१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:o४:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

महाकालीमा बेपत्ता धामी भेटिएनन्, तुइन भएकै ठाउँमा कुशको शव बनाएर आफन्तले गरे दाहसंस्कार

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o४:oo

शोकाकुल परिवार

तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकालीमा बेपत्ता भएका जयसिंह धामीकी शोकाकुल पत्नी र परिवार । श्रीमान् बेपत्ता भएको सुनेदेखि नै उनी छिनछिनमा बेहोस हुने गरेकी छिन् । डेढ वर्षकी छोरी र करिब सात वर्षका छोराको लालन–पालन र शिक्षा–दीक्षाको जिम्मेवारी उनको काँधमा आएको छ । वैदेशिक रोजगारीका लागि दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किएका थिए । शुक्रबार पनि उनी विदेश जाने प्रक्रिया थाल्न काठमाडौं हिँडेका थिए ।

...                                                    ...

तुइन तर्दै गर्दा भारतीय अर्धसैनिक बल एसएसबीले डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकाली नदीमा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी शनिबार पनि फेला परेका छैनन् । उनको खोजीमा हिँडेका परिवारका सदस्य र गाउँलेले मृत्यु भएको आशंकामा कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

गृह मन्त्रालय भन्छ– अनुसन्धान जारी छ

शनिबार गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र सत्य–तथ्य जानकारी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय दार्चुला, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ ।’

‘गाउँका १५–२० जनासहित महाकालीको किनारैकिनार निकै तलसम्म खोज्यौँ । नदीमा पानी निकै बढेको छ, डुबाएर मृत्यु भयो । शवसमेत भेट्टाउन सकिने अवस्था नरहेपछि कुशको शव बनाएर दाहसंस्कार गरेका हौँ,’ जयसिंहका भाइ नरेन्द्रसिंहले भने, ‘बगेको ठाउँमै कुशको मूर्ति बनाएर अन्तिम संस्कार गर्‍यौँ ।’ 

सुरक्षाकर्मीसँगै स्थानीयले शनिबार बर्तिबगड, मडगाउँ हुँदै डोकटको नदी किनारमा जयसिंहको खोजी गरेका थिए । भारततर्फको किनारमा एसएसबीले पनि खोजी गरिरहेको थियो । जयसिंह बेपत्ता भएपछि मालगाउँ पूरै शोकमा छ । घरमा जयसिंहको पत्नी, करिब सात वर्षका छोरा र डेढ वर्षकी छोरी छन् । कमाउने मुख्य व्यक्ति नै बेपत्ता भएपछि परिवार बिचल्लीमा परेको छ । उनका अन्य तीन भाइ छुट्टाछुट्टै बस्दै आएका छन् । ‘छोराछोरी नाबालक छन्, स्वाभाविक रूपमा कसरी घर चलाउने भन्ने समस्या बढेको छ,’ स्थानीय हरकसिंह कार्कीले भने, ‘उनकी पत्नी राजन्तीमाथि ठूलो बज्रपात भएको छ ।’

श्रीमान् बेपत्ता भएको सुनेदेखि राजन्ती छिनछिनमा बेहोस भइरहेकी छिन् । गाउँलेले उनलाई ढाडस दिने र सम्झाउने गरिरहेको नरेन्द्रले बताए । ‘दाजु काठमाडौं गएर विदेश जाने तयारी गर्छु भन्नुहुन्थ्यो, त्यता जान सम्भव भए ठिकै भयो नत्र गौरापर्वका लागि केटाकेटीका लागि लुगाफाटो लिएर फर्किन्छु भनेर हिँड्नुभएको हो । तर, सबै सपना महाकालीको भेलमा बिलायो,’ उनले भने । 

वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किएका थिए । उनले आठ वर्षजति सेनामा पनि जागिर गरेका थिए । दुबईबाट फर्किएपछि जयसिंहले काठमाडौंको एक बैंकमा सेक्युरिटी गार्डको काम पनि गरेका थिए । भाइ नरेन्द्रका अनुसार विदेश जाँदा लागेको सात–आठ लाख ऋण अझै तिर्न सकेका छैनन् । 

