१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुजिता भण्डारी मृत्यु प्रकरण : प्रदर्शन उग्र बनेपछि राप्तीमा कर्फ्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:१९:oo

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर मंगलबार दिनभरि चितवनको राप्ती नगरपालिका तनावग्रस्त बन्यो । परिवारले उनको हत्या भएको बताउँदै आएको छ । उनको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयले पूर्वी चितवनमा गरेको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले २४ घन्टाका लागि राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँबायाँ पाँच सय मिटरभित्र पर्ने क्षेत्रमा कर्फ्यु लगाएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा मंगलबार साँझ ७:३० बजेदेखि बुधबार बेलुका ७:३० सम्म कर्फ्यु कायम रहने उल्लेख छ । आदेशको अवज्ञा गरेमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिना कैद र जरिवाना लगाउन सक्ने जनाइएको छ ।

स्थानीयले मंगलबार दिउँसो पूर्व–पश्चिम राजमार्गमा टायर बालेर गाडी अवरुद्ध गरेका थिए । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । स्थानीय र प्रहरीबीच झडप हुँदा दुवैतर्फ केही घाइते भएका छन् । भण्डारीको परिवारले प्रहरीको बेवास्ताका कारण सुजिताको हत्या भएको आरोप लगाउँदै आएको छ । सुजिताले आफू अपरहण भएको कुरा त्यसै दिन फोनबाट जानकारी गराउँदासमेत प्रहरीले कुनै युवकसँग गएको होला भनेर अनुसन्धानलाई चासो नदिएको आमा अम्बिका भण्डारी बताउँछिन् ।

पोस्टमार्टमबाट खुलेन, भिसेरा परीक्षण गरिने

भण्डारीको शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको छ । मृत्युको कारण चोटपटक नभएको देखिएपछि अन्य कारण पत्ता लगाउन शवको भिसेरा परीक्षण गरिने भएको छ । पोस्टमार्टममा संलग्न डा.गोपाल चौधरीले पनि उनको मृत्यु चोटपटकबाट नभएको बताएका छन् । भिसेरा परीक्षणका लागि नमुना लिएर मंगलबार नै प्रहरीलाई बुझाइएको उनले बताए ।

११ असारमा साथीको घरमा तरकारी लिन जान्छु भन्दै हिँडेकी २३ वर्षीया भण्डारीको शव २० असारमा स्थानीय ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । शव भेटिएको ठाउँ नजिकै सुजिताको मोबाइल फोन पनि भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्य थापाले बताए । शवभन्दा केही तल मोबाइल फोन भेटिएको हो ।

मोबाइलको ब्याट्री सोमबार नै भेटिएको थियो । मोबाइलमा सिम भने नभएको, तर मेमोरी कार्ड रहेको प्रहरीले जनाएको छ । प्रहरीले शवनजिकै सोमबार नै एउटा फाइबरको पुरानो झोला र सेतो झोल पदार्थ रहेको प्लास्टिकको एउटा सानो हरियो बोतल पनि फेला पारेको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको भन्दै  सूचना दिएको छैन । 

ad
ad