मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ श्रावण १९ मंगलबार ०६:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विमलाको व्यथा : कहिले यता, कहिले उता  

Read Time : > 2 मिनेट
२०७८ श्रावण १९ मंगलबार ०६:२५:००

उत्तरकुमार ओली पश्चिम दाङका बलियो खम्बा थिए । उपनिवेशमा परेको पश्चिम दाङमा एमालेले उत्तरलाई बलियो खम्बाका रूपमा लिएको थियो । कांग्रेसको गढ क्षेत्र मानिने दंगीशरण, बबईमा स्थानीय तहको निर्वाचनमा विजयी हासिल गरेपछि उत्तरको राजनीतिक उचाइ झनै बढेको थियो । शंकर पोखरेलका विश्वास पात्र मानिने उनी ०७० सालको संविधानसभाको निर्वाचनमा कांग्रेसका नेता दीपक गिरीसँग पराजित भएका थिए । त्यो पराजयलाई ०७४ सालमा बदला लिए र उनी दाङ निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा ‘ख’बाट कांग्रेसका बुद्धिराम भण्डारीलाई पराजित गर्दै विजयी भए ।  तर, उनले जीवनमा पहिलोपटक जितेको सांसद पदलाई लामो कार्यकाल बिताउन पाएनन् ।  

प्रदेशको अस्थायी राजधानी बुटवलबाट गृहजिल्ला दाङ आउने क्रममा घोराही उपमहानगरपालिका– ३ चिसापानीमा सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका ओलीको ०७५ फागुन १० गते मृत्यु भयो ।  उनले एक वर्षभन्दा बढी काम गर्न गर्न पाएनन् । उनको मृत्युले पार्टीलाई ठूलो क्षति पुर्‍याएको मुख्यमन्त्री पोखरेलले पटक–पटक सार्वजनिक कार्यक्रममा भन्ने गर्छन् । ‘पश्चिम दाङमा पार्टीलाई बलियो बनाउने काम उत्तरकुमार ओलीले गर्नुभएको थियो,’ उनी भन्छन्, ‘उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ ।’  

उत्तरको निधन भएको करिब नाै महिनापछि ०७६ मंसिरमा भएको उपनिर्वाचनमा दाङबाट सहानुभूतिका लागि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले  विमला ओलीलाई नै उम्मेदवार बनायो । यद्यपि, उनी त्यतिवेलासम्म पनि गृहिणी नै थिइन् । श्रीमान् राजनीतिका चतुर खेलाडी भए पनि विमलाले भने त्यो खेल बुझ्न पाइनन्, एउटा गृहणीका रूपमा मात्रै सीमित भइन् ।  ‘सहानुभूतिको मत प्राप्त गरेर विजयी त भइन् । तर, उनी आफैँ ‘सांसद’ पद सम्हाल्न सक्ने स्थितिमा थिइनन् र छैनन्’ एमालेकै एक नेताले भने, ‘त्यसकै परिणाम कहिल्यै यता त, कहिल्यै उता गर्नुपर्ने बाध्यता उनीमाथि आइलागेको छ ।’ 

वैशाख १९ गते एमालले आफ्नो सांसद हराएको भनिरहेका वेला सोही दिन उनले पत्रकार सम्मेलन गरेर भनेकी थिइन्, ‘म चुनावमा जानुभन्दा पहिला सामान्य गृहिणी थिएँ । म एमाले, माओवादी भन्ने केही चिन्दैनथेँ । नेकपा भन्ने पार्टी थियो । मलाई अपार दाइ ( राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा), दामा दिदी (प्रदेश सभा सदस्य दामा शर्मा)ले सहयोग गर्नुभयो । बढी माओवादीबाट सहयोग पाएँ, त्यसैले मैले माओवादी रोजेँ । मैले आफू राजीखुसी भएर माओवादी रोजेकी हुँ ।’

