१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
डा. चन्द्र भण्डारी
Invalid date format ११:५९:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोरोना : विश्वव्यापी गुरु 

Read Time : > 5 मिनेट
डा. चन्द्र भण्डारी
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

‘हामी’बाट ‘म र ‘मेरो’मा फेरिँदै गएको विश्वलाई कोरोनाले ‘हामी’ बनेर मात्र बाँच्न सकिने सन्देश दिएको छ

विकासका क्रममा मानिसबाट समुदाय, समाज, संस्कृति र राष्ट्रको विकास निर्माणमा कमी–कमजोरी हुन्छन् नै । तर, मानिसले त्यसका कमी–कमजोरी हटाउँदै राम्रा र सबल पक्षबाट समयअनुकूल फाइदा लिँदै र उपयोग गर्दै अघि बढ्न सक्नुपर्छ । यसरी नै विश्व ब्रह्माण्ड चलिरहेको हुन्छ । रोग जन्मेपछि एन्टिबायोटिक पनि बनिरहेको हुन्छ अनि साइडइफेक्ट पनि । प्रविधिको विकासका क्रममा भाइरस र एन्टिभाइरस दुवैको साथसाथै विकास भइरहेको हुन्छ । यसरी नै ब्रह्माण्डको गति चलिरहेको छ । मानवीय जीवनपद्धति पनि यसरी नै अघि बढिरहेको छ । हामीले समयको पदचापलाई बुझेर पछ्याउन सकेनौँ भने दुई घनिष्ट मित्रबीच पनि दुर्घटना हुन सक्छ । अत्यन्त ठूलो विश्वास गरेको मान्छेबाट पनि घात हुन सक्छ । र, कहिल्यै विश्वासै नगरेको मान्छेबाट पनि अमूल्य सहयोग प्राप्त भइरहेको हुन्छ । यही नियम सबैमा लागू हुन्छ । जटिल, कठिन र अनुमानभन्दा बाहिर निस्किँदै गरेको प्राकृतिक संकटले मानवजीवनलाई ठुलो संकटमा पार्न पनि सक्छ । त्यसैलाई पूर्वीय दर्शनमा प्रलय भनिन्छ ।

अहिलेको पेन्डामिकभन्दा अगाडि पनि विश्व बौद्धिक आतंक र गलत सूचना तथा सञ्चारको आतंक (इन्फोडेमिक) को चपेटामा फसेकै थियो । विभिन्न सम्प्रदायले सिर्जना गरेको आतंक र त्यसलाई नियन्त्रण गर्ने नाममा निर्मित आणविक हतियार सबै मानव विनाशमा प्रयोग भए । त्यसरी नै पर्यावरणीय आतंकदेखि प्रकृति विनाशको आतंकसम्म पनि मानव समुदायले झेल्दै आएको छ ।

आज विश्वभर कोभिड–१९ नाममा नयाँ पेन्डामिक फैलिएको छ, जसका कारण विश्व  तहसनहस भइरहेको छ । यसले एकातिर मानिसलाई आलसतालस पारिरहेको छ भने अर्कातिर यसले मानिसका चौतर्फी चेतनाको द्वार पनि खोलिरहेको छ । वैज्ञानिकहरूले विगतका आविष्कारमा भएका कमी–कमजोरीलाई पूर्णता दिने अवसर पाएका छन् भने नयाँ–नयाँ प्रविधिको विकास तथा सोचहरू लिएर अघि बढ्नुपर्ने अवस्थासमेत सिर्जिएको छ । आज विश्वमा प्रविधिको चरम विकासले विश्वलाई एउटा ग्लोबल भिलेजमा रूपान्तरित गरिदिएको छ । पासपोर्ट साथमा लिएर र यातायातका साधनमार्फत गरिने विश्व भ्रमण गर्न मात्र होइन, घरमै बसेर हातको एउटा सानो स्मार्ट फोनमार्फत विश्व हेर्न, बुझ्न र अनुभूत गर्न सकिने भएको छ । अर्कातिर विश्व मानव समुदाय नै हामीबाट ठुल्ठूला संयुक्त परिवार हुँदै साना–साना एकल परिवारमा रूपान्तरित हुँदै ‘म’मा सीमित हुँदै गइरहेको छ । यसरी नै सत्ता पनि हामी पार्टी हुँदै ‘म’मा पुगेको छ । यसरी मानिसले जुनसुकै क्षेत्र वा पक्षमा विकास, सत्तादेखि परिवारसम्म एक्लो रूपमा अगाडि बढिरहेको छ ।

