मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हत्याका मुख्य आरोपी देवाही–गोनाही– १ का वडाध्यक्ष शेख नरुल्ला
टेकराज थामी नयाँ पत्रिका
२०७८ श्रावण २४ आइतबार ०८:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हत्याका आरोपी वडाध्यक्ष ‘नाटकीय रूपमा’ दुई लाख धरौटीमा रिहा

Read Time : > 1 मिनेट
टेकराज थामी, नयाँ पत्रिका
२०७८ श्रावण २४ आइतबार ०८:०१:००

उही मुद्दामा पक्राउ परेका दुईजना भने पुर्पक्षका लागि जेलमा

हत्याका आरोपी वडाध्यक्ष ‘नाटकीय रूपमा’ दुई लाख धरौटीमा जिल्ला अदालत रौतहटबाट छुटेका छन् । तर, सोही मुद्दाका अन्य दुई आरोपी भने पुर्पक्षका लागि जेलमा छन् । 

६२ वर्षीय श्रीराम साह हत्याका मुख्य आरोपी शेख नरुल्ला दुई लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । नरुल्ला रौतहटस्थित देवाही–गोनाही– १ का वडाध्यक्ष हुन् । साह रौतहट माधवनारायाण– २ स्थित हनुमान मन्दिरका पुजारी थिए । उनीहरूबीच राम्रो सम्बन्ध थिएन । 

प्रहरीका अनुसार नरुल्लाले शुक्रबार साँझ साढे ५ बजे अदालतमा आत्मसमर्पण गरेका थिए । वकिलसहित अदालत पुगेका उनको तत्कालै वकपत्र भएको थियो । सोही वकपत्रका आधारमा न्यायाधीशले शुक्रबार नै दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका हुन् । अदालत सोही मुद्दाका लागि शुक्रबार बेलुकासम्म खुलेको थियो । 

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख सुवास भट्टराईले अदालतको आदेशमा दुई लाख रुपैयाँ धरौटी पेस गरेपछि नरुल्ला छुटेको बताए । उनले भने, ‘नरुल्ला शुक्रबार अदालतमा हाजिर भए र बहस पनि चल्यो । सोही आधारमा न्यायाधीशले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए । कागजात हेरेर हामी आइतबार पुनरावेदनका लागि उच्च अदालत जाने मनस्थितिमा छौँ ।’

तर, एउटै मुद्दामा पक्राउ परेका देवाही–गोनाही– १ करुनियाका ३६ वर्षीय नरेश भनिने रामनरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेल भने पुर्पक्षका लागि जेलमा छन् । हत्या भएको केही दिनपछि उनीहरूलाई प्रहरीले भारतको बिहारबाट पक्राउ गरेर ल्याएको थियो । हत्याका मुख्य आरोपी नरुल्ला भने फरार थिए । साहको ३ भदौ ०७७ बेलुका ९ बजे मन्दिरमै गोली हानी हत्या भएको थियो । 

फौजदारी कसुरमा बहस हुँदा पीडित पक्षलाई अनिवार्य अदालतमा हजिर गराउने कानुनी व्यवस्था छ । तर, पुजारी हत्याका मुख्य आरोपी मानिएका नरुल्ला अदालतमा हाजिर भई वकपत्र हुँदासमेत पीडित पक्षलाई खबर गरिएन । 

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले हत्या गरिएका पुजारी साहको परिवारमा कोही नभएकाले खबर नगरिएको जनकारी दिएको छ । निःसन्तान साहका परिवारमा दाजुभाइ रहेका छन् । उनीहरूकै जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । 

तत्कालीन समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित नरुल्ला हत्यापछि प्रहरीको खोजी सूचीमा थिए । वर्ष दिनसम्म लुक्दै आएका उनले शुक्रबार अचानक अदालतमा आत्मसमर्पण गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । 

उनले भने, ‘पुजारी हत्यालगत्तै नरुल्ला फरार थिए । प्रहरीले खोजी जारी राखेको थियो । उनी शुक्रबार एकाएक अदालतमा देखिए र सोही क्रममा आत्मसमर्पण पनि गरे । उनको शुक्रबार नै वकपत्र भएर दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएपछि रिहा भए ।’ नरुल्ला जसपाका स्थानीय नेता हुन् । उनको सोही वडास्थित करुनियामा घर छ ।

अचानक अदालतमा आत्मसमर्पण, तुरुन्तै रिहा
हत्याका मुख्य आरोपी देवाही–गोनाही– १ का वडाध्यक्ष शेख नरुल्ला एक वर्षदेखि फरार थिए । तर, शुक्रबार नाटकीय रूपमा जिल्ला अदालतमा आत्मसमर्पण गरे र त्यसै दिन अदालतले उनलाई दुई लाख धरौटीमा छाड्न आदेश दियो । तर, एउटै मुद्दामा पक्राउ परेका देवाही–गोनाही– १ करुनियाका ३६ वर्षीय नरेश भनिने रामनरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेल भने पुर्पक्षका लागि जेलमा छन् । 

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख सुवास भट्टराई भन्छन्, ‘नरुल्ला शुक्रबार अदालतमा हाजिर भए र बहस पनि चल्यो । न्यायाधीशले दुई लाख धरौटीमा छाड्ने आदेश दिए । कागजात हेरेर हामी आइतबार पुनरावेदनका लागि उच्च अदालत जाने तयारीमा छौँ ।’