१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १४ बिहीबार ०९:२८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोना महामारीमा बढे बलात्कार र हत्या

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १४ बिहीबार ०९:२८:००

बलात्कारका घटनामा ६५ प्रतिशत पीडित बालबालिका, ८२ प्रतिशत चिनेजानेकाबाटै

कोरोना महामारीले प्रभावित बनेको गत वर्षमा समग्रमा अपराधका घटना घट्दा केही गम्भीर किसिमका अपराध भने बढेका छन् । बलात्कार, हत्या, लागुऔषध र आत्महत्याजस्ता अपराधको ग्राफ भने कोरोना महामारीबीच पनि उच्च रहेको प्रहरी तथ्यांकले देखाएको छ । 

आर्थिक वर्ष ०७७/७८ मा समग्र अपराध ४.२४ प्रतिशतले घटेको छ । तर, कर्तव्य ज्यान २५.५९, जबर्जस्ती करणी १८.१९, लागुऔषध ४.४४ प्रतिशतले बढेको छ । एक वर्षको अवधिमा ६ सय ९७ जनाको हत्या भएको छ अघिल्लो वर्ष पाँच सय ५५ जनाको हत्या भएको थियो । त्यस्तै, गत वर्ष बलात्कारका दुई हजार पाँच सय ३४ तथा बलात्कार प्रयासका सात सय ३५ घटना प्रहरीमा दर्ता भएका छन् । अघिल्लो वर्ष बलात्कारका दुई हजार एक सय ४४ तथा बलात्कार प्रयासमा ६ सय ८७ घटना दर्ता भएका थिए । जसअनुसार दैनिक औसतमा सातजना बलात्कारमा पर्ने गरेका छन् । 

बलात्कारका घटनामा ८२.२० प्रतिशत चिनजानका व्यक्तिबाट हुने गरेको प्रहरी तथ्यांक छ । ‘३०.९८ प्रतिशत छिमेकीबाट हुने गरेको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले पत्रकार सम्मेलनमा भने, ‘९.८८ प्रतिशत हाडनाता करणी छन् ।’ अर्काे डरलाग्दो तथ्यांक के छ भने बलात्कारका घटनामा ६५.२२ प्रतिशत पीडित १८ वर्षभन्दा कम उमेरका बालिका छन् । त्यसमा पनि ११.९८ प्रतिशत १० वर्षभन्दा कम उमेरका छन् । ६० वर्षभन्दा माथिका महिलासमेत बलात्कारका घटनामा पीडित हुने गरेका छन् । पीडितमध्ये १.४८ प्रतिशत ६० वर्षभन्दा माथि उमेरका छन् । घरेलु हिंसाका घटना पनि ११ हजार सात सय ३८ बाट बढेर १४ हजार दुई सय ३२ अर्थात् २१.२४ प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षका करिब चार महिना त लकडाउन नै थियो । तर, त्यसका बाबजुत पनि यस्ता अपराध बढ्नुले चुनौती बढेको प्रहरी अधिकारीहरू बताउँछन् । मानव बेचबिखन, चोरी, बैंकिङ कसुर, साइबर अपराध, संगठित अपराधजस्ता अपराध भने घटेको प्रहरी प्रवक्ता एसएसपी कुँवरले बताए । 

एक वर्षमा सात हजार फरार अभियुक्त पक्राउ 

अदालतले दोषी ठहर गरेर फरार रहेका अपराधीलाई पक्राउ गर्ने नेपाल प्रहरीको अभियानले सफलता पाएको छ । आर्थिक वर्ष ०७७/७८ मा अघिल्लो वर्षमा भन्दा दुई सय १६ प्रतिशत धेरै पक्राउ परेका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार ०७७ को साउनदेखि ०७८ को असारसम्म सात हजार तीन सय ९० जना फरार अभियुक्त पक्राउ परेका छन् । अघिल्लो वर्ष दुई हजार तीन सय ३२ जना पक्राउ परेका थिए । फैसला कार्यान्वयनको अभियानमा प्रहरीलाई अभूतपूर्व सफलता प्राप्त भएको प्रहरी प्रवक्ता एसएसपी कुँवरले बताए । 

गत वर्ष फरार अपराधीबाट प्रहरीले ४८ करोड ८९ लाख ७४ हजार राजस्व संकलन गरेको छ भने चार हजार २१ वर्ष आठ महिना कैदसमेत भुक्तान भएको छ । अदालतले दोषी ठहर गरेर पनि सजाय भुक्तान नगरेकालाई पक्राउ गर्न अभियान चलाइएको र त्यसमा सफलता प्राप्त भएको प्रवक्ता कुँवरको भनाइ छ । 

गत आर्थिक वर्षमा लागुऔषध बरामद पनि बढेको छ । लागुऔषध मुद्दामा एक वर्षमा चार हजार ६ सय २६ जना पक्राउ परेका छन् । लागुऔषध बरामद पनि अघिल्लो वर्षभन्दा ५२ प्रतिशतले बढेको छ ।

दैनिक १९ जनाले गर्छन् आत्महत्या 

आत्महत्यासम्बन्धी अपराध डरलाग्दो रूपमा बढ्दो छ । गत आर्थिक वर्षमा सात हजार एक सय १७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । जसअनुसार औसतमा दैनिक १९ जनाले आत्महत्या गर्दछन्, जुन अघिल्लो वर्षमा भन्दा १४.०४ प्रतिशत धेरै हो । 

आर्थिक वर्ष ०७६/७७ मा ६ हजार दुई सय ४१ तथा ०७५/७६ मा पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेका थिए । आत्महत्याको संख्या हरेक वर्ष बढ्दै गएको एसएसपी कुँवर बताउँछन् । आत्महत्या बढ्नुमा कोभिड महामारीले उत्पन्न समस्या पनि एउटा कारण हुन सक्ने प्रहरी आकलन छ ।