१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार युवा नेतासँग छलफल गर्दै विमलेन्द्र निधि ।
२o८१ बैशाख २३ आइतबार o६:३४:oo
Read Time : > 5 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निधि रणनीति : संस्थापनबाट बाहिरिने, अरूको समर्थन जुटाउने

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:३४:oo

कांग्रेस महामन्त्री डा.शशांक कोइराला र प्रकाशमान सिंहसँग सोमबार दुई घन्टा भेटवार्ता गरेलगत्तै निधिले गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डे, दीपक गिरी, जीवन परियार र सरिता प्रसाईसँग गरे छलफल

कांग्रेस उपसभापति विमलेन्द्र निधिले आसन्न १४औँ महाधिवेशनबाट पार्टीको सभापतिका लागि सक्रियता बढाएका छन् । महाधिवेशनको मिति टुंगो लागेलगत्तै सभापति शेरबहादुर देउवाले नेताहरूसँग सभापतिमा दोहोरिने इच्छा राखेपछि निधिले पनि सक्रियता बढाएका हुन् । देउवा आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् । तर, निधि भने संस्थापनइतर समूहका नेताहरूसँग छलफलमा जुटेका छन् । 

निधिले सोमबार महाधिवेशनकै सन्दर्भमा महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह र त्यसपछि युवा नेताहरूसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका छन् । आफ्नो वैवाहिक वर्षगाँठको सन्दर्भमा निधिले कोइराला र सिंहलाई बानेश्वरस्थित आफ्नै निवासमा बोलाएर महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् ।  दिउँसो साढे १२ देखि साढे २ बजेसम्म तीनजनाबीच गोप्य छलफल भएको छ । निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार यसअघि दुईदिने केन्द्रीय समितिको बैठकलगत्तै पनि निधि, कोइराला र सिंहबीच आधा घन्टा वार्ता भएको थियो । सोमबारको छलफल पनि त्यसैको निरन्तरता हो । 

सोमबारको भेटमा निधिले १४औँ महाधिवेशनमा आफू सभापतिमा लड्ने भन्दै सहयोगका लागि कोइराला र सिंहसँग प्रस्ताव गरेका थिए । जवाफमा कोइराला र सिंहले पनि सभापतिका लागि सहयोग मागेका थिए । तर, भेटपछि तीनैजना नेताहरू १४औँ महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा भने एकमत भएका छन् । त्यसका लागि आवश्यक सहकार्यका लागि छलफललाई निरन्तर राख्ने सहमतिसमेत गरेका छन् । 

फरक–फरक समूहमा भए पनि कांग्रेसका संस्थापक नेतात्रय बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूको यो भेटवार्तालाई कांग्रेसभित्र महत्वका साथ हेरिएको छ । ‘उहाँहरू तीनैजना पार्टीलाई संवैधानिक संकटबाट बचाउन महाधिवेशन गर्नैपर्ने भन्नेमा एकमत हुनुभयो । साथै, मुलुकमा कम्युनिस्ट शक्तिको दबदबा अन्त्य गर्न आगामी निर्वाचनमा कांग्रेसको बहुमत पुर्‍याउने गरी महाधिवेशनले नीति, कार्यक्रम र नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा उहाँहरूको सहमति बनेको छ,’ निधिनिकट स्रोतले भन्यो ।  एकपटक पार्टीको नेतृत्वमा प्रतिस्पर्धा गरिसकेको व्यक्तिलाई स–सम्मान बिदाइ गर्नुपर्ने र नयाँ नेतृत्व आउनुपर्छ भन्नेमा नेताहरूबीच सहमति बनेको छ ।

भेटमा समसामयिक राजनीतिक विषयहरूमाथि छलफलपछि उपसभापति निधि, महामन्त्री कोइराला र नेता सिंहले विपक्षी गबठन्धनका तर्फबाट सभापति देउवालाई प्रधानमन्त्री बनाउन सकेसम्म पहल गर्ने सहमति गरेका छन् । ‘प्रतिनिधिसभाको पुनस्र्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हामीले अदालतमा रिट हालेका छौँ । त्यसलाई गठबन्धनको पक्षमा नतिजा ल्याउन पहल गरौँ भन्ने सहमति भयो,’ स्रोतले भन्यो । 

