१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७८ असार १४ सोमबार ११:२२:००
Read Time : > 1 मिनेट
खेलकुद

प्रिक्वार्टरफाइनलबाटै बाहिरियो साबिक विजेता पोर्चुगल, बेल्जियम क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ असार १४ सोमबार ११:२२:००

साबिक विजेता पोर्चुगल युरोकप २०२० को प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरिएको छ । स्पेनमा आइतबार राति भएको खेलमा बेल्जियमसँग १–० गोलले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो । यो जितसँगै बेल्जियम भने प्रतियोगिताको क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिताको साबिक विजेता पोर्चुगल र फिफा वरीयताको पहिलो नम्बरमा रहेको बेल्जियमबीचको यो प्रतिस्पर्धा रोमाञ्चक रह्यो । यद्यपि, बल पोसेसन र आक्रमणमा आफ्नो पकड बनाएर पनि गोल अवसरमा चुक्दा क्रिष्टियानो रोनाल्डोको पोर्चुगल उपाधि होडबाट चाँडै बाहिरियो । 

बेल्जियमलाई यो महत्वपूर्ण जित दिलाउन थोर्गन हाजार्डले पहिलो हाफको अन्त्यतिर गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको ४२औँ मिनेटमा झन्डै २५ यार्ड दूरीबाट गरेको उत्कृष्ट प्रहार आकर्षक गोलमा परिणत भएको थियो । उनको यही गोलले रोबर्टाे मार्टिनेजको टोलीले क्वार्टरफाइनलमा इटालीसँगको भेट निश्चित गरेको छ । क्वार्टरफाइनल चरणको यो खेल आगामी शुक्रबार हुनेछ ।

खेलमा गोलका धेरै प्रयास असफल भएको पोर्चुगल अभागी ठहरियो । रुबेन डायजको एउटा सशक्त हेडिङलाई बेल्जियमका गोलरक्षक थिबउट कोर्टुवाले रोकिदिए । यस्तै, खेलको अन्त्यतिर राफइल गुरेइरोको प्रहार साइड बारमा लागेर फर्कियो । बेल्जियमको पोस्टमा नियमित आक्रमण गरेको पोर्चुगलको अरू धेरै अवसर खेर गयो ।

जितका बाबजुद बेल्जियमलाई भने आफ्नो खेलाडीको चोटको चिन्ताले सताउनेछ । पोर्चुगलविरुद्धको खेलका क्रममा बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुनी चोटकै कारण मैदानबाट बाहिरिए । यस्तै, कप्तान इडेन हाजार्ड पनि चोटग्रस्त देखिएका छन् ।

आइतबार पोर्चुगल र बेल्जियमबीचको प्रतिस्पर्धा सकिएपछि स्पेनको सेभिलस्थित स्टेडियो डी ला कार्तुजाको दृश्य स्वाभाविक देखियो । रेफ्रीले खेलको अन्तिम सिटी फुकेसँगै बेल्जियमका प्रशिक्षक मार्टिनेज खुसीले हातले आकाशतर्फ प्रहार गरिरहेका देखिए । पोर्चुगलका कप्तान रोनाल्डो आफ्नो आर्म व्याड फुकालेर मैदानमा फ्याँक्दै असन्तुष्टि जनाउँदै थिए ।

रोनाल्डोको टोलीले बेल्जियविरुद्ध अन्तिम ४५ मिनेट सम्भवतः प्रतियोगिताकै सर्वाेत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसमा पोर्चुगलले बेल्जियमको पोस्टमा सशक्त १५ सट प्रहार गरेको थियो । यद्यपि, पोर्चुगलको प्रयास एकपछि अर्काे असफल देखियो ।

खेलको दोस्रो हाफको जस्तै प्रदर्शन पहिलो हाफमा पनि सम्भव भएको भए सायद पोर्चुगल पराजित हुने थिएन । सन् २०१६ मा युरोकपको उपाधि जित्ने क्रममा पोर्चुगलले मात्रै एउटा खेल ९० मिनेटको निर्धारित समयभित्र जितेको थियो । बाँकी खेलका लागि उसलाई अतिरिक्त समय खेल्नुपरेको थियो । यसपटक खेलको निर्धारित समयमै पर्याप्त अवसर सिर्जना गरेर पनि पोर्चुगल अघि बढ्न सकेन । 

रोनाल्डोसामु यो खेलमा राष्ट्रिय टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा आफ्नो एक्लो नाम लेखाउने अवसर थियो । उनले यसै प्रतियोगिताको दौरान फ्रान्सविरुद्ध दुई पेनाल्टी गोल गर्दै इरानका अली दाइको नाममा रहेको १०९ गोलको यो कीर्तिमान बराबरी गरेका थिए । उनलाई उक्त कीर्तिमान आफ्नो मात्रै नाममा लेखाउन अर्काे खेल कुर्नुपर्ने भएको छ ।