त्यसको तीन महिनापछि गएको शुक्रबारदेखि उनी तुलसीपुरबाट एकाएक सम्पर्कविहीन भइन् । पार्टीसँग सम्पर्कमा रहिनन् । तर, प्रहरीलाई फोन गरेर आफू नेपालगन्ज उपचारका क्रममा रहेको जानकारी दिइन् । त्यस क्रममा माओवादीको प्रदेश सभा संसदीय दलले खोजीनिती गर्‍यो । सचेतक तुलाराम घर्तीअनुसार उनको मोबाइलको लोकेसन हेर्दा कहिल्यै बुटवल, कहिले दाङ त, कहिले नेपालगँज देखाउँथ्यो । त्यसको तीन दिनपछि सोमबार आफू एमालेमा फर्किसकेको भनी विज्ञप्ति जारी गरिन् । पार्टीप्रति केही गुनासा रहेको भन्दै अब ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै एमालेको प्रदेश सभा संसदीय दलको सदस्य रहेको स्पष्ट पारिन् । 

श्रीमान् पनि एमाले नै रहेकाले श्रीमानको योगदानको कदर गर्न पनि आफू एमाले बनेकोसमेत बताइन् । ‘उहाँको निधनपछि रिक्त रहेको प्रदेश सभा सदस्यमा उपचुनाव हुने भयो । यो उपचुनावमा पार्टीले मलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । शोकमा डुबेकी म उम्मेदवार बन्ने निर्णय गरेँ । कमरेड उत्तरकुमार ओलीले पार्टीलाई गर्नुभएको योगदान स्मरण गरेँ, जनताले गरेको विश्वासलाई सम्झेँ, अन्ततः यी सबै कुराले मलाई आत्मबल  बलियो बनाएर उम्मेदवार बन्न प्रेरित गर्‍याे । म चुनावी मैदानमा होमिएँ । चुनाव जितेँ,’ उनले विज्ञप्तिमा लेखेकी छिन् । ‘मेरो जित केवल प्राविधिक मात्रै थियो ।  चुनावमा खास जित कमरेड उत्तरकुमार ओलीको थियो र, र हो । मलाई पार्टीले उम्मेदवार बनाउनु पनि कमरेड उत्तरकुमार ओलीप्रतिको सम्मान हो, भन्ने मेरो निष्कर्ष छ ।’ 

पटक–पटक प्रयोगमा रहने ‘विमला’
मुख्यमन्त्री शंकर पोखरेलले जतिवेला आफ्नो दलको स्पष्ट बहुमत रहेको भन्दै एकल सरकार घोषण गर्ने तयारी गरिरहेका थिए । त्यहीवेला सम्पर्कविहीन बनेकी थिइन् । सम्पर्कविहीन बनेको केही समयपछि उनी माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलन गरी जानकारी दिइन् । जतिवेला प्रदेश सभामा ८१ सांसद थिए । ८१ सांसदमध्ये ४१ सांसद एमालेका थिए ।

एमालेको एकल बहुमत पुग्ने अवस्थामा विमलाले माओवादी केन्द्र रोजिन् भने एमालेकै दृगनारायण पाण्डेले राजीनामा दिएपछि पोखरेल अल्पमतमा रहे । तर, पनि पोखरेलले प्रदेश प्रमुखलाई प्रभावमा पारेर मुख्यमन्त्रीको शपथग्रहण गरे । त्यसको केही दिनमा दाङकै प्रदेश सभा सदस्य अमर डाँगीले राजीनामा दिएपछि एमालेका ३८ सांसद मात्रै थिए । 

अहिले नयाँ प्रदेश प्रमुख आएपछि पुनः सरकार परिवर्तनको चलखेल भइरहेको छ । यही वेला पुनः विमलालाई एमालेले प्रयोग गर्‍यो । उनी एमालेमा प्रवेश गरिन् । योसँगै एमालेसँग सांसदको संख्या ३९ पुगेको छ । जम्मा ८७ सांसदमध्ये माओवादीका दुईजना कारबाहीमा पर्नुका साथै एमालेका दुईजनाले राजीनामा दिएपछि सांसदको संख्या ८३ थियो । तीमध्ये जसपाका तीन सांसदलाई पनि पार्टीले कारबाही गरेपछि  अहिले संसदमा ८० सांसद छन् । बहुमत पुर्‍याउन ४१ सांसद चाहिन्छ ।  विमलाले छोडेपछि गठबन्धनसँग ४० सांसद रहन्छन् । जसमा माओवादी केन्द्रबाट विजयी भएका पूर्णबहादुर घर्ती सभामुख छन् । उनले संसदमा निर्णायक मत दिन पाउँछन् ।