
सिरहाको गोलबजार नगरपालिका– ८ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयमा छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपपछि आक्रोशित आफन्त र स्थानीयले तोडफोड गरेका छन्।
विद्यालयको प्रशासनिक भवनको दोस्रो र तेस्रो तलामा रहेको कार्यालयको झ्याल, भेन्टिलेसनको सिसा र शौचालय अगाडिको ऐना तोडफोड भएको प्रधानाध्यापक ब्रम्हदेव सिंहले जानकारी दिए।
विद्यालय चलिरहेका बेला एक्कसी आएको समूहले कार्यालयको झ्याल, भेन्टिलेसन तोडफोड गर्न थालेपछि आत्तिएर कार्यालयभित्र बसिरहेका बेला भेन्टिलेशन फुटाएर छिरेको सिसाको टुक्राले शिक्षिका रञ्जु सिंहको खुट्टा र आफ्नो हात काटिएर चोट लागेको प्रअ सिंहको भनाइ छ। उनका अनुसार आक्रोशित समूहले तोडफोड गर्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको छ।
आफूहरुमाथि शिक्षकले यौनजन्य दुर्व्यवहार गर्दै आएको १३ वर्षीया बालिकासहित चार बालिकाको गुनासो सुनुवाइ नभएको भन्दै आफन्त र स्थानीयले विद्यालयमा तोडफोड गरेपछि सोमबार इलाका प्रहरी कार्यालय गोलबजारले चार बालिकालाई जिल्ला सदरमुकामस्थित ओसिएमसी (एकद्वार संकट व्यवस्थापन केन्द्र) पठाइएको जनाएको छ।
गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले आक्रोशित आफन्त र स्थानीयलाई सम्झाई बुझाई चार बालिकालाई जिल्ला प्रहरीमा पठाएर त्यतैबाट ओसिएमसी लगिएको बताए। ‘बालिकाहरुमाथि भएको दुव्र्यवहारको जाँच, उपचार र मनोपरामर्शपछि पीडितले दिने जाहेरी र ओसिएमसीको रिपोर्टको आधारमा अगाडि बढ्छौं’ उनले भने।
चोहर्वा घर भएका प्रावि प्रथम तहमा कार्यरत शिक्षक हरि श्रेष्ठले विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकाले आफूलाई कक्षाकोठामै शरीर सुम्सुम्याउने, संवेदनशील अंगमा हात पुर्याउने जस्ता यौनजन्य दुव्र्यवहार गर्दै आएको अभिभावकलाई गुनासो गरेकी थिइन्। शिक्षक श्रेष्ठले अर्की ८ वर्षीया बालिकासहित थप तीनजनालाई समेत त्यस्तो हर्कत गर्दै आएको उनको भनाइ छ।
शिक्षक श्रेष्ठको यौनजन्य दुव्र्यवहारबाट विक्षिप्त भएपछि डरले पछिल्लो करिब एक महिनादेखि विद्यालय आउन छोडेकी बालिकाले आफ्नी आमालाई घटनाबारे बताएपछि गत शुक्रबार विद्यालय आएर आफूमाथि भएको दुव्र्यवहारको बारेमा शिक्षिका सिंहलाई सुनाएकी थिइन्। त्यसपछि शिक्षिका सिंहले घटनाको विषयमा प्र.अ. सिंहलाई सुनाएपछि उनले शिक्षक श्रेष्ठलाई बोलाएर घटनाको बारेमा सामान्य सोधपुछ गरी मिलाउन सुझाएको बताइएको छ।