१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ २८ शुक्रबार १३:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सभा बैठक अवरुद्ध :  जनमोर्चाका थापालाई पार्टीले फेरि गर्‍यो पदमुक्त

Read Time : > 1 मिनेट
२०७८ जेठ २८ शुक्रबार १३:३४:००

गण्डकी प्रदेश सभाको शुक्रबारको बैठक अवरुद्ध भएको छ । सत्तापक्षका सांसदको अवरोधका कारण बैठक स्थगित भएको हो ।  सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेसँगै एमालेका सांसदहरू आ–आफ्नो स्थानबाट उठेका थिए । पछि सभामुखले किन भनी प्रश्न गर्दा एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले मन्त्रीहरू उपस्थित नभएका कारण प्रदेश सभा सञ्चालन नियमावलीअनुसार बैठक सञ्चालन गर्न नमिल्ने बताएका थिए । अधिकारीको भनाइसँगै सभामुखले आइतबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

जनमोर्चाका थापा पदमुक्त
बैठकमा सभामुखले राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त भएको जानकारी गराएका थिए ।थापालाई पदमुक्त गरिएको सम्बन्धमा जनमोर्चाले पठाएको पत्र सभामुखले पढेर सुनाएका थिए । बैठकमा सभामुखले राजनीति दलसम्बन्धी ऐन २०७३ को परिच्देछ ६ दफा ३५ को उपदफा १ बमोजिम थापालाई कारबाही गरिएको सम्वन्धको सूचना पढेर सुनाएका थिए ।

जनमोर्चाले गण्डकीमा नेपाली काग्रेसको नेतृत्वमा गठन हुने सरकारलाई समर्थन गर्न सांसदहरूलाई ह्विप जारी गरे पनि थापाले पार्टीको निर्देशन अटेरी गदै आएका थिए । बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने समय भएको मतदानमा उनी तटस्थ बस्दै पार्टीको निर्देशन मान्न अटेर गरेका थिए । 

पार्टीको निर्देशन नमानेका भन्दै थापालाई प्रदेश सभा सदस्यबाट हटाइएको पत्र जनमोर्चाले शुक्रबार प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो । सोही पत्रअनुसार सभामुखले थापा पदमुक्त भएको सूचना बैठकलाई गराएका हुन् । 
यसअघि गत वैशाखमा समेत उनले पार्टीको ह्विप नमानी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा लागेको भन्दै २० जेठमा पार्टीले प्रदेश सभा सदस्यबाट हटाएको थियो । उनलाई २३ जेठमा अदालतले पुनर्बहाली गरेको थियो । 

जनमाेर्चा संसदीय दलकी नेता पियारी थापाका अनुसार वैशाखमा समेत कृष्ण थापाले पार्टीको निर्देशन अटेरी गरेका कारण पार्टीले कारबाही गरेको जानकारी दिइन् । पार्टीको कारबाहीसँगै आफूले पार्टीको ह्विप उल्लंघन नगरेको भन्दै उनी सर्वाेच्च अदालत पुगेका थिए ।

अदालतले अर्को निर्णय नभएसम्मका लागि भन्दै हाललाई कारबाही नगर्न गत आइतबार निर्देशन दिएको थियो । तर, बिहीबार कृष्ण थापाले देखिने गरी पाटीको निर्देशन र ह्विप नमानेका कारण फेरि कारबाही गर्नुपरेको भनाइ उनको छ । अदालतमा मुद्दा विचारधीन छ भन्ने प्रश्नमा उनले पहिलाको र हालको कारबाहीको अवस्था फरक रहेको बताइन् । अघिल्लोपटक जे गरे पनि यसपटक देखिने गरी पार्टीको निर्देशन र ह्विप नमानेका कारण कारबाही गरिएको दाबी उनको छ ।

यस्तो थियो आजको कार्यसूची                                                       

जनमोर्चाका कृष्ण थापालाई कारबाही गरेसँगै तीन विषय शुक्रबारको कार्यसूचीमा रहेका थिए । पहिलो नम्बरमा कारबाहीको जानकारी सभालाई गराउने, दोस्रो नम्बरमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको जानकारी प्रदेश प्रमुखलाई गराउने र तेस्रो नम्बरमा प्रदेश सभा नियमावली, २०७४ संशोधन मस्यौदा समितिको म्याद थप गर्ने रहेका थिए ।

सत्ता पक्षका सांसदहरूले सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत कार्यसूची तयार गर्नुपर्नेमा त्यसो नगरी एकलौटी गरेको भन्दै विरोधसमेत गरेका थिए ।