१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० पौष १८ बुधबार ०८:३४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाँच वर्षपछि रोनाल्डो सर्वाधिक गोलकर्ता

Read Time : > 1 मिनेट
२०८० पौष १८ बुधबार ०८:३४:००

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच वर्षपछि क्यालेन्डर वर्षमा फुटबलकै सर्वाधिक गोलकर्ता बन्न सफल भए । सन् २०२३ मा उनले समग्रमा ५४ गोल गरेका थिए । सन् २०१७ मा उनले ५३ गोल गरे । त्यसवेला यो गोल संख्या एक फुटबलरले गरेको सर्वाधिक गोल थियो । गत वर्ष साउदी अरेबियाको प्रो–लिगअन्तर्गत अल नासेरसँग आबद्ध भएका रोनाल्डोले सम्पन्न भएको सिजनकै सर्वाधिक गोलकर्ताका रूपमा आफूलाई उभ्याए । उनले गत सिजनमा अल नासेरबाट ४४ व्यक्तिगत गोल गरे । 

उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट १० अन्तर्राष्ट्रिय गोल गर्न सफल भए । रोनाल्डोले समग्रमा गत वर्षको सिजनमा ५९ खेल खेले । गत वर्षको सिजनमा इंग्ल्यान्डका ह्यारी केन दोस्रो तथा फ्रान्सका केलियन एम्बाप्पे तेस्रो स्थानमा रहे । सन् २०२३ को सिजनमा रोनाल्डो, केन र एम्बाप्पेले मात्र ५० गोलभन्दा बढी गरेका थिए । 

करिअरमा पाँचपटक टप स्कोरर
३८ वर्षका रोनाल्डोले आफ्नो करिअरमा पाँचपटक सर्वाधिक गोलकर्ता बने । सन् २०११, सन् २०१३, २०१४ र २०१५ को सिजनमा उनी विश्व फुटबलमै टप स्कोरर बनेका थिए । स्पेनिस क्लब रियल म्याड्रिडमा रहँदा उनले सन् २०११ मा ६० गोल, सन् २०१२ मा ६३ गोल, सन् २०१३ मा ६९ गोल, सन् २०१४ मा ६१ गोल, सन् २०१५ मा ५७ गोल, सन् २०१६ मा ५५ गोल र सन् २०१७ मा ५३ गोल गरेका थिए । रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधि दिलाएपछि उनी सिरिए क्लब युभेन्ट्समा आबद्ध भए । त्यसपछि उनले इंग्लिस क्लब म्यानचेस्टरसँग सम्झौता गरे । युनाइटेडको व्यवस्थापनसँग सम्बन्ध बिग्रिएपछि उनी सन् २०२२ मा साउदी प्रो–लिगमा आबद्ध भएका थिए । 

युरोपियन क्लब हाबी
गत वर्षको फुटबल सिजनमा साउदी प्रो–लिग, फ्रेन्च वान, बुन्डेस लिगा तथा इंग्लिस प्रिमियर लिगमा आबद्ध खेलाडी नै हाबी भए । समग्रमा गत वर्षको फुटबल सिजनमा युरोपबाट प्रतिस्पर्धा गरेका खेलाडीको दबदबा देखियो । दोस्रो स्थानमा रहेका केनले समग्रमा ५२ गोल गरेका थिए । उनी गत सिजनमा मात्र टोटनह्यामबाट बार्यन म्युनिखमा आबद्ध भएका थिए । उनले टोटनह्यामबाट १८ र बार्यनबाट २५ गोल गरे । यसैगरी, इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट नौ अन्तर्राष्ट्रिय गोल गर्न सफल भए । 

तेस्रो स्थानमा रहेका फ्रान्सका युवा स्ट्राइकर एम्बाप्पेले ५२ गोल गरे । उनले पेरिस सेन्ट जर्मेनबाट ४२ र राष्ट्रिय टोलीबाट १० अन्तर्राष्ट्रिय गोल गरेका थिए । नर्वेका स्ट्राइकर हालान्डले गत सिजनमा म्यानचेस्टर सिटीले ट्रेबल उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । उनले सिटीबाट ४४ र राष्ट्रिय टोलीबाट ६ गोल गरेका थिए ।