उपसभापति निधिले सोमबारै युवा नेताहरूसँग पनि सभापतिका लागि आफ्नो दाबी रहेको भन्दै छलफल गरेका छन् । निधिले युवा नेताहरूसँग पुरानो बानेश्वरस्थित अनुपम फुडल्यान्डमा छलफल गरेका हुन् । भेटमा नेताहरू दिपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डे, जीवन परियार र सरिता प्रसाई सहभागी थिए । ‘म सभापति पदमा लड्दै छु, तपाईंहरूको कुरा के छ, तयारी के छ ? मैले सभापतिजीसँग पनि प्रस्ताव गरिसकेँ, अरू नेताहरूसँग पनि छलफल गरिरहेको छु । मैले सबैलाई आफ्नो कुरा राखिरहेको छु । मलाई सहयोग गर्नुपर्‍यो,’ निधिले भनेका थिए । 

उनले पुरानो नेतृत्व र एजेन्डाबाट अब कांग्रेस अघि बढ्न नसक्ने भन्दै नयाँ पुस्ता र युवाले नेतृत्व सम्हाल्ने वेला आएको बताएका छन् । निधिले सभापति देउवालाई आफूले पटक–पटक सघाएकाले अझै पनि सहयोगको अपेक्षा रहेको बताए । ‘म यसपटक पछि हट्ने मनस्थितिमा छैन, म अघि बढिसकेँ । फेरि यो अहिलेको तयारी होइन, अघिल्लो महाधिवेशनदेखिकै तयारी हो,’ निधिले भनेको उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘११औँ महाधिवेशनदेखि नै मैले सभापतिजीलाई सहयोग गर्दै आएको हुँ । १३औँ अधिवेशनमा आएर उहाँले मलाई १४औँ महाधिवेशनमा तपाईं सभापतिको उम्मेदवार हो भन्नुभएकै हो । त्यहीअनुसार मैले उहाँलाई प्रस्तावक भएर मलाई सभापति बनाउन आग्रह गरेको छु । तपाईंहरूले पनि सहयोग गर्नुपर्‍यो ।’ 

निधिले अब पार्टीको नेतृत्वमा परीक्षण भइसकेका देउवा, पौडेल र सिटौलालाई स–सम्मान बिदाइ गर्नुपर्ने र नयाँ पुस्ताले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । ‘उहाँ पहिले यसरी प्रस्तुत हुनुभएको पाएको थिइनँ । निकै कन्फिडेन्स देखिनुभयो । उहाँको दाबी र कुराहरू सुन्दा उहाँले पनि छाड्ने अवस्था देखिएन,’ एक केन्द्रीय सदस्यले भने, ‘उहाँको पनि उम्मेदवारी भयो भने यसपालि उम्मेदवारको संख्या धेरै हुन सक्ने सम्भावना बढेको छ ।’ निधिले क्रमशः अरू नेताहरूसँग पनि छलफल गरेर अघि बढ्ने बताएका छन् । 

निधिको दाबीलार्ई युवा नेताहरूले भने स्वागत गरेका छन् । बैठकमा सहभागी सबैजसो युवा नेताहरूले पुस्तान्तरण चाहेको अवस्थामा निधिको चाहनालाई स्वागत गरेको युवा नेता प्रदीप पौडेलले जानकारी दिए । ‘हामीले पुस्तान्तरणको कुरा उठाउँदै आएकै हौँ । तपाईहरू पहिले तयार नभएको जस्तो लाग्थ्यो । अहिले तपाईहरू तयार हुनु हाम्रो लागि स्वाभाविक खुसीको विषय हो,’ नेता पौडेलले आफूले दिएको सुझाब सुनाउँदै भने, ‘तपाईं मधेसको प्रतिनिधि हो । तर, तपाई राष्ट्रकै नेता हो । तपाईं सभापति हुने कुराले पार्टी र सिंगो देशमा एउटा सन्देश पनि जान्छ ।’

केन्द्रीय सदस्य सरिता प्रसाईले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर अघि बढ्न सुझाब दिएको बताइन् । ‘पुरानो सोच र नीति बोकेको नेतृत्वबाट अब कांग्रेस चल्दैन, नयाँ ऊर्जा र नेतृत्व भए महाधिवेशनलगत्तै हुने चुनावमा जान पनि सजिलो हुन्छ,’ उनले भनिन्, ‘त्यसैले साझा उम्मेदवारका रूपमा अघि बढेर महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा बदलौँ, तपाई भूमिका खेल्नुस् ।’ 

