मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ ५ बुधबार ०६:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महामारीमा खटिएका विराट मेडिकल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

Read Time : > 1 मिनेट
२०७८ जेठ ५ बुधबार ०६:०८:००

स्वास्थ्यकर्मी तितरबितर हुँदा बिरामीको मृत्यु भएको अस्पतालको दाबी 

कोरोना महामारीविरुद्ध खटिएका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । मोरङ बुढीगंगा– २ स्थित विराट शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई सेवाग्राहीले कुटपिट गरेका हुन् । 

अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ८ बजेतिर बुढीगंगा– २ का निश्चल श्रेष्ठ र अनिश श्रेष्ठले एक डाक्टर, एक स्वास्थ्यकर्मी र एकजना सेक्युरिटी गार्डमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हातपातबाट स्वास्थ्यकर्मीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । कुटपिटमा संलग्नलाई पक्राउ गरी अभद्र व्यवहारमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । कुटपिटबाट आकस्मिक कक्षमा कार्यरत डा. सुदीप रेग्मी, हेल्थ असिस्टेन्ट निर्दोष बस्नेत र सेक्युरिटी गार्ड विशाल थापा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

सुगर र प्रेसरका बिरामी ७३ वर्षीया वृद्धा गंगादेवी श्रेष्ठको उपचारमा ढिलाइ भएको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात भएको प्रहरीले जनाएको छ । ‘समयमा रेस्पोन्स नगरेको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात भएछ,’ डिएसपी राईले भने, ‘स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ स्वास्थ्यकर्मीमाथि भएको हातपातको भिडियो अहिले सामाजिक सञ्जालमा आइरहेको छ । 

स्वास्थ्यकर्मीमाथि हातपात हुँदा इमर्जेन्सीमा एकको ज्यान गयो : अस्पताल
अस्पताल प्रशासनले स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि तितरबितर हुँदा उपचारमा आएका एकजना चिकित्सकको मृत्यु भएको दाबी गरेको छ । अस्पतालका संयोजक सुनील देवका अनुसार गम्भीर बिरामी परेर उपचारका लागि सिराहाको लहानबाट आएका अर्थोपेडिक डा. मुकेश चौधरीको उपचार समयमा गर्न नसक्दा मृत्यु भएको हो । 

‘डा. चौधरी गम्भीर बिरामी भएर आउनुभएको थियो । उहाँको श्वासप्रