१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
ब्य्रान्डन जे विइचार्ट
२o८२ असार २२ आइतबार ११:२४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रफालको पर्दाफास : भारतको महँगो भुल ?

Read Time : > 2 मिनेट
ब्य्रान्डन जे विइचार्ट
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार ११:२४:oo

भारतले सम्भवत: गलत समयमा गलत रक्षा प्रणाली अत्यधिक मूल्यमा खरिद गर्‍यो र त्यसको मूल्य युद्धमै चुकाउनुपर्‍यो

भारतले पाकिस्तानसँग हालैको युद्धमा प्रयोग गरेका महँगा फ्रान्सेली डसाउ रफाल लडाकु विमानको कमजोर प्रदर्शनले भारत–फ्रान्सबिच आरोप–प्रत्यारोप चर्किएको छ । युद्धको सुरुवातमै रफाल असफल देखिएपछि रफाल खरिद गर्न किन्ने सम्झौता गरिसकेका इन्डोनेसियालगायत देश पुनर्विचार गर्ने मनस्थितिमा पुगेका छन् । इन्डोनेसियाले रफाल अडिट (प्राविधिक परीक्षण) थालेको छ । उसो त अडिट प्रक्रियाको औपचारिक कारण नबताइए पनि भारतका रफालले अपेक्षाकृत कमजोर मानिएको पाकिस्तानी वायुसेनाविरुद्ध खराब प्रदर्शन गरेपछि जकार्ताको आशंका स्पष्ट देखिन्छ । 

रफालको प्रतिष्ठा जोगाउन फ्रान्सले दोष भारतको पाइलट तालिम र मर्मत व्यवस्थामाथि थोपरेको छ । यद्यपि, भारतले डसाउका अडिटर (परीक्षक) लाई विमान परीक्षण गर्न अनुमति दिएको छैन, किनभने भारत रफालको कमजोर प्रदर्शनको दोष आफूमाथि थोपरिने चिन्तामा देखिन्छ । विश्लेषकबिच मत बाँडिएको छ, अर्थात् कतिपयले भारतको तयारी कमजोर भएको मान्छन् भने अन्यले रफाल आफैँ अब सस्ता चिनियाँ विमानसँग प्रतिस्पर्धा गर्न नसक्ने भइसकेको ठान्छन् ।

फ्रेन्च कम्पनी डसाउको चित्त दुख्नु स्वाभाविक देखिन्छ र तिनका चिन्तामा केही आधार पनि छन् । सन् २०२४ को डिसेम्बरमा भारतको महालेखा परीक्षक (क्याग) र संसद्को स्थायी रक्षा समितिले भारतीय सेनामा गम्भीर भर्ती संकटबारे रिपोर्ट सार्वजनिक भएका थिए । ‘इन्डिया टुडे’की पत्रकार शिवानी शर्माका अनुसार भारतीय वायुसेना पाइलटअभावसँग जुधिरहेको छ । यो अभाव सन् २०१५ मा चार सय ८६ बाट बढेर २०२१ मा पाँच सय ९६ पुगेको थियो । क्यागको रिपोर्टले भारतको सन् २०१६ देखि २०२१ सम्म दुई सय २२ प्रशिक्षार्थी पाइलट भर्ती गर्ने प्रयास असफल भएको देखाउँछ । पाइलटको कमीले भारतको प्रशिक्षण विमान पिलाटस पिसी–७ एमके–२ को समस्या समाधानमा ढिलाइ गरायो । भरपर्दो प्रशिक्षण विमान र योग्य पाइलटको अभावका कारण युद्ध सुरु भएमा भारतको हारको जोखिम उच्च थियो । उच्च–तीव्रता युद्धको सन्दर्भमा १.२५:१ को पाइलट–सिट अनुपात पर्याप्त थिएन । युद्धअघि भारतसँग ३१ लडाकु स्क्वाड्रन मात्रै थिए, जबकि भारतीय वायुसेना नीतिअनुसार कम्तीमा ४२ स्क्वाड्रन आवश्यक मानिन्छ । भारतीय वायुसेनाले न त पुराना विमान समयमै हटाउन सक्यो, न त नयाँ विमान ल्याउन, जसले समग्र रक्षा तयारीलाई कमजोर बनायो ।

यी समस्याबारे फ्रान्सेली अडिटर अनभिज्ञ थिएनन्, किनभने यी समस्या दशकौँदेखि दर्ज भइरहेका थिए, तर समाधान भएका थिएनन् । अब भारतले अत्यधिक प्रचार गरिएको औसत फ्रान्सेली हतियार किनेर गल्ती गर्‍यो वा पराजयको कारण केवल सैन्य तयारीको कमजोरी थियो ? भारतीय वायुसेनाको संकटले मात्र पाकिस्तानका चिनियाँ पिएल–१५ क्षेप्यास्त्रको उत्कृष्ट प्रदर्शनलाई व्याख्या गर्न सक्दैन । अर्थात्, भारतीय वायुसेनाको तयारी कमजोर भए पनि फ्रान्सेली हतियारको कमजोरी पनि स्पष्ट छ । त्यसैगरी, चिनियाँ हतियार प्रणालीले पछिल्लो समय उल्लेखनीय प्रगति गरेका छन् । कतिपय अवस्थामा तिनले महँगा पश्चिमा प्रणालीलाई उछिनेको आकलनसमेत भइरहेको छ ।