उपसभापति निधिले गत वर्ष पहिलोपटक १४औँ महाधिवेशनका मिति तोकिएपछि सभापतिका लागि संस्थापनइतर समूहका नेताहरूसँगको भेट बढाएका थिए भने गत २९ साउनमै देउवालाई भेटेर आफूलाई पार्टीको सभापति बनाउन आग्रह गरेका थिए । तर, महाधिवेशन नहुने अवस्थामा पुनः उनी देउवासँगै चुपचाप बसेका थिए । 

गत शनिबार सभापति देउवाले बोलाएर आफूले पुनः सभापति बन्नुपर्ने अवस्था आएको बताएपछि निधिले पनि आफ्नो दाबी अघि सारेका हुन् । भेटमा निधिले १४औँ महाधिवेशनमा आफूलाई सभापति बनाउन आग्रह गरेका थिए । जवाफमा देउवाले पनि यसपटक आफ्नो अन्तिमपटक भन्दै आफूलाई सघाउन आग्रह गरे । ‘मैले तपाईंलाई सहयोग गर्दै आएको हुँ । अब मेरो पनि उमेर भयो । भोलि १५औँ महाधिवेशनमा अरू साथी पनि आउँछन् । त्यो वेला अर्कोे परिस्थिति बनिसक्छ । त्यसैले अब मलाई मौका दिनुहोस् । म तपाईंको सहयोगमा सभापति बन्न चाहन्छु,’ निधिले भनेका थिए । 

संस्थापनमा तरंग, पौडेल समूह मौन

महाधिवेशनको मिति टुंगो लागेलगत्तै संस्थापन समूहमा नेतृत्वका विषयलाई लिएर हल्लाखल्ला चलेको छ । तर, सभापति देउवाले महाधिवेशन गर्न चासो नदेखाएको आरोप लगाउने संस्थापनइतर समूह महाधिवेशनको मिति तोकेपछि भने मौन बसेको छ । आइतबार गृहजिल्ला तनहुँबाट फर्किएका वरिष्ठ नेता रामचन्द्र पौडेल अझै आन्तरिक रणनीति बनाउनमै व्यस्त छन् । महाधिवेशनकै सन्दर्भमा सोमबार पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार यही साता मात्रै कोइराला र सिंहबीच यो तेस्रो भेट हो । पौडेल समूहबाट पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा.शेखर कोइराला सभापतिमा दाबी गर्दै आएका छन् । एक नेताका अनुसार संस्थापनबाट देउवा र निधि दुवैजनाले उम्मेदवारी दिने र नदिने अवस्थामा इतर पक्षका नेताहरूको पनि छुट्टा–छुट्टै रणनीति छ ।

निधिको उम्मेदवारीले असर नगर्ने देउवाको निष्कर्ष

सभापतिमा देउवा आफैँ अघि सरेको अवस्थामा निधि सभापतिको उम्मेदवारमा टिकिरहन्छन् या छोड्छन् ? अहिले सबैको चासोको विषय बनेको छ । तर, निधिले पनि आफूले सभापतिको दाबी नछाड्ने बताएका छन् । निधि देउवाले नसघाएको अवस्थामा संस्थापनबाट आफूनिकटलाई लिने र संस्थापनइतर समूहको समर्थन बटुलेर अघि बढ्नेमा देखिएका छन् । 

शनिबार देउवासमक्ष निधिले आफूले कसैलाई पनि नछाड्ने भनेपछि देउवानिवासमा सोमबारसम्म त्यही विषय चर्चाको विषय बन्यो । अधिकांश केन्द्रीय सदस्यहरूले देउवासँगको छलफलमा उपसभापति निधिलाई मिलाएर संस्थापनतर्फबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार बन्न सुझाब दिएका छन् । विद्यार्थी राजनीतिदेखि पार्टी विभाजन भएर एक्लिएको अवस्थामा समेत आफूसँगै रहेका निधिको चुनौतीले देउवामाथि दबाब परेको छ । 

महेन्द्रनारायण निधिको उत्तराधिकारीका रूपमा मधेसबाट उदाएका निधि संस्थापन समूहमा उपसभापति मात्रै होइनन्, देउवाको समेत उत्तराधिकारी मानिन्छन् । तर, अहिले उनी सभापतिको दाबी गर्दै गर्दा उनको पछि एकजना पनि केन्द्रीय सदस्य उभिएका छैनन् । ‘अहिले कोही खुलेका छैनन्, तल्ला तहको अधिवेशन सकिँदै गर्दा माहोल बन्छ, त्यसपछि खुल्ने रणनीति छ, हामीसँग राम्रै संख्या र समर्थन छ,’ निधिनिकट स्रोतले भन्यो । 

