
पूर्वराष्ट्रपति बिद्यादेवि भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई निवासमा बोलाएर छलफल गरेकी छिन्। राजनीतिमा पुनरागमनको घोषणा गरेकी भण्डारीले बालेनसँग राजनीतिक छलफल गरेकी हुन्।
भेटमा महानगरपालिकाको बजेट तथा समस्याका विषयमा पनि छलफल भएको बालेनको सचिवालयले जनाएको छ । ‘उहाँसँग समसामयिक विषयमा छलफल भयो, कतिपय महानगरपालिकासँग सम्बन्धित विषय, कतिपय राजनीतिक सवाल र घटनाक्रममा छलफल भयो,’ मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले भने, ‘भेटघाटमा पूर्व राष्ट्रपतिज्यूले राम्ररी रेस्पोन्स गर्नुभयो, मेयरज्यूले पनि भण्डारीज्यूले सेवा सुविधा फिर्ता गरेकोबारे चर्चा गर्नुभयो, कुराकानीका क्रममा महानगरपालिकाका देखिएको पछिल्लो समस्या बारे पनि छलफल भयो ।’
स्रोतका अनुसार मेयर शाहले तत्काल आफू राजनीतिमा नआउने बताउँदै महानगरपालिकामा केन्द्र सरकारले गरेको असहयोग र प्रतिशोधबारे जानकारी गराएका थिए । सरकारले नयाँ प्रशासकीय अधिकृत नपठाउँदा बजेट नै अवरुद्ध भएको विषयमा उनले जानकारी गराएका थिए। पूर्वराष्ट्रपति भण्डारीले भने उनलाई राजनीतिमा आउन आग्रह गरेकी थिइन्।
मेयर शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच तिक्ततापूर्ण सम्बन्ध छ । एमालेमा वैकल्पिक धारको राजनीतिक सक्रियता बढाइएकी भण्डारीको बालेनसँगको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।
पूर्वराष्ट्रपतिको रुपमा पाउने सेवा–सुविधा छाडेर भण्डारीले हालै राजनीतिक सक्रियता बढाएकी हुन्।