कोरोनाले सम्पन्न र शक्तिशाली विश्वलाई आफू बाँच्नका लागि अरूलाई बचाऊ भन्ने पाठ सिकाएको छ भने नेपालजस्ता भौतिक विकासमा पछि परेका देशलाई तिमीसित सर्वस्व छ, त्यसको सदुपयोग गर भनेर बाटो पनि देखाएको छ

विकासको यही चरणमा धार्मिक, वैचारिक, आर्थिक तथा सामाजिक अतिवादको पनि विकास भयो । त्यसरी नै राजनीति पनि प्रजातान्त्रिक प्रणाली होस् वा एकदलीय प्रणाली, सबैको सोच अन्ततः जनताको नाम लिँदै सानो गुट हुँदै व्यक्तिमा केन्द्रित हुँदै गएको छ । यही अतिवादकै विकासको चरणमा मानिस एक्लै बस्ने, एक्लै खाने, एक्लै अघि बढ्ने, म र मेरो परिवार भन्दै त्यसैमा रमाउने र त्यसबाट बाहिर जान नसक्ने अवस्था सिर्जना भएको छ । मानिस एक्लो सोच, एक्लो विकास, एक्लो राष्ट्र भन्दै आफू सम्पन्न हुने, आफ्नो सम्पन्नताको त्रास फैलाउने, शक्ति प्रदर्शन गर्ने एउटा विकृत अतिवादको होडबाजी विश्वमा चलिरहेको छ । यही अतिवादका क्रममा कोरोना भाइरसको महामारी हामीमाझ आएको छ । यसले अथाह मानवको ज्यान लिएको छ । मानवलाई आर्थिक रूपमा कमजोर बनाएको छ । सिंगो विश्व मानव समुदायलाई नै सन्त्रस्त बनाएको छ । यसले आर्थिक, सामाजिक तथा मानवीय विनाशसँगसँगै विश्वलाई केही गतिला पाठ पनि सिकाएको छ ।

कोरोनाले सिकाएको पहिलो पाठ हो– तिमी आफू बाँच्न चाहन्छौ भने अरूलाई पनि बचाऊ । चाल्स डार्बिनको विकासवादले पनि प्राणी बाँच्नका लागि अधिकतम संघर्ष गर्छ र संघर्षबाट पराजित जीव लोप हुँदै जान्छ भन्ने तथ्य अघि सारेको छ । कोरोनाविरुद्धको हाम्रो लडाइँ पनि यस्तै हो । भौतिकवादले जसरी पनि आफू बाँच भन्छ, अध्यात्मवादले विश्वका सबै प्राणी जगत्को सहअस्तित्व स्विकार्छ । चीन, भारत, अमेरिका, रसियाजस्ता ठूला र शक्तिशाली देशसित साधन, स्रोत र शक्तिको कुनै कमी छैन । उनीहरू भौतिक विकासमा पनि धेरै अघि बढिसकेका छन् । तर, आजको भौतिक विकासमा उनीहरू आफू मात्र अघि बढेर केही हुने रहेनछ । किनकि, नेपाल, भुटान या अफ्रिकनलगायत अन्य ससाना देशमा कोरोना नियन्त्रणमा नआउन्जेल त उनीहरू पनि सुरक्षित नहुने रहेछन् । आखिर अफ्रिकादेखि युरोप या एसियाका कुनै पनि कमजोर, गरिब र अविकसित मुलुकमा मात्र कोरोना फैलियो भने पनि त्यो आजको विश्वमा कुनै पनि विकसित र शक्तिशाली राष्ट्रसम्म पुग्न सक्दो रहेछ । ठूला राष्ट्रका लागि यो चुनौती हो, त्यसैले, कोरोनाले विश्वसामु चिच्याई–चिच्याई भनिरहेको छ– यदि तिमी आफू बाँच्न चाहन्छौ भने अरूलाई पनि बचाऊ । यदि तिमी आफू सुरक्षित हुन चाहन्छौ भने अरूलाई पनि सुरक्षित बनाऊ । तिमी आफू मात्र अघि बढेर, विकसित भएर, शक्ति आर्जन गरेर मात्र केही हुँदैन । त्यति मात्र होइन, वरिपरि गरिबका झुपडीबीच बनेका गगनचुम्बी भवनका मालिक पनि झुपडीमा बस्ने नागरिकलाई सुरक्षित नगरी आफू सुरक्षित हुन नसक्ने शिक्षा पनि अहिलेको महामारीले दिएको छ । 

