१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १७ आइतबार ०७:५१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इतिहास बनाएको साता : मनोवैज्ञानिक प्रतिरोध सामनामा नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १७ आइतबार ०७:५१:००

नेप्से परिसूचकले गत साता फेरि नयाँ इतिहास रचेको छ । अन्तिम बिन्दुका आधारमा नेप्सेले पहिलोपटक ३ हजार ९४ बिन्दु छोएर फर्किएको हो । गत साता दुई दिन घटे पनि समग्रमा नेप्सेले करिब ७६ अंक जोडेको छ । 

अबका केही दिन नेप्सेले प्रतिरोध परीक्षण गरिरहने सम्भावना छ । मुख्यतः सय जोडिएका बिन्दुहरू (हाल ३१ सय) लाई नेपाली लगानीकर्ताले मनोवैज्ञानिक तहका रूपमा लिने गरेका छन् । यो तहमा पुगेपछि लगानीकर्ता केही समय नाफा बुुकिङमा पनि लाग्ने गर्छन् । त्यसैले बजार पस्ने सोचमा रहेका वा लगानी थप्ने सोचमा रहेका लगानीकर्ताले एक–दुई दिन पर्खनु सही हुन सक्छ । 

अघिल्लो साता चार दिन मात्रै कारोबार भएको बजारमा गत साता पाँचौँ दिन कारोबार भएपछि पनि कारोबार रकममा वृद्धि भएको छ । यद्यपि, यस्तो वृद्धिदर उच्च छ । करिब ६० प्रतिशतले कारोबार रकममा वृद्धि भएको हो । यद्यपि, औसत कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । औसत कारोबार रकम भने २७ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । 

गत साता बैंकिङ र सामूहिक लगानी कोष समूहगत परिसूचक मात्रै घटेका छन् । यो समूहमा झिनो दरमा गिरावट भएको हो । बढेका परिसूचकमा पनि वृद्धिदर न्यून छ । 

रिडी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्सलगायतको मूल्य उच्च दरमा बढेको छ । यिनीहरूको २८ देखि ३१ प्रतिशतसम्म मूल्य बढेको हो । लक्ष्मी उन्नति कोष, सिटिजन्स म्युचुअल फन्ड २ लगायतको मूल्य सबैभन्दा धेरैले घटेको छ । यिनीहरूको ५ देखि २० प्रतिशतले मूल्य घटेको हो । 

हाल प्रवृत्ति 
गत साताको अन्तिम दुई दिनमा नेप्सेले बनाएको मैनबत्ती चित्रमा पहिलो दिन सानो शरीरसहितको सेतो (हरियो) मैनबत्ती र दोस्रो दिन केही ठूलो शरीरसहितको कालो (रातो) मैनबत्ती आकृति बनाएको छ । पछिल्लो दिनको मैनबत्ती आकृतिले पहिलो दिन बनेको मैनबत्तीको वास्तविक शरीरलाई ढाकेको छ । यसलाई इन्गल्फिङ बियरिस आकृतिसमेत भनिन्छ ।

यसले अबको पहिलो कारोबारमा बजार घट्न सक्ने संकेत गरिरहेको छ । यो संकेत प्रभावका आधारमा मध्यम मानिन्छ । इन्गल्फिङ बियरिस आकृतिलाई थ्री आउटसाइड प्रवृत्ति बन्ने चरणका रूपमा पनि हेरिन्छ । यदि आइतबार पनि कालो मैनबत्ती बन्यो र अन्तिम सूचक अघिल्लो दिनको भन्दा तलसम्म पुगेर बजार बन्द भएमा केही समय बजार घट्ने प्रक्षेपण गरिन्छ । 

मुभिङ एभरेज रेखाले भने अहिलेसम्म बजार बुलिस प्रवृत्तिमै रहेको सुनिश्चित गरेको छ । २१ दिने मुभिङ रेखालाई काटेर केही दिनअघिदेखि माथि लागेको नेप्सेको ७ दिने रेखाबीच राम्रै दूरी कायम छ । ७ दिने रेखा माथि हुँदा बजार बुलिस नै रहेको र २१ दिने रेखा माथि रहेमा बजार बियरिस प्रवृत्तिमा रहेको विश्लेषण गरिन्छ । 

१४ दिने आरएसआई सूचकले बजार अधिक खरिदको अवस्थाबाट सामान्य हुने तयारीमा रहेको संकेत गरेको छ । यो सूचक स्केल ८४ दशमलव ४१ मा पुगेर केही ओर्लिएको छ । हाल यो ८० दशमलव १ बिन्दुमा छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । 

सातामा ३ हजार १ सय ११ को उच्च बिन्दु छोएको नेप्सेले पिभट विश्लेषणअनुसार आगामी एक सातामा ३ हजार १७ मा पहिलो टेवा पाउनेछ र यस टेवाको कारण नेप्से बढ्न थालेमा ३ हजार १ सय २६ मा पहिलो प्रतिरोध पाउनेछ ।