१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण २५ सोमबार १२:०५:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लमजुङमा नेपाल मास्क अभियान सुरु

Read Time : > 1 मिनेट
२०७८ श्रावण २५ सोमबार १२:०५:००

लमजुङमा बजार क्षेत्रमा सचेतना फैलाउँदै नेपाल मास्क अभियान सुरु गरिएको छ । सरकारले शनिबारदेखि सुरु गरेको उक्त अभियानलाई साथ दिँदै लमजुङमा पनि सोमबारदेखि नेपाल मास्क अभियान सुरु गरिएको छ । कोरोनाको तेस्रो लहरबाट बच्नका लागि मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय लमजुङ र जिल्ला प्रशासन कार्यालय लमजुङको संयुक्त आयोजनामा नेपाल मास्क अभियान सुरु गरिएको हो ।

अभियानअन्तर्गत सोमबार बिहान जिल्लाको सदरमुकाम बेंसीसहरमा ‘नेपाल मास्क अभियान, म पनि मास्क लगाउँछु, अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु लेखिएको ब्यानरसहित जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रहरी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूसहित  बेंसीसहरबजारमा सचेतनामूलक र्‍याली  निकालिएको थियो । कार्यक्रममा अवसरमा प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीलगायतले बेंसीसहर बजारमा मास्क वितरण गरेका थिए  । 

यसैबीच बेंसीसहर नगरपालिका– ८ का युवाहरूले  बेंसीसहरमा कोभिड– १९ सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । बढ्दो कोरोना संक्रमण जोखिमलाई मध्यनजर राख्दै यसको नियन्त्रणका लागि बेंसीसहरका युवाहरूले सचेतना कार्यक्रम गरेका हुन् । युवाहरूले शुक्रबार बेंसीसहरको भीमसेनस्थान चोकमा सचेतना कार्यक्रमका साथ मास्कविना हिँडेका बटुवा तथा सर्वसाधारणलाई मास्क वितरण गरेका थिए ।

घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र स्यानिटाइजर, साबुनपानीले हात धुन र घरबाहिर हिँड्दा भौतिक दूरी कायम राख्न उनीहरूले अनुरोध गरेका छन् । बेंसीसहर– ८ का युवा रवि भुजेलले आफूहरूले निजी खर्चमा मास्क खरिद गरी वितरण गरेको बताए । यस्तै बेंसीसहर नगरपालिका– २ ले पनि  वडाभित्र नेपाल मास्क अभियान सन्चालन गरेको वडाध्यक्ष गणेश कँडेलले  बताए ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको सन्दर्भमा सचेतना विस्तारलाई जोड दिइएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । अभियानअन्तर्गत जनस्तरमा मास्कको सही प्रयोग भए–नभएको अनुगमनसमेत गरिनेछ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता लामो मास्क अभियान शनिबारदेखि सुरु गरेको छ ।