मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ जेठ २२ शनिबार ०६:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिराहा प्रहरीले बलात्कारसम्बन्धी जाहेरी दर्ता गर्न मानेन

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ जेठ २२ शनिबार ०६:३०:००

सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयले बलात्कारविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । विवाह गर्ने प्रलोभनमा बलात्कार गरेको भन्दै २४ वर्षीया ममता शर्मा (परिवर्तित नाम) इलाका प्रहरी कार्यालय पुगेकी थिइन् । तर, विवाह विवाद भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको पीडितले बताएकी छिन् । 

लहान– ६ का २७ वर्षीय विजयकुमार साहले बिहीबार रातभर बलात्कार गरेको भन्दै शर्मा शुक्रबार दिउँसो ४ बजे लहानस्थित इप्रका पुगेकी थिइन् । प्रहरीकै सल्लाहमा शर्माले साहविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै जाहेरी लेखेकी थिइन् । दर्ता गर्ने समयमा भने प्रहरीले अस्वीकार गरेको शर्माले बताइन् । 

उनले भनिन्, ‘ममाथि रातभर बलात्कार भयो । उजुरी दिन नजिकैको प्रहरी कार्यालय पुगेँ । प्रहरीले जाहेरी दिन पनि भन्यो । तर, पछि प्रहरीको व्यवहार बदलियो । जाहेरी लिन अस्वीकार भयो । तीन घन्टासम्म हारगुहार गरेँ, तैपनि असफल भएँ ।’

पीडित शर्माका अनुसार विवाह गर्ने प्रलोभनमा पारी साहले बिहीबार बिहानै इटहरीबाट लहान आउन भनेका थिए । लकडाउनका कारण सवारीसाधन नचलेपछि शर्मा इटहरीमै अड्किएर बसेकी थिइन् । तर, साहले पटक–पटक आउन आग्रह गरेपछि मोटरसाइकलमा लिफ्ट मागेर शर्मा दिनको ३ बजे लाहन पुगेकी थिइन् । लहानमा भेट भएपछि साहले शर्मालाई नजिकैको इस्टपोल नामको गेस्टहाउस लगेर राखेका थिए । सोही गेस्टहाउसमा साहले रातभर बलात्कार गरेका शर्माले बताइन् । 

उनले भनिन्, ‘मलाई गेस्टहाउस लग्यो । म बस्न मानिनँ । भोलि नै विवाह गर्छु भनेपछि मानेँ । उसले सँगै बस्छु भन्न थाल्यो । मैले इन्कार गरेँ । पछि बियर पनि खाएर आएछ । भोलि विवाह गर्ने हो, आज सँगै बस्ने भनेर ऊ जिद्दी गर्न थाल्यो । मेरो केही चलेन ।’

शर्माका अनुसार गेस्टहाउसको कोठामा लगेपछि साहले शर्माको मोबाइल फोन  खोसेका थिए । उनले भनिन्, ‘मेरो मोबाइल फोन पनि खोस्यो । मलाई रातभर पटक–पटक जबर्जस्ती गर्‍यो । मैले पीडा कतै भन्न सकिनँ ।’

शुक्रबार बिहान ९ बजेसम्म सँगै रहेका साह त्यसपछि भने शर्मालाई लहानमै छाडेर एकाएक बेपत्ता भएका थिए । साह सम्पर्कविहीन भएपछि शर्माले सहयोगका लागि हारगुहार गरेकी थिइन् । यही क्रममा उनी महिला अधिकारवादी लहानकै ललिता दासकहाँ  पुगेकी थिइन् । 

पीडित शर्माको सहयोगमा जुटेकी ललिताले भनिन्, ‘प्रहरीले बलात्कारजस्तो केसमा लापरबाही गर्‍यो । जाहेरी लिन हारगुहार गरेँ । रातको १० बजेसम्म प्रहरी कार्यालय धाएँ । तर, प्रहरीले जाहेरी लिन नै मानेन ।’ अधिकारवादी ललिताका अनुसार प्रहरीले पीडित शर्माको मेडिकल परीक्षण गर्नसम्म मानेन । उनले भनिन्, ‘युवतीको मेडिकल परीक्षण गर्नुपर्ने थियो, तर प्रहरीले न जाहेरी दर्ता गर्‍यो, न मेडिक परीक्षण नै ।’

तर, इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा. तपन दाहालले शर्मा बलात्कृत नभएको र केटाकेटीबीच विवाहसम्बन्धी विवाद भएको बताए । उनले भने, ‘केटाकेटीबीच विवाहसम्बन्धी विवाद भएजस्तो देखिन्छ । बलात्कार भएको होइन । त्यस्तो हो भने त हामी जाहेरी लिइहाल्छौँ नि ! केटा र केटी यसअघि पनि सँगै बसेको मैले सुनेको छु । त्यसो हुँदा जाहेरी नलिएको हो ।’

पीडित युवती शर्माको खास घर काभ्रे हो । उनको साहसँग सामाजिक सञ्जालमार्फत नै भेट भएको थियो । वर्ष दिनअघिदेखि सामाजिक सञ्जालमा गफिएका यी दुईबीच प्रेम सम्बन्ध थियो । यही वेला परिवारले शर्माको जबर्जस्ती अरू नै केटासँग विवाह गराइदिएका थिए । साहले विवाह गर्ने भनेपछि शर्माले श्रीमान्सँग डिभोर्स गरेकी थिइन् । त्यसयता उनी इटहरी बस्दै आएकी थिइन् ।