तर, देउवाले भने निधिले साथ छाडे पनि आफूलाई तात्विक फरक नपर्ने निष्कर्ष निकालेका छन् । देउवाले शनिबार प्रदेश १ र २, आइतबार बाग्मती र गण्डकी तथा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेताहरूसँग आफ्नो उम्मेदवारी र टिमको अवस्थाबारे छलफल गरेका थिए । सो क्रममा केन्द्रीय सदस्यहरूले भने निधिलाई मनाएर नै अघि बढ्न सुझाब दिए । ‘विमल दाइले पनि दाबी गर्नुभएको छ, उहाँको समेत समर्थन लिएर टिमबाट सर्वसम्मत उम्मेदवार बनेको अवस्थामा उहाँलाई सभापति बन्न कुनै अवरोध रहँदैन,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने । 

केन्द्रीय सदस्य सीता गुरुङले सबैजसो केन्द्रीय सदस्यहरूले सभापति देउवालाई टिमबाट सहमति जुटाएर अघि बढ्न सुझाब दिएको बताइन् । ‘विमल दाइले पनि दाबी गर्नुभएको छ । उहाँको असन्तुष्टि के हो ? उहाँसँग पनि छलफल गर्नुस् र टिम मिलाएर अघि बढ्नुस् भनेका छौँ,’ उनले नयाँ पत्रिकासँग भनिन् । अधिकांश केन्द्रीय सदस्यले निधिले दुःखका वेला साथ दिएकाले उनलाई त्यसै छाडेर अघि बढ्न ठीक नहुने भन्दै मिलाएर अघि बढ्न सुझाब दिएका छन् । 

देउवापछि ०३६ सालमा नेविसंघको सभापति बनेका निधि नेता कृष्णप्रसाद भट्टराईनिकट मानिन्थे । तर, भट्टराईकै लिगेसीमा देउवाले गुट तयार गरेपछि निधि उनीसँगै रहे । पार्टी फुटाएर कोइरालाहरूसँग छुटिएपछि देउवालाई निरन्तर बलियो साथ दिनेमध्ये निधि एक थिए । देउवाले विभाजनकै वेला निधिलाई महामन्त्री पनि बनाए । तर, एकतापछि १२औँ महाधिवेशनमा महामन्त्री उठेका निधि प्रकाशमान सिंहसँग पराजित भए । निधिप्रति त्यहीकारण अधिकांश केन्द्रीय सदस्यहरूले उदारभाव र सद्भाव प्रस्तुत गरेका छन् । 

तर, देउवाले भने देशैभरिको अवस्था हेर्दा निधिको उम्मेदवारीले आफूलाई ठूलो असर नगर्ने निष्कर्ष निकालेको उनीनिकट स्रोतको दाबी छ । ‘उहाँसग एउटा केन्द्रीय सदस्यसमेत छैन । सभापतिज्यूले सबै प्रदेशका नेतासँग छलफल गर्नुभयो । अब जिल्ला सभापतिहरूसँग छलफल गर्ने कार्यक्रम छ । सातै प्रदेशस्तरमा छलफल गर्ने तयारी छ,’ ती नेताले भने, ‘विमल दाइको विद्रोहले ठूलो फरक नपर्ने विश्लेषण उहाँको छ ।’ 

कतिपय नेताहरूले भने कोरोना र वर्षाका बीच महाधिवेशन गर्न सम्भव नहुने आग्रह गरेका थिए । पहाडी जिल्लाका केन्द्रीय सदस्यहरूले सकेसम्म महाधिवेशन सार्नुपर्नेसमेत माग गरेका थिए । ‘एकातिर असार साउनको महिना छ, बाढीपहिरोको जोखिम छ । अर्काेतिर कोरोनाको महामारी कम भएको छैन,’ बैठकमा सहभागी एक नेताले पहाडी क्षेत्रका नेताहरूले भनेको सुनाउँदै भने, ‘त्यसैले मिलेसम्म महाधिवेशन स्थगित गरौँ ।’ संस्थापन समूहबाटै पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गर्दै आइरहेका छन् । १३औँ महाधिवेशनमा देउवालाई सघाएका श्रेष्ठ हाल संगठन विभागको प्रमुख छन् । 

ad
ad