
कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले भूउपयोग नीतिलाई कडाइका साथ लागू गरेर खेतीयोग्य जमिन सहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छिन् ।
शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रूपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तर्क्रियामा बोल्दै कृषिमन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भूउपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताएकी हुन् ।
उनले कृषिको सबैथोकमा छिट्टै आत्मनिर्भर हुनुपर्ने पनि बताइन् । भूउपयोग नीति लागू गर्दा खेतीयोग्य भूमि सहरीकरण हुन रोकिने बताइन् । मन्त्री साहले किसानलाई सूचीकृत गरी राज्यको तर्फबाट दिइनुपर्ने सेवा सुविधा दिन मन्त्रालय चिन्तित रहेको पनि बताइन् ।
उनले भनिन्, ‘हाम्रो किसानहरुको सूचीकृत कहिलेसम्म गर्ने र कहिलेसम्म व्यवहारतः राज्यको तर्फबाट सुविधा पाउनुपर्ने । त्यो कहिलेसम्म मिलाउन सकिने हो । हामी सबै चिन्तित छौँ र मिहिनेतको साथअघि बढिरहेको अवस्था छ । चुनौती पनि उत्तिकै छ । भूउपयोगको नीति नीतिगत रूपमा लागू भएको छ । भूउपयोग नीति सायद कृषिकै हितमा पनि हुनेछ । आमकिसानकै हितमा हुनेछ भन्ने मलाई विश्वास छ । भूउपयोग नीतिलाई कडाइका साथ लागू गरेर जाने हो भने सायद जग्गाहरू खण्डीकरण गरेर सहरीकरण गर्ने काम भइरहेको छ यसलाई रोक्नुपर्छ । यसलाई व्यवहारतः कडाइका साथ भूउपयोग नीति सँगसँगै कृषिमा जोड दिन अगाडि बढ्नु जरुरी छ ।’