेर प्रशासनमा उपस्थित गराउन निर्देशन दिएका हुन् । पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि कुनै चासो नदिएको प्रजिअ कुरुम्बाङले बताए । 

गएको असार २८ गते कम्पनीका प्रतिनिधि केसीले एक महिनाभित्र काम सक्ने भनी प्रतिबद्धता जनाएको भनी प्रजिअ कुरुम्बाङले आफ्नो फेसबुकमा अपलोड गरेका थिए । तर, दुई महिना बित्न लाग्दा पनि काम पूरा हुन सकेन ।  काम नै अघि बढ्न सकेको छैन । सिस्नेखोला र पत्रेखोलामा निर्धारित समयमै पुल निर्माण नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको छ । वर्षातको समयमा आवतजावतमा समस्या हुने गरेको छ । त्यस्तै, घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुरखोला र सेवारखोलामा पुल निर्माणको कुनै सुरसार छैन । यी खोलाहरूमा पनि वर्षातमा सवारी आवतजावतमा निकै समस्या हुने गर्छ ।