१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ जेठ २७ बिहीबार १०:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुढा बनाएर मासिक ३० हजार कमाउँछन् कोसीपारिका महिला 

Read Time : > 1 मिनेट
२०७८ जेठ २७ बिहीबार १०:३७:००

कोभिड–१९ का कारण देश नै महामारीको संकटमा परेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ । सबै व्यापार–व्यवसाय बन्द भएको छ । कैयौँको रोजीरोटी गुमेको छ । रोजगारीका लागि सहरमा बसेका मानिसहरू गाउँ फर्केका छन्  ।  

कहिले सहज परिस्थिति आउला र रोजगारीका लागि जाउँला भनेर कुरिरहेका छन् ।  अधिकांश मानिस घरभित्रै छटपटाइरहेका छन् । तर, काभ्रे जिल्लाको कोसीपारि क्षेत्रका महिलाहरू निषेधाज्ञामा घरमै बसी आम्दानी गरिरहेका छन् । उनीहरू घरमै बसेर मुढा बनाई बिक्री गरी आम्दानी गरिरहेका छन् ।

काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ मादनकी ३० वर्षीय निखुरी लामा रोजगारीको सिलसिलामा भक्तपुर बस्दै आएकी थिइन् । त्यहाँ उनी मजदुरी गरेर दिन कटाउँदै आएकी थिइन् । त्यही क्रममा काेभिड–१९ महामारीका कारण सरकारले निषेधाज्ञा जारी गर्ने भएपछि घर फर्किइन् ।

निषेधाज्ञामा घरमा बस्दाबस्दै दिक्क लागेपछि उनले मुढा बनाउन थालिन् । बाँस गाउँमै पाइने भएकाले मोटरको टायर र डोरीको व्यवस्था गरी मुढा बनाउन थालिन् । ‘लकडाउनमा घरमा बस्दाबस्दा दिक्कै लागिसक्यो । अब के गर्ने भन्ने लाग्यो । मुढा बनान सुरु गर्नुपर्‍यो भनेर बनाउन थालेकी हुँ’ लामाले भनिन्, ‘बाँस घरमै पाइहाल्छ, मोटरको टायर र डोरी बजारबाट किनेर ल्याएँ अनि मुढा बनाउन थालेँ ।’

निषेधाज्ञा छल्न गाउँ आएकी लामालाई आजकाल मुढा बनाउन भ्याइनभ्याई छ । सरकारले गरेको निषेधाज्ञाको सदुपयोग गर्दै उनी मुढा बनाउन थालेकी हुन् । दिनमा दुईदेखि तीनवटासम्म बनाउन सकिने उनको भनाइ छ । उनी एउटा मुढालाई पाँच सयमा बिक्री गर्छिन् ।  ‘घरमा अरू काम नगरी मुढा मात्र बनाउने हो भने दिनमा दुईदेखि तीनटासम्म बनाउन सकिन्छ ’ निखुरी लामाले भनिन्, ‘एउटा मुढाको ५ सयका दरले बेच्छौँ ।’

दिनको तीन वटाको दरले प्रतिमुढा पाँच सयका दरले महिनामा ४५ हजारको मुढा बनाउन सकिने र त्यसमा २५/३० हजार नाफा कमाउन सकिने उनको भनाइ छ । मुढा खरिदका लागि काठमाडौं र गाउँबाटै पनि अर्डर आइरहेको उनले बताइन् । अहिलेलाई बजारको अभाव नभएको उनको भनाइ छ ।