मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडौं
२०७८ श्रावण २२ शुक्रबार ०९:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पशुपतिनाथ मन्दिर परिसरबाट तीन सय वर्ष पुरानो मूर्ति गायब 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ श्रावण २२ शुक्रबार ०९:१७:००

पशुपतिनाथ मन्दिर परिसर पाटी नंं. २० स्थित पुरातात्विक महत्वको कामदेव भगवानकाे मूर्ति चोरी भएको छ । स्थानीयका अनुसार सो मूर्ति तीन सय वर्ष पुरानो हो ।जयबागेश्वरी डठु टोलका स्थानीय जलद वैद्यका अनुसार पाटी नं. २० कामदेवको मूर्ति गत चैतसम्म सुरक्षित थियो ।

पाटीबाट मूर्ति गायब भएपछि स्थानीयले खोजीका लागि महानगरीय प्रहरी वृत्त गौशाला र पशुपति क्षेत्र विकास कोषमा निवेदन दिएका छन् । वैद्यका अनुसार पाटीसँग साँध जोडिएका घरधनी सन्तोष शर्माले गत चैतमा मूर्ति जडान गरिएको पर्खाल भत्काएका थिए । सो ठाउँमा शर्माले अहिले निजी कार पार्किङ गर्दै आएका छन् । उक्त जग्गा पनि सार्वजनिक रहेको र पर्खालको मूर्ति त्यहीवेलाबाट बेपत्ता भएको वैद्यले बताए ।

‘पाटी नं. २० मा रहेको कामदेवको मूर्ति एकाएक बेपत्ता भयो । चैत महिनासम्म त्यहीँ देखिन्थ्यो, अहिले त्यहाँ मूर्ति छैन । मूर्ति भएको पाटीको जग्गा पनि स्थानीय सन्तोष शर्माले अतिक्रमण गरेका छन् । उनले पर्खाल पनि भत्काए । अहिले त्यहाँ कार पार्किङ हुँदै आएको छ,’ वैद्यले भने ।

तत्कालीन काठमाडौं उपत्यका नगर पञ्चायतले प्रकाशन गरेको इन्भेन्ट्रीमा समेटिएको तथ्यांकले पनि पाटी नं. २० मा लगाइएको पर्खालमा कामदेवको मूर्ति जडान गरिएको देखाइएको छ । पर्खाल ०४४ मा तत्कालीन नगर पञ्चायतले बनाएको थियो । त्यसअघि त्यहाँ पाटी थियो । पाटीमा बसेर नेवार समुदायले भजनकीर्तन गाउने गर्थे । तर, अहिले उक्त जग्गा सुशीला पुडासैनी शर्माको नाममा दर्ता भएको देखिन्छ । सुशीला सन्तोषकी आमा हुन् । 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले पनि पाटी नं. २० मा रहेको जग्गा अतिक्रमण भएको र त्यहाँ राखिएको मूर्ति पनि गायब भएको सूचना प्राप्त भएको बताए । ‘पाटी नं. २० को जग्गा तलमाथि भएको सूचना हामीले पनि पाएका छौँ । त्यहाँ १८औँ शताब्दीमा स्थापना भएको कामदेवको मूर्ति पनि गायब भएको सूचना आएको छ । यसप्रति क्षेत्र विकास कोष गम्भीर छ । आवश्यक अनुसन्धान जारी छ,’ खतिवडाले भने ।

बागमती प्रदेशका प्रदेश सांसद नरोत्तम वैद्यले पनि पाटी नं. २० को सार्वजनिक जग्गा मिचिएको र पर्खालमा जडान गरी राखिएको कामदेवको मूर्ति हराएको बताए । ‘पर्खालमा कामदेवको निकै पुरानो मूर्ति थियो । पर्खाल भत्काएपछि त्यहाँ राखिएको मूर्ति एकाएक गायब भयो । पर्खाल लगाउनुअघि त्यहाँ सार्वजनिक पाटी थियो । पाटीमा बसेर नेवार समुदायले भजन गाउँथे । अहिले पाटी पनि छैन, मूर्ति पनि छैन,’ उनले भने ।

पशुपति क्षेत्र विकास कोषका अनुसार गत शिवरात्रिमा पनि पशुपतिनाथ मन्दिर प्रवेशद्वार नजिकैबाट धर्मचक्रको मूर्ति हराएको थियो । मन्दिर खोजीका लागि कोषले आवश्यक पहल गरेको छ । तर, अहिलेसम्म फेला पर्न सकेको छैन । उक्त मूर्ति पनि निकै पुरानो भएको स्थानीयको भनाइ छ ।