
मेलम्ची खोलाको बाढीले बगाएका दुई स्थानीयको शव फेला परेको छ । मेलम्चीनजिकै इन्द्रावती नदीको किनारमा दुई पुरुषको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी साधुराम खनालले जानकारी दिए । तर, सनाखत भने भएको छैन ।
बाढीपछि भागदौडका क्रममा हराइरहेका पाँचको अवस्था अझै पत्ता लागेको छैन । हेलम्बु गाउँपालिका वडा नं. १ का वडाध्यक्ष मिङमार लामाले हेलम्बु वडा नं. १ मा चार र २ नं. मा पाँच मानिस हराएको बताए । उनीहरू भागेर किनारपारि गएकाले सम्पर्कमा नआएको बताए । विद्युत अवरुद्ध भएकाले मोबाइल फोन पनि बन्द छन् । ‘मोबाइल कसैको लाग्दैन । भागेकाहरू सबै सम्पर्कमा नआएसम्म कति मानिस बेपत्ता भए भन्ने किन हुन सक्दैन,’ उनले भने ।
मेलम्ची खानेपानीको मुहान क्षेत्रमा काम गर्ने आयोजनासंबद्ध कर्मचारी र मजदुरको अवस्था बुझ्न लेकाली बाटो भएर वडाध्यक्ष लामा त्यसतर्फ प्रस्थान गरेका छन् । मुहानसम्म पुग्ने सडक बाढीले बगाएकाले तिम्बुभन्दा माथि अम्बाथाङसम्मको अवस्थाबारे अझै थाहा नभएको लामाले बताए ।
बाढीले मेलम्ची घ्याङमुनि नाकोतेबाट पुलसमेत सोहोरेर ल्याएकाले अम्बाथाङदेखि मेलम्ची नगरको बाहुनेपाटीसम्म ठूलो भौतिक क्षति गरेको छ । मेलम्चीनिवासी सिपी दुलालका अनुसार मानवीय क्षति यकिन भइनसकेको बताए । हेलम्बुमा तीन र मेलम्चीमा एक पक्की पुल बगाएको उनले बताए ।
मेलम्चीदेखि हेलम्बुसम्म नेपाली सेनासहित सुरक्षाकर्मी, राजनीतिक नेताकार्यकर्ता र स्थानीय उद्धारमा खटिएका छन् । ठाउँठाउँमा पुल बगाएकाले मेलम्ची, हेलम्बु, शिखरपुर, ज्यामिरे र आसपासको सम्पर्क विच्छेद भएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले हेलिकोप्टारबाट घाइतेको उद्धार गरेको राजधानी पुर्याएका छन् । बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल मेलम्ची पुगेर घाइतेको उद्धारमा सक्रिय भएका छन् ।