मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३१ सोमबार १८:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको आरोप– सरकारको दबाब र राजनीतिक प्रतिशोध राखेर प्रदेश सांसद वैद्यविरुद्ध जाहेरी दर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३१ सोमबार १८:०५:००

कांग्रेसले बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा उजुरी गरिएको भन्दै आपत्ति जनाएको छ । सांसद वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएर प्रदेश सभाको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा उनीविरुद्ध हत्या दुरुत्साहनको जाहेरी दर्ता हुनु सरकारको दबाब, प्रभाव र राजनीतिक प्रतिशोधपूर्ण रहेको कांग्रेसको ठहर छ ।

बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सोमबार विज्ञप्तिमार्फत प्रदेश सभाको मानहानि गर्ने गरी भएको सो कार्य नेपालको संविधानको बर्खिलापमा रहेको भन्दै भत्र्सना गरेका छन् । उनले आवश्यक परेमा त्यस्तो गैरसंवैधानिक कार्यको संसदीय दलले प्रदेश सभामा सशक्त प्रतिवाद गर्नेसमेत बताएका छन् । 

‘प्रदेश सभाको विशेषाधिकारको हनन गर्दै प्रदेश सभाको मानहानि गर्ने कार्य नेपालको संविधानको बर्खिलापमा छ । प्रहरी अनुसन्धान अधिकारीलगायत सरकारका कुनै पनि निकायलाई यसो गर्ने कानुनी अधिकार छैन,’ बानियाँले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसले संवैधानिक मूल्य–मान्यता र संसदीय अभ्यासमाथि गम्भीर आघात पु¥याएको यस दलको ठहर छ ।’ 

नेता बानियाँले संविधानमै प्रदेश सभाको विशेषाधिकारमा यसबारे प्रस्ट व्यवस्था गरिएको दाबी गरेका छन् । ‘नेपालको संविधानको धारा १८७ मा प्रदेश सभाको विशेष अधिकारको उपधारा १ मा यस संविधानको अधीनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रता हुनेछ । प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर प्रदेश सभाको सदस्यलाई पक्राउ गर्ने थुनामा राख्ने वा निजउपर कुनै अदालतमा कारबाही चलाइने छैन भन्ने व्यवस्था छ,’ उनले भनेका छन्, ‘संवैधानिक व्यवस्थाको पूर्ण रूपमा बर्खिलाप गर्दै बदनियतपूर्ण तवरबाट जाहेरी दर्ता भएकोमा कांग्रेस बागमती प्रदेश संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ ।’

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा गत शुक्रबार प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार बचाउनका लागि जे कुरामा पनि सम्झौता गरिरहेको, यसरी नै छाडिदियो भने देश खाइदिने भन्दै देशलाई ओलीबाट बचाउनका लागि कोही नाथुराम गोड्सेको आवश्यकता परेको र कोही पनि नाथुराम गोड्से बन्न तयार नभए म बन्ने कि ? भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो । त्यसपछि उनको अभिव्यक्ति गलत भन्दै कांग्रेसले आत्मालोचना गर्न निर्देशन दिएको थियो । सांसद वैद्यले शनिबारको बैठकमा बोल्दै प्रधानमन्त्रीप्रति आफूबाट प्रयोग भएका शब्दहरू कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गरेको र पार्टीको संसदीय दलले पनि फिर्ता लिन निर्देशन गरेको भन्दै आफुले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिने बताएका थिए । उनको लिखित आग्रहपछि सो अभिव्यक्तिको प्रदेशसभाको रेकर्डबाट समेत सोही दिन हटाइएको थियो । 

बानियाँले सांसद वैद्यको अभिव्यक्ति देशमा व्याप्त चरम निराशा र यसबाट उत्पन्न राजनीतिक परिस्थितिको प्रतिफल भएको बताएका छन् । ‘भावावेशमा आएर प्रधानमन्त्रीप्रति लक्षित वैद्यले दिनुभएको अभिव्यक्ति कांग्रेको आदर्श, नीति र संसदीय अभ्यास र गरिमा विपरीत छ,’ उनले भनेका छन् ।

सांसद वैद्यविरुद्ध प्रधानमन्त्री केपी ओलीनिकट एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आइतबार जाहेरी दर्ता गराएका थिए । एमालेका भ्रातृ संगठनहरूले सांसद वैद्यलाई गिरफ्तार गरी कारबाहीको प्रक्रिया अघि बढाउन र पदबाट हटाउन गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षणसमेत गराएका छन् ।