बेपत्ता रहेका जयसिंह धामीको महाकाली किनारमा खोजी गर्दै स्थानीय

शुक्रबार बिहान सदरमुकाम खलंगाका लागि हिँडेका जयसिंह मालघाटमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि महाकालीमा खसेर बेपत्ता भएका थिए । खलंगाबाट काठमाडौं जाने उनको योजना थियो । शुक्रबार जयसिंहभन्दा अघि तुइन तरेका प्रत्यक्षदर्शीले ‘तुइनबाट जयसिंह पारि (भारततर्फ) पुग्न एक–डेढ मिटर बाँकी रहँदा एसएसबीले डोरी काटेको’ बताएका थिए । 

घटनास्थलबाट सुरक्षा अधिकारी फर्केपछि वास्तविकता सार्वजनिक गर्छौँ : सिद्धराज जोशी, प्रजिअ, दार्चुला

सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ । सुरक्षाटोलीले प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र आवश्यक अन्य अनुसन्धानपछि घटनाबारे सत्य–तथ्य बाहिर ल्याउनेछ । फिल्डमा पुगेका सुरक्षा अधिकृतहरूको रिपोर्टिङपछि वास्तविकता बाहिर आउँछ । 

सडकमार्गको पहुँच नहुँदा स्थानीय बासिन्दा सदरमुकाम आउन पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ । तुइन तरेपछि भारतपट्टिबाट गाडी चढेर उनीहरू खलंगा पारिपट्टि धारचुलासम्म पुग्छन् । तर, पछिल्लो समय एसएसबीले वेलावेलामा तुइन काटेर दुःख दिने गरेको थियो ।

शुक्रबार बिहान जयसिंह तुइन तर्दा सञ्चालक कल्याणसिंह धामीले तीनजना तरेपछि मात्रै डोरी फुकाउन एसएबीलाई अनुरोध गरेका थिए । तर, एसएसबीका जवानले अमानवीय व्यवहार देखाउँदै जयसिंह तरिरहेका वेला डोरी फुकालिदिए । ‘एसएसबीसँग तीनजना तरेपछि डोरी काट्नुहोला भनेर निकै आग्रह गरेका थियौँ । तर, जयसिंह तरिरहेका वेला एकजना एसएसबीका जवानले तार फुकालिदिए,’ कल्याणसिंहले भने । 

तुइनको डोरी भारतपट्टिको रूखमा तीन फन्को बेरिएको थियो । ‘जयसिंह भारतपट्टि पुग्न एक–डेढ मिटर बाँकी थियो, त्यही वेला तुइनको डोरी फुकाइदिए,’ कल्याणसिंहले भने । जयसिंहपछि तुइन तर्ने लाइनमा विक्रम रंकोली थिए । ‘हामीसँग फोटो खिच्न मोबाइल थिएन । हामी तीनजना नेपालतिर थियौँ । जयसिंह भारतपट्टि पुग्ने वेला नदीमा खसे । एक्कासि उनी महाकालीमा डुबेपछि हामी पनि आत्तियौँ,’ उनले भने, ‘नेपालतिर भएको भए उद्धारमा कोसिस गथ्र्यौँ, एसएसबीका जवान जयसिंह महाकालीमा खस्नेबित्तिकै भागेर पाँगलास्थित ब्यारेकतर्फ गए ।’

तुइन भएकै ठाउँमा झोलुंगे पुल बनाउन तीन वर्षअघि ठेक्का लागेको छ । तर, अहिलेसम्म जग हाल्ने काम मात्रै भएको छ । ‘पुल बनाउने भनेर जग हाल्ने काम मात्रै भयो, बाँकी काम अघि बढेन,’ तुइन सञ्चालक कल्याणसिंह धामीले भने, ‘यो ठाउँमा पुल बनेको भए जयसिंहले अकालमै ज्यान गुमाउनुपर्ने थिएन ।’ मालगाउँबाट पैदल हिँडेर सदरमुकाम पुग्न घोरेटो बाटो पनि राम्रो छैन । गाउँबाट खलंगा पुग्न पूरै एक दिन लाग्छ । तर, महाकालीमा तुइन तरेर भारततिरबाट गाडीमा जाँदा एक घन्टामै सदरमुकाम पुगिन्छ । 

