१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असार १९ शनिबार २०:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाले धनुषा जलमग्न, जनजीवन अस्तव्यस्त 

Read Time : < 1 मिनेट
२०७८ असार १९ शनिबार २०:३०:००

बुधबार रातिदेखिको अविरल वर्षाले धनुषाको जनजीवन अस्तव्यस्त बनेको छ । धनुषाका एक दर्जन गाउँ डुबानमा परेका छन् । कमला र जुडेखोलामा आएको बाढीले उत्तरी र पूर्वी धनुषाका गाउँहरूको दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । 

कमला नदीमा आएको बाढीका कारण निर्माणाधीन पुल भासिएको छ । जकपुरधाम, सबैला, क्षीरेश्वरनाथ, मिथिला, गणेशमान चारनाथलगायतका नगरपालिकाका केही घर डुबानमा परेका छन् ।

सडक तथा नालाहरू जीर्ण रहेकाले वर्षाको पानीको निकास नहुँदा जनकपुर उपमहानगरपालिकाको पेठिया बजार, रामानन्दचोक, नमुना बस्ती, प्रगतिनगर, कपिलेश्वरको नयाँबस्तीलगायतका मुख्य स्थानमा पानी जमेको छ । 

जनकपुर बजारका कदमचोकदेखि कपिलेश्वर जाने सडक, पिरारीचोकदेखि नमुना बस्ती जाने सडक, मुजेलियादेखि कबड हल जाने प्रगति नगरको सडक नालामा परिणत भएका छन् । नालाको पानी सडक भएर नै बगिरहेकाले आवतजावत गर्न समस्या भएको सर्वसाधारण बताउँछन् । 

बाह्रबिघा तथा तिरहुतिया गाछी र हवाई अड्डाको वरिपरि पनि पानी जमेको छ । प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर, खानेपानी संस्थान, वन, मालपोत, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जनकपुर अञ्चल अस्पताल, हुलाक कार्यालयलगायतमा पनि पानी जमेको छ । 

धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जिल्लामा रहेको नदी तथा खोलाहरूमा पानीको बहाव बढ्दै गएको बताए । अहिलेसम्म कुनै मानवीय क्षति नभएको उनले बताए । ‘वर्षाका कारण अहिलेसम्म त्यस्तो क्षति भएको छैन’ उनले भने । 

पीडितहरूलाई सहयोग गर्न दैवी प्रकोप जिल्ला समन्वय समिति तयारी अवस्थामा रहेको भन्दै उनले भने, ‘प्रहरीसहित सबै निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छौँ र स्थानीय निकाय पनि तयारी अवस्था छन्, त्यो अवस्था आए सबै निकाय सक्रिय सहयोगका लागि अगाडि आउँछ ।’