मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार २ बुधबार २०:२०:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीको मिलेमतोमा सीमा नदीको दोहन !, वडाध्यक्ष भन्छन्– सीमा नदी दोहन गर्न सहयोग गर्ने बिओपी चाहिँदैन

Read Time : > 2 मिनेट
२०७८ असार २ बुधबार २०:२०:००

नेपाल–भारत सीमा छुट्याउने मेची नदी सशस्त्र प्रहरीकै मिलेमतोमा दोहन भइरहेको आरोप लागेको छ । इलाम रोङ गाउँपालिका–६ मा पर्ने मेची नदी सीमा नदी र चुरेक्षेत्र भएका कारण रोङ गाउँपालिकाले ठेक्का लगाएको छैन । नदीछेउमै लाङ्केपमा सशस्त्र प्रहरीको बिओपी छ । जसको नेतृत्व सशस्त्र प्रहरीका सइ कुलबहादुर खड्काले गरेका छन् । 

तर, सीमा नदी दोहन नियन्त्रणमा बिओपीले केही काम नगरेको स्थानीय बताउँछन् । बरु उल्टै दोहन गर्न आएकालाई भगाउने गरेको उनीहरूको आरोप छ । रोङ–६ मेची नदी दोहनका लागि झापाको मेचीनगर नगरपालिका–१ का ढुंगा व्यवसायी त्यहाँ पुग्छन् । गत साल बिओपी स्थापना नहुँदा स्थानीय दैनिकजसो खोलामा गएर नदी दोहन गर्न बस्दै आएका थिए । ‘झापाकाले प्रत्येक वर्ष नदी दोहन गर्छन् । यसले चुरे सखाप पार्छ । चुरे दोहनले प्रत्यक्ष असर झापामै पर्छ,’ स्थानीय देवेन्द्र खड्का भन्छन्, ‘तर, दोहन हामीले रोकिरहेका छौँ । गत साल त हामी युवाहरू नै खोलामा ड्युटी गर्न गएर ढुंगा उठाउन आएका ट्र्याक्टर पक्रिएर प्रहरीलाई बुझाउँदै आएका थियौँ ।’ 

गत साल मेची नदी दोहन रोक्न रोङ–६ स्थित सिद्धि खोलाबाट बग्न सिद्धि नहर स्थानीयले एक सातासम्म बन्द गराएका थिए । रोङ र मेचीनगरका जनप्रतिनिधिबीच छलफलपछि चुरे दोहन रोक्ने सहमतिपछि नहर खुलेको थियो । तर, यसपटक पनि सीमा नदीमा पर्ने चुरे दोहन नरोकिएको स्थानीय युवा निर्मल तामाङ बताउँछन् । रोङ–६ स्थित सीमा नदी मेची नदीछेउमै गत वर्ष हिउँदमा बिओपी स्थापना भएपछि सशस्त्र प्रहरी बस्दै अएको छ । 

सशस्त्र प्रहरी आएपछि सीमा सुरक्षासँगै नदी दोहन नियन्त्रण हुने आसले स्थानीय नदीमा ड्युटी जान छाडेको उनी बताउँछन् । तर, जेसिबी नै ल्याएर नदी दोहन हुन थालेको उनी बताउँछन् । ‘यसपटक सशस्त्र छ भनेर हामी ढुक्क भयौँ । तर, सशस्त्रकै सेटिङमा नदी दोहन भइरहेको रहेछ । थाहा पाएर स्थानीयले जनप्रतिनिधिलाई खबर गरे । जनप्रतिनिधिले सशस्त्रलाई भन्दा उल्टै ट्र्याक्टर र जेसिबी भगाउन सशस्त्रले सहयोग ग¥यो,’ तामाङ भन्छन्, ‘हामी सशस्त्रकहाँ गएर किन छाडेको भनेर प्रश्न गर्दा बिओपी प्रमुख सइ साबले एसपी साबको आदेश भन्नुहुन्छ । तर, हामीले बुझ्दै जाँदा एसपी साबको होइन, तस्करको आदेशमा उहाँले छाड्नुभएको रहेछ ।’ स्थानीयले नदी दोहनको बारेमा थाहा पाएर पुग्दा पटक–पटक ट्र्याक्टर भगाएको तामाङको आरोप छ । आइतबार नदी दोहन गर्न आएका तीनवटा ट्र्याक्टरलाई स्थानीयले थाहा पाएपछि सशस्त्रले भगाएको उनले आरोप लगाए ।

