गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन सकेनन्

बिहिबार, २७ जेठ, २०७८
डिजिटल संस्करण

प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत लिन सकेनन् । बिहीबार विश्वासको मत लिन गुरुङले प्रदेश सभामा प्रस्ताव पेस गरेका थिए । 

तर, गुरुङले जम्मा २७ सांसदको समर्थन पाए । गुरुङको विपक्षमा ३० मत परेको छ ।  ५८ जना सांसद उपस्थित भएकोमा ५७ जनाले मतदान गरेका छन् । विश्वासका लागि मुख्यमन्त्रीले प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । 

मुख्यमन्त्री गुरुङलाई एमालेका सांसदको मात्र मत परेको हो । विपक्षमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदले मत दिएका छन् । 
युवा तथा खेलकुदमन्त्रीसमेत रहेका स्वतन्त्र सांसद दिपक मनाङे अनुपस्थित रहे । उनी अनुपस्थित रहेपनि सभामा ५७ मत खसेको थियो । एक जना तटस्थ बसेको अधिकारीले जानकारी दिए । 

यसअघि २ वैशाखमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावउपर २७ वैशाखमा मतदान गर्ने कार्यक्रम रहेकोमा एक दिनअघि २६ वैशाखमा मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । 

मुख्यमन्त्रीको राजीनामासँगै सोही दिन प्रदेश प्रमुखले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन् । विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गरे पनि दाबी नपुगेको भन्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः गुरुङ नै नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

सुझावित समाचार