यसैबिच भारतले रफाल निर्माता फ्रान्सेली कम्पनी डसाउप्रति असन्तोष सार्वजनिक रूपमा व्यक्त गरेको छ । प्रमुख गुनासो भनेको डसाउले दीर्घकालीन ग्राहक हुँदाहुँदै पनि भारतीय वायुसेनालाई रफालको सोर्स कोड नदिनु हो । धेरैले यसलाई बौद्धिक सम्पत्तिको सुरक्षा मान्छन्, तर भारतीय वायुसेनाका लागि मर्मत, मिसन प्रणाली र हतियार एकीकरणमा सोर्स कोड अत्यावश्यक मानिन्छ । डसाउको अस्वीकृतिले वायुसेनाको सामरिक तयारी जुन पहिल्यै कमजोर देखिएको छ, त्यसलाई झन् जटिल बनाएको छ । के कोड नदिनुका पछाडि साँच्चै बौद्धिक सम्पत्ति चोरीको भय हो ? वा यो फ्रान्सेली कम्पनीले भारतलाई अत्यधिक मूल्यमा कमजोर प्रणाली बेचेको सत्य भारतले थाहा पाओस् भन्ने भय हो ? 

यस घटनाले सामाजिक सञ्जालमा चीनलाई व्यंग्य गर्ने सुनौलो मौका दिएको छ । र, नदिओस् पनि किन ? पाकिस्तानसँगको युद्धमा चिनियाँ हतियार र विमानले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतले डसाउको सोर्स कोड प्राप्त गर्न नसकेको खबर बाहिरिएको समयमै भारतले एउटा चिनियाँ पिएल–१५ क्षेप्यास्त्रलाई नष्ट नभएको अवस्थामा कब्जा गरेको खबर सार्वजनिक भयो । त्यसपछि चीनका कुख्यात आक्रामक ‘वुल्फ वरियर’ कूटनीतिज्ञमध्ये एकजनाले एक्समा भारतको खिल्ली उडाउँदै ‘भारतले प्रतिरफाल २८ करोड ८० लाख डलर खर्च गर्‍यो, तर यससँग सोर्स कोडसम्मको पहुँच छैन । र, यिनै भारतीय आफूले जलेको पिएल–१५ क्षेप्यास्त्रबाट सफ्टवेयर निकाल्न सक्ने दाबी गर्छन्, जबकि यिनीहरू आफ्नै रफाल विमानको मुख्य सञ्चालन प्रणाली (कोर फङ्सन) सम्म पनि पुग्न सक्दैनन्’ लेखेका थिए । 

यो भनाइ अपमानजनक त हो, तर उठाइएको प्रश्न भने गलत थिएन । यसले भारतको तथाकथित सैन्य शक्तिको प्रचार र वास्तविक कार्यक्षमताबिचको अन्तरलाई उजागर गर्छ । नि:सन्देह नयाँ दिल्लीसँग उल्लेखनीय क्षमता अवश्य छ, तर ती क्षमताको प्रयोग प्राय: तिनको प्रचारअनुसार देखिँदैन । जसले जसरी बुझे पनि भयो, भारत पाकिस्तानसँगको युद्धको सुरुवातमा उच्च–तीव्रता द्वन्द्वका लागि तयारीविहीन अवस्थामा थियो । त्यसैले, नयाँदिल्लीले तुरुन्तै युद्धलाई चर्काउने प्रयास गर्‍यो, ताकि पाकिस्तानभन्दा छिटो प्रतिकार गर्न सकियोस् । अन्तत:, भारतले सम्भवत: गलत समयमा गलत रक्षा प्रणाली खरिद गर्‍यो, त्यो पनि ती रक्षा कम्पनीबाट जसले अत्यधिक मूल्यमा कम गुणस्तरको वस्तु बिक्री गरिरहेका थिए । अब जब फ्रान्स र भारत एक–अर्कालाई दोष थोपर्ने प्रयास गरिरहेका छन्, तिनले यो असफलताको जिम्मेवारी उजागर गर्नुपर्नेछ । र, भारतले अझै पनि समय छँदै आफ्नो मार्ग परिवर्तन गर्नुपर्छ ।

(विइचार्ट द नेसनल इन्टरेस्टका वरिष्ठ राष्ट्रिय सुरक्षा सम्पादक हुन्) 
द नेसनल इन्टरेस्ट