भारतको पाँगला थानामा एसएसबीविरुद्ध उजुरी
तुइन तर्ने क्रममा एसएसबीले डोरी काटेका कारण व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भन्दै आफन्तहरूले भारतीय प्रहरीमा उजुरी दिएका छन् । व्यास– २ का बहादुरसिंह धामी र जोगासिंह धामीले धार्चुला तहसिलको पाँगला प्रहरी थानामा उजुरी दिएका हुन् ।

तुइनको डोरी काटेपछि एसएसबीका जवानहरू भागेको उजुरीमा उल्लेख छ । घटनापछि त्यस क्षेत्रमा रहेका नेपालीलाई ‘कसैलाई नभन्न’ धम्क्याएको निवेदक बहादुरसिंहले बताए । उजुरीमा सीमा क्षेत्रका दुई देशका नागरिकबीचको आपसी सम्बन्धका कारण तुइनबाट आवतजावत हुँदै आइरहेको उल्लेख छ ।

घटनास्थल पुगे सुरक्षाकर्मी

सशस्त्र प्रहरीको नम्बर ४४ गणका डिएसपी वीरसिंह धामी र जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख तथा सूचना अधिकारी नरेन्द्रबहादुर चन्द नेतृत्वको टोली शनिबार व्यासको मालगाउँ पुगेको छ । घटनाबारे थप अनुसन्धान गर्न टोली भारतीय बाटो हुँदै घटनास्थल गएको हो । उनीहरू व्यास गाउँपालिकाको तिगरमस्थित पुलबाट नेपाल प्रवेश गरेका थिए । 

त्यस्तै, व्यास गाउँपालिका– २ दुम्लिङबाट सशस्त्रका इन्स्पेक्टर नरेन्द्रसिंह बोहरा र नेपाल प्रहरीका असइ जनकबहादुर सिंह मालगाउँ पुगेका छन् । सुरक्षा टोलीले प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र अनुसन्धानका आधारमा घटनाबारे सत्यतथ्य बाहिर आउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

‘फिल्डमा पुगेका अधिकृतहरूको रिपोर्टपछि घटनाबारे यकिन विवरण आउँछ,’ प्रजिअ जोशीले भने । भारततर्फको स्थलगत अध्ययन गर्न गएका सशस्त्र प्रहरी नम्बर ४४ गणका गणपति नरेन्द्रबहादुर बमले घटनास्थलबारे सुरक्षा बैठकमा जानकारी गराएका छन् ।

भारतीय प्रशासनको दाबी– एसएसबीको संलग्नता छैन

दार्चुलाको सीमावर्ती भारतीय जिल्ला पिथौरागढ प्रशासनले घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार पठाएको पत्रको शनिबार जवाफ फर्काउँदै भारतीय प्रशासनले यस्तो दाबी गरेको हो । 

पाँगला गस्कुमा (तुइन भएको भारतीय क्षेत्र) एसएसबीको गस्ती टोली पुग्दा जयसिंह धामी महाकालीमा खसिसकेको दाबी भारतीय प्रशासनले गरेको छ । ‘होहल्ला सुनेपछि एसएसबीको गस्ती टोलीका कमान्डरले बुझ्दा जयसिंह धामी तुइनको तार फुकालेर नेपालतर्फ फालिरहेको अवस्थामा अल्झिएर नदीमा बेपत्ता भएको थाहा भयो,’ पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले पठाएको पत्रमा भनिएको छ, ‘तार फाल्ने क्रममै अल्झिएर धामी नदीमा खसेका हुन् ।’ 

घटना भएको समयमा एसएसबीको टोली मालघाट क्षेत्रमा ड्युटीमा खटिएको पत्रमा उल्लेख छ । भारतीय प्रशासनले पठाएको पत्र जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयमा पठाएको छ ।

ad
ad