मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १० सोमबार ०६:३३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओलीको आक्रोश : कांग्रेसले लोकतान्त्रिक बाटो र प्रक्रिया छाडेर ‘प्रचण्डपथ’ अंगीकार गरेको आरोप

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १० सोमबार ०६:३३:००

आफूलाई हटाउन गठबन्धन बनाएकोमा कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले कांग्रेसप्रति तीव्र आक्रोश पोखेका छन् । ओलीले प्रमुख विपक्षी दल कांग्रेस लोकतान्त्रिक बाटो र प्रक्रिया छाडेर ‘प्रचण्डपथ’ अंगीकार गर्न अग्रसर भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका सदस्यहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले कांग्रेस लोकतान्त्रिक विधि र प्रक्रिया छाडेर आवेश र उत्तेजनाको राजनीतिमा उत्रिएको पनि बताए । प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा अघिल्लोपटक निर्वाचन हुँदा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जितेको स्मरण पनि गराए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि एक सय ४९ सांसदले समर्थन दिए पनि राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त नगरेपछि विपक्षी गठबन्धन त्यसविरुद्ध राजनीतिक र संवैधानिक प्रतिवादमा छन् । देउवालाई समर्थन गर्नेमा एमालेकै २६ सांसदसमेत थिए । यसैलाई लिएर ओलीको आक्रोश थियो । 

‘अहिले आफूलाई लोकतान्त्रिक भन्ने पार्टी पनि प्रचण्डपथ अंगीकार गरेर हिँड्न खोजेको छ । ताजुब के लाग्यो भने आफूलाई प्रजातान्त्रिक शक्ति हुँ भन्ने पार्टीले पनि अब केपी ओलीले गराएको चुनावमा भाग लिँदैनौँ भन्ने ! यो कुन लोकतान्त्रिक परिभाषा, कुन संवैधानिक परिभाषा, कुन प्रणाली र कुन प्रक्रियाअन्तर्गत हो ?’

ओलीले कांग्रेसमाथि प्रहार गरे, ‘फलानोले गरेको चुनावमा चाहिँ भाग नलिने भनेपछि कसले गरेको चुनावमा भाग लिने हो ? भाग लिन कांग्रेसलाई कसले प्रधानमन्त्रीको टीको लगाइदिनुपर्ने ?’ आइतबार मात्रै कांग्रेस महामन्त्री शशांक कोइरालाले ओली प्रधानमन्त्री भएर चुनाव गराए भने दुर्भाग्य हुने बताएका थिए । 

प्रधानमन्त्री ओलीले जनताले लोकप्रिय मत दिएर छानेको पार्टीको नेतृत्वमा चुनावमा जान नमिल्ने कुरा अलोकतान्त्रिक भएको भन्दै त्यसले कांग्रेसकै साख गिर्ने भएकाले आवेश र उत्तेजनाको राजनीति नगर्न ध्यानाकर्षण गराए । ‘कांग्रेसले आवेश र उत्तेजनामा आफूले चुनाव गराउनुपर्ने भनिरहेको छ, गराउनुस् न त चुनाव ! आफैँले गराएको चुनावमा उहाँहरू २३ सिटमा झरेको होइन । अनि आफ्नै नेतृत्वमा चुनाव गराउनुपर्छ भनेको के हो ? म सबैलाई आग्रह गर्छु, आवेश र उत्तेजनाको राजनीति नगरौँ,’ उनले भने । 

कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्री बन्न अरू दलका सांसदहरूको किर्ते हस्ताक्षर गरेर लगेको दाबी ओलीको छ । उनले भने, ‘किर्ते नाम लिएर राष्ट्रपतिकोमा जानु, प्रधानमन्त्री बन्न अरू पार्टीमा बागी, विद्रोही सिर्जना गर्नु के हो ?’ ओलीले भने, ‘लोकतन्त्र भनेको अनुशासित प्रणाली हो, अराजकता होइन । अनुशासनहीनता होइन । जसपाबाट ३२ सांसद भएको ठाउँमा १२ जनालाई हस्ताक्षर गराएर, पार्टी अनुशासन तोडाएर, विभिन्न खालका अनुचित हतकण्डा प्रयोग गरेर लगिएको छ । यो परिपाटी बसाउँदै जाने हो भने हामी कहाँ पुग्छौँ ?’

उनले संसदीय गणितमा फोहोरी खेल भएको र सांसद किनबेच हुने प्रवृत्ति छताछुल्ल भएको पनि जिकिर गरे । उनले भने, ‘संसद्को मौजुदा गणित फोहोरी खेलको माध्यम भयो । देशको आवश्यकता र संसद्को मौजुदा गणित भिन्न भयो । दलीय अनुशासनको कुनै अर्थ छैन । बिकेर विपक्षी दलको प्रधानमन्त्री बनाउने भनेर कुदेको छ । पवित्र गौदान गर्न कुदेको होला ? संसद्मा गणित असक्त र भद्रगोल भइसकेको हालैका स्थितिले देखाएको छ ।’ ओलीले संसद् विघटन नहोस् भनेर आफू एक सय ५३ सिटको दाबी लिएर राष्ट्रपतिकहाँ गएको पनि सुनाए । 

माधव नेपालसँगको सम्बन्ध अब पास्ट टेन्स : ओली
प्रधानमन्त्री ओलीले करिब पाँच दशकदेखि सम्बन्धमा रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग औपचारिक रूपमा सम्बन्धविच्छेद हुन लागेको प्रस्ट संकेत पनि गरे । ‘माधव नेपालसँगको सम्बन्ध अब पास्ट टेन्स भइसक्यो, त्यसैले चर्चा गर्नु नै छैन,’ अबको सम्बन्धबारे सोधिएको जिज्ञासामा प्रतिक्रिया जनाउँदै ओलीले भने ।

आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने काममा नेपाल संलग्न भएकोमा टिप्पणी गर्दै उनले भने, ‘यो निर्लज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन भयो, त्यस्तो दुनियाँको राजनीतिक इतिहासमा रेकर्ड छैन । बस्न मन छैन भने इमान देखाउँछन् । म एमालेको वरिष्ठ नेता भनेर सही गरेर लाजमर्दो काम गर्ने ! एमालेका नेताविरुद्ध विपक्षमा हस्ताक्षर गरेर म एमालेको वरिष्ठ भनेर ङिच्च दाँत देखाएर बस्ने ! यति निर्लज्जता दुनियाँमा कहीँ देखिएको छैन ।’