नदी दोहन गर्न आएको ट्र्याक्टर नियन्त्रणमा लिएको जानकारी आएपछि बिओपीसम्म ल्याउनका लागि ड्राइभर पठाउँदा सशस्त्रले ट्र्याक्टर नै भगाएको रोङ– ६ का वडाध्यक्ष मणिकुमार स्याङ्बोले आरोप लगाए । पटक–पटक यसरी ट्र्याक्टर भगाएर सशस्त्रले मिलोमतो पुष्टि गरिदिएको उनको आरोप छ । ‘सीमा नदीको उत्खननलाई वातावरणीय दृष्टिकोणबाट मात्र हेरेर उत्खनन गर्न दिनु राष्ट्रघात हो । यसलाई राष्ट्रिय सीमा सुरक्षा नीतिबाट हेरिनु जरुरी छ । तर, छेउमै रहेको सशस्त्र मूकदर्शक बनेर किन बस्यो ?,’ उनले भने, ‘स्थानीयले नियन्त्रणमा लिएको गाडी सम्बन्धित निकायमा ल्याउन ड्राइभर पठाउँदै गर्दा किन सशस्त्रले छाडिदियो ?’

वर्षौँदेखि नागरिकले सीमाको सुरक्षा र नदी दोहन रोक्दै आएको, तर गत वर्ष सशस्त्रको बिओपी स्थापना भएपछि नागरिक ढुक्कले बसेको मौकामा मेची नदीको तीव्र दोहन भएको वडाध्यक्ष स्याङ्बो बताउँछन् । ‘बिओपी स्थापनाले वर्षौँदेखि लड्दै आएका नागरिकले अभिभावक पाएको महसुस गरेका थिए । तर, यो सारा भ्रम रहेछ । गरिब किसान लाखमान तामाङले आफ्नो छाक काटेर जग्गा र हाल बसेको अस्थायी घर उपलब्ध गराएका थिए । लाखमानसँगै सारा रोङ–६ वासी निराश भएका छन्,’ उनी भन्छन्, ‘सीमा सुरक्षा पाएको निकाय जिम्मेवार हुनुपर्छ । यदि जिम्मेवार नहुने हो भने स्थानीयले वर्षौँदेखि सीमाको रक्षा र नदी दोहन रोक्दै आएका छौँ । अब पनि रोक्छौँ । सीमा नदी दोहन गर्न सहयोग गर्ने बओिपी चाहिँदैन ।’

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ हेटक्वाटर इलामका प्रमुख सुधीरजंग थापाले अब इलामतिरको भागमा ट्र्याक्टर नै छिर्न नदिने गरी रणनीति बनाउने तयारीमा रहेको बताए । उनले समन्वयको अभाव र भौगोलिक विकटताले नदीमा ट्र्याक्टर पसेको बताए । ‘त्यहाँको नदी दोहनका विषयमा गुनासो आएको छ । बिओपीलाई पनि कडा रूपमा लाग्न भनेका छौँ । म आफैँ पनि त्यहाँ जाने तयारीमा छु,’ उनले भने, ‘सशस्त्र देखेपछि चाबी लिएर ट्र्याक्टर छाडेर भाग्छन् । रातभर ट्र्याक्टर रुँगेर बस्न सकिँदैन । कुदाउने जनशक्ति पनि छैन । पछिल्लोपटकचाहिँ वडाध्यक्षज्यूले पठाएका ड्राइभर पुग्न ढिला भएछ । भिडभाड भएर झन् समस्या आउने भएपछि ढुंगा खन्याउन लगाएर ट्र्याक्टर पठाएका रहेछन् ।’