१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ५ शनिबार
  • Saturday, 10 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७८ असार ५ शनिबार o४:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीमा फेरि विनाशकारी बाढी

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७८ असार ५ शनिबार o४:५२:oo

शुक्रबार बेलुकी ९ देखि साढे ९ बजेसम्म ठूला ढुंगा, काठ र लेदोसहित बाढी फेरि बस्ती पस्यो

विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो । 

मंगलबार क्षति पुर्‍याएका सबै स्थानमा शुक्रबारको बाढीले थप क्षति पुर्‍याएको छ । बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्कलगायत क्षेत्रमा पसेको छ । ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन् । 

शुक्रबारको बाढीले मानवीय क्षति भने पुर्‍याएको छैन । हेलम्बु गाउँपालिका– १ का अध्यक्ष मिङमार लामाले बेलुकी ८ बजेतिर टेलिफोन गरी मंगलबार पहिरो गएको स्थानमा पुनः ठूलो पानी परेको तथा काठ, ढुंगा र लेदोसहितको बाढी आउन थालेको खबर गरेका थिए । ‘ठूलो–ठूलो आवाज गरेर गडगडाएर बाढी आएपछि मैले तलतलका क्षेत्रमा खबर गरेको थिएँ,’ वडाध्यक्ष लामाले नयाँ पत्रिकासँग भने, ‘बाढी किन आयो भन्नेबारे भने अझै यकिन हुन सकिएको छैन ।’

उनले खबर गरेको करिब एक घन्टापछि करिब ९ बजेतिर बाढी मेलम्ची बजार क्षेत्रमा आइपुगेको थियो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले करिब साढे ९ बजेबाट बाढी कम भएको जानकारी दिए । ‘रातिको करिब ९ बजेदेखि साढे ९ बजेसम्म ठूलो बाढी आयो, त्यसपछि घटेर अहिले त्यसअघिको अवस्थामा आएको छ,’ प्रजिअ पोखरेलले भने, ‘हेलम्बुको टिम्बु क्षेत्रदेखि मेलम्चीसम्म नै सुरक्षाकर्मी उद्धारका लागि तैनाथ अवस्थामा छन् । अहिलेसम्म थप क्षतिको विवरण आएको छैन ।’

मंगलबारको विनाशकारी बाढीपछि त्यस क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी तीन सय ५० सुरक्षाकर्मी परिचालित छन् । उनीहरू उद्धार तथा राहतको कार्यमा खटिएका छन् । मंगलबारयता नै बाढीग्रस्त क्षेत्रका बासिन्दा खोला किनार छाडेर अग्लो स्थानमा बसिरहेकाले सुरक्षित छन् । 

मंगलबार र शुक्रबारका दुवै बाढी किन आयो भन्ने खुल्न सकेको छैन । हेलम्बुको नाकोचेभन्दा माथि मानवबस्ती नभएकाले त्यस क्षेत्रमा अहिलेसम्म कोही पुग्न सकेका छैनन् । मंगलबारको बाढीपछि जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखले हेलिकोप्टरबाट त्यस क्षेत्रको अवलोकन गरे पनि बाढी आउनुको खास कारण खुल्न सकेको छैन । नाकोचेभन्दा तल किउल क्षेत्रका स्थानीयले भने माथिल्लो क्षेत्रमा ठूलो पानी परेकाले पहिरो गई खोला थुनिँदा बाढी आएको हुन सक्ने बताउने गरेका छन् ।