हुन त यो समयमा नेपालजस्ता भौतिक विकास र आर्थिक समृद्धिमा पछि परेका मुलुक आजको महामारीका कारण निकै अप्ठ्यारो अवस्थामा पुगेका छन् । सबैले सरसहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्था छ । संसारले उत्पादन गरेका औषधि तथा खोप आवश्यकताका आधारमा वितरण हुनुपर्छ । तर, यहाँ त आवश्यकताका आधारमा भन्दा पनि राष्ट्रको शक्ति र आर्थिक सामथ्र्यका आधारमा सञ्चित गर्ने गलत प्रतिस्पर्धा अहिले पनि विश्वभर चलिरहेको छ । कोभिड–१९ ले यति ठूलो पाठ सिकाइरहँदा पनि मानिस अझै सचेत हुन सकेको छैन । मान्छे अझै पनि कविशिरोमणि लेखनाथ पौड्यालले लेखेझैँ ‘म खाऊँ, मै लाऊँ, सुख, सयल वा मोज म गरूँ । म बाँचूँ, मै नाचूँ, अरू सब मरून् दुर्बलहरू !’ भन्ने सोचबाट अभिप्रेरित देखिँदै छ । आजको विकसित र शक्तिशाली मुलुकका मानिसमा आफू, आफ्नो परिवार, आफ्नो समाज र आफ्नो राष्ट्र बाँचे त पुगिहाल्यो नि भन्ने गलत सोच हाबी भइरहेको छ । 

यसैले गर्दा हाम्रो जस्तो देश जोसँग सबै कुरा छ, प्राचीन आयुर्वेद शास्त्रले होस् या आधुनिक औषधि विज्ञानले होस्, यस क्षेत्रमा धेरै ठूलो योगदान दिन सक्छ । उसले समेत आफ्नो क्षमता र कर्ममा विश्वास नगरेर अरूसामु हात फैलाएर आफूलाई मगन्तेको भूमिकामा प्रस्तुत गराइरहेको छ । आफ्नो क्षमता, आफ्ना पुर्खाले सिकाएर या छाडेर गएका ज्ञान, सीप र प्रविधिमा विश्वास गर्न नसक्दा हामीले विश्वसामु हामीलाई खोप देऊ भनेर हारगुहार गरिरहनुपरेको छ । आज हामीले प्राणवायु अक्सिजनदेखि भेन्टिलेटर, औषधि, अस्पतालका शड्ढयासम्म सबैका लागि अरूसामु हात पसार्नुपरिरहेको छ । हामीले नियालेर हेर्ने हो भने ठूला शक्तिशाली राष्ट्रहरू र व्यक्ति मानवीय समस्यामा को कति सहयोगी बने भनी हेर्ने हो भने पोलियो उन्मूलनमा बिल गेट्सले गरेजति सहयोग कुनै पनि राष्ट्रले गरेका छैनन् । अहिलेको पेन्डामिकमा पनि व्यक्तिहरू नै सहयोगका लागि अगाडि छन् । नेपालजस्ता देशले आफूले पैसा तिरिसकेको खोप ल्याउनसमेत सकेका छैनन् । संकटको समयमा सबै आफ्ना लागि केन्द्रित हुन्छन् ।

तसर्थ यी सबै कुरा मनन गरी नेपालजस्ता देशमा वातावरणीय रूपमा आयुर्वेद र प्राकृतिक चिकित्सालाई अगाडि बढाउँदै योगशिक्षा अभ्यासका रूपमा लैजाँदा धेरै रोग नियन्त्रण गर्न सकिन्छ । यसका साथै खानपिनलाई आफ्नै शैलीमा विकसित गर्न सकिन्छ । अब हामीले जसरी भए पनि यस्तो अवस्थाको अन्त्य गर्नैपर्छ । यसका लागि साना देश, साना देशका विश्वविद्यालय, यहाँका अनुसन्धान केन्द्रमा पनि ठुल्ठूला वैज्ञानिक हुन सक्छन्, उनीहरूले पनि विश्वस्तरीय आविष्कार गर्न सक्छन् भन्ने विश्वलाई देखाउन सक्नुपर्छ । अब हामीले जहिल्यै अरूको भर पर्ने होइन, अरूलाई पनि केही दिन सक्ने अवस्था निर्माण गर्न सक्नुपर्छ । शिक्षा र अनुन्धानका लागि सम्पन्न परिवारको सदस्य र शक्तिरÞाष्ट्र हुनुपर्छ भने हुँदैन । आधुनिक चिकित्साशास्त्र माइक्रो तहमा पुगिसकेको छ, जसलाई प्राकृतिक शिक्षासँगै आयुर्वेद शिक्षासँग जोड्न सक्नुपर्छ । जसको सुरुवात पहिल्यै नेपालले गरिसकेको थियो, अहिले रोकिएको छ । आजको यो वैश्विक महामारीले सम्पन्न र शक्तिशाली विश्वलाई आफू बाँच्नका लागि अरूलाई बचाउनुपर्छ भन्ने पाठ सिकाएको छ भने नेपाल जस्ता भौतिक विकासमा पछि परेका देशलाई तिमीसित सर्वस्व छ, त्यसको सदुपयोग गर, कर्म गर, हात थापेर होइन, अरूलाई समेत केही दिएर आफू बाँची अरूलाई पनि बचाउन सक्छौ भन्ने गतिलो पाठ पढाएको छ । तिमी सदासर्वदाका मगन्ते होइनौ, तिमी कमजोर छैनौ, तिमी आफ्नै कमजोर सोचका कारण मात्र कमजोर भएका हौ भनेर कोरोनालाई हामीलाई बारम्बार घचघचाइरहेको छ ।

कोरोनाले हामीलाई पहिलेका दर्शन अध्ययनका लागि हिंस्रक बनेर आग्रह गरेको छ । संसारमा दुईवटा दर्शन छन्, आस्तिक र नास्तिक । सामान्य दृष्टिमा आस्तिक दर्शनले हामी र हाम्रो भन्ने बोध गराउँछ । आस्तिक दर्शनको एक मात्र आदर्श परोपकार नै हो । अठार पुराण लेख्दा पनि सामान्य जनतालाई बुझाउन सक्ने कुरा लेख्न नसकेको भनेर ग्लानिबोध भएका व्यासले अठार पुराणको सार भनेर ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् । परोपकार पुण्याय पापाय परपीडनम्’ लेखे । यसको आशय हो, परपीडा पाप र परोपकार पुण्य हो । फेरि नास्तिक दर्शनका प्रणेता बृहस्पतिले ‘यावज्जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिवेत् । भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः’ भनेका छन् । यसको अर्थ : जतिन्जेल बाँच्न सक्छौ सुखी भएर बाँच । ऋण काढेर भए पनि घिउ नै खाऊ । बाँचुन्जेल मोजमस्ती गर । खरानी भएर जाने यो शरीर फेरि फर्केर आउँदैन । यो भौतिकवादी सोच चरम रूपले बढ्दै गएर मानिस छाडा बन्दै गयो, जसले गर्दा विनाशको बिउ र बाटो फैलिए । हरेक क्षेत्रमा ‘म’, ‘म’ले बढाएको अहंकार, अहंकारले निम्त्याएको विनाश र विनाशले निम्त्याएको कोरोना । कोरोनाको सन्देश– परोपकार पुण्याय पापाय परपीडनम् । तिमी आफू बाँच्न अरूलाई बचाऊ । ‘म’ अब एक्लै बाँच्न सक्दैन । कोरोनाले मानव समाजलाई सिकाएको महत्वपूर्ण पाठ यही हो ।

(डा. भण्डारी कांग्रेस केन्द्रीय सदस्य हुन्)