१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o९:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

संयुक्त बैठक बसेर १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्छौँ : भीम आचार्य

अन्तर्वार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:११:oo

नवौँ महाधिवेशनदेखि तपाईंहरू माधव नेपाल समूहमा हुनुहुन्थ्यो, तर नयाँ पार्टी दर्तामा तपाईंहरूको संलग्नता देखिएन । यो अवस्थामा अहिले तपाईंहरूको परिचय के हो ? संस्थापन पक्षतिर लाग्नुभएको हो या अरू केही ?
हामी नेकपा एमालेका हौँ । यति परिचय भएपछि अरू के थप्नुपर्छ र ? हामीले आठौँ महाधिवेशनमा झलनाथ खनालको प्यानलमा, नवौँमा माधव नेपालको प्यानलमा निर्वाचित भएर काम गर्दै आयौँ । त्यसैले माधव नेपालसँग एजेन्डा मिल्दा माधव नेपालको भइयो, उहाँसँग आठौँमा एजेन्डा नमिलेपछि झलनाथतिर गइयो । अहिले विभाजन गर्दा उहाँ (माधव नेपाल)सँग एजेन्डा मिलेन ।

के एजेन्डा मिलेन ?
मिडियाका साथीहरूले नेताका नाममा सबैलाई भागबन्डा गर्नुहुन्छ । वास्तवमा त्यो तरिका नै गलत हो । किनभने हामी नेताका नाममा भागबन्डा हुने मान्छे होइनौँ । एमाले हामीले बनाएको पार्टी हो । कसैले बनाइदिएको पार्टीमा आएर खसक्क बसेका होइनौँ । आफैँले निर्माण गरेको घरमा बसेका छौँ । त्यसैले हामीले आफ्नै पार्टी एमालेको एजेन्डा बोकेका छौँ । विभाजन गर्ने एजेन्डामा कुरा मिलेन, गइएन । कुरा त्यति हो ।

विभाजनतिर त जानुभएन । तर, तपाईंहरूले अध्यक्ष केपी ओलीको सर्वसत्तावाद र निरंकुशतालाई लिएर जसरी अन्तर्संघर्ष गरेर एजेन्डाहरू उठाउनुभएको थियो, अब के ती सम्बोधन हुने स्थितिमा पुग्यो त ?
अहिले पनि ती एजेन्डा छँदै छन् । हामी न्यायपूर्ण संघर्ष गर्दै गलत कुराको विरोध गर्ने कुरा छोड्ने प्रश्नै छैन । कम्युनिस्ट पार्टीको कार्यकर्ता सबैले उठाइरहने कुरा हो ।

त्यसो भए केपी ओलीले बैठक बोलाउँदा तपाईंहरू जानुहुन्छ कि जानुहुन्न ? 
हामी त्यही गर्न खोज्दै छौँ । हामीले त १० बुँदे सहमति भएको भोलिपल्टै संयुक्त बैठक बोलाउन खोजेका थियौँ । तर, माधव नेपालले एक दिन, दुई दिन सारौँ भन्दाभन्दै, उहाँलाई पनि सँगै लिएर जाऊँ भन्दाभन्दै यहाँसम्म आइपुगेका हौँ । उहाँ नयाँ पार्टी गठन गर्ने स्थितिमा पुग्नुभयो । हामीचाहिँ स्थायी कमिटीको संयुक्त बैठक बसेर १० बुँदे सहमति कार्यान्वयनको दिशामा अगाडि जान्छौँ ।

पार्टी विभाजनपछि माधव नेपालहरू कांग्रेस नेतृत्वको सरकारमा जाने तयारीमा हुनुहुन्छ । अहिले विभाजनमा नलाग्नुभएकी तपाईंहरूकै समूहको नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त हुनुभयो । यो घटनाक्रमलाई हेर्दा त खास अन्तर्संघर्ष त सत्तासँगै जोडिएजस्तो देखियो होइन ?
प्रदेश ३ मा खास कुरा के हो भने अहिले पार्टीभित्र जुनखालको समस्या देखियो त्यसलाई व्यवस्थापन गर्न मात्र खोजेको हो । खासमा पार्टी एकीकृत अवस्थामै रहेको भए अष्टलक्ष्मी कमरेडलाई मुख्यमन्त्री बनाइँदैनथ्यो । पार्टीभित्रको अन्तर्संघर्षको स्थिति कायमै थियो भने अहिले प्रदेशका सरकारहरू नरहने नै स्थितिमा पुगेको थियो । त्यसैले सायद सरकार जोगाउनका लागि उहाँहरूले मुख्यमन्त्री छोड्नुभो र आएको जिम्मेवारी पूरा गर्न अष्टलक्ष्मी मुख्यमन्त्री बन्नुभएको हो । त्यसकारण सत्ताकै लागि हो भन्ने कुरा गलत हो ।

ad
ad