
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपरेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताए ।
लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्नेमा जोड दिँदै उनले गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न नेपाली जनतालाई आग्रह गरे ।
देउवाले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापश्चात् नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित भएको भन्दै देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले कोभिड–१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको र जनताको जीवनप्रति सरकार उदासीन र संवेदनहीन देखिएको बताए । संक्रमणबाट आफू जोगिन र अरूलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबल बढाउन सबैलाई आग्रह गरे ।