मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ४ सोमबार १४:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माघमा १० प्रतिशतले मूल्य बढ्ने उपभोक्ताको अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ४ सोमबार १४:२२:००

नेपाल राष्ट्र बैंकले भविष्यमा हुने मूल्यवृद्धिमा उपभोक्ताको अपेक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सुरु गरेको छ । मौद्रिक तथा गैरमौद्रिक तत्वबाहेक उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षाले पनि मुद्रास्फीति (महँगी)लाई प्रभाव पार्ने भएकाले यस्तो अध्ययन गरिएको राष्ट्र बैंकले जनाएको छ । 

४ सय ८२ जना उपभोक्तालाई आधार मानेर गरिएको अध्ययनअनुसार आगामी माघमा औसत मुद्रास्फीति १० प्रतिशत हुने अपेक्षा उपभोक्तामा रहेको पाइएको छ । गत माघमा गरिएको यस्तो अध्ययनले उपभोक्ताहरूले एक वर्षको अवधिमा हुन सक्ने मूल्यवृद्धि अपेक्षालाई समेटेको छ । ‘चालू महिना (माघ, ०७७) को औसत मुद्रास्फीति ८ प्रतिशत, तीन महिनापछि (वैशाख, ०७८) को औसत मुद्रास्फीति ८.७ प्रतिशत तथा एक वर्षपछि (माघ, ०७८) को औसत मुद्रास्फीति १० प्रतिशत हुने अनुमान रहेको पाइएको छ,’ राष्ट्र बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ । चालू आवको जेठ महिनासम्म भने औसत मूल्यवृद्धि ३ दशमलव ५५ प्रतिशत रहेको केही दिनअघि मात्रै राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनले देखाएको थियो ।  

माघमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ९४ प्रतिशत रहेको छ । हाल यो अध्ययन सहरी क्षेत्रका उपभोक्तामा मात्र सीमित छ । विराटनगर, वीरगन्ज, काठमाडौं, पोखरा, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढीका बासिन्दाहरूमा यस्तो सर्वेक्षण गरिएको थियो । सर्वेक्षणको दायरालाई क्रमशः विस्तार गर्दै भविष्यमा क्रमशः ग्रामीण क्षेत्रमा बसोवास गर्ने उपभोक्ता, ट्रेड युनियन, आयातकर्ता, थोक विक्रेता, उत्पादक, विज्ञ तथा उद्यमीको अनुमानलाई समेत समेट्ने योजना रहेको राष्ट्र बैंकले बताएको छ ।