मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ भदौ ३ बिहीबार ०७:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर अस्पतालमा ठेउला र डेंगुका बिरामी जाँच्ने किट अभाव

Read Time : < 1 मिनेट
२०७८ भदौ ३ बिहीबार ०७:१३:००

चितवनको भरतपुर अस्पतालमा डेंगु र ठेउला (स्क्रब टाइफस) रोग परीक्षण गर्ने किटको अभाव भएपछि समस्या उत्पन्न भएको छ । किट सकिँदा १० दिनदेखि डेंगु र १५ दिनदेखि स्क्रब टाइफसको परीक्षण रोकिएको भरतपुर अस्पताल प्रयोगशालका प्रमुख हरि थापाले जानकारी दिए । आफूहरूले किट उपलब्ध गराउन स्वास्थ्य कार्यालय चितवनलाई जानकारी दिए पनि किट नआउँदा परीक्षण रोकिएको उनको भनाइ छ । केन्द्रीय अस्पताल भरतपुरमा प्रदेशबाहेक केन्द्र सरकारबाट पनि किट आउँछ । 

सिस्टमबाट किट माग नभएकाले भरतपुर अस्पताललाई किट उपलब्ध गराउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । यद्यपि अहिले स्वास्थ्य कार्यालय चितवनको स्टोरमा ४५ वटा डेंगु परीक्षणको किट मात्र छ । यहाँ स्क्रब टाइफसको परीक्षण किट सकिएको हप्तौँ भइसक्यो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडालाई  स्वास्थ्य कार्यालय चितवनले किटको माग गरे पनि हेटौँडाले एक महिनापछि मात्र किट उपलब्ध गराउने आश्वासन दिएको छ ।

यता निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगनाथ तिवारीका अनुसार बुधबार साँझ मात्र दुई सय पिस स्क्रब टाइफस र २०० डेंगु पिस किट इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाबाट प्राप्त भएको बताए । बिहीबारबाट अवस्था सहज हुने उनको विश्वास छ । किट नहुँदा  दैनिकजसो डेंगु र स्क्रब टाइफस रोगका लक्षण मिल्ने र उच्च ज्वरो आएका पाँचदेखि १० जनासम्म उपचार गराउन आउने बिरामी फर्किन्छन् । ती शंकास्पद बिरामीहरू रोगको परीक्षण गर्न नपाएपछि निजी अस्पताल जान बाध्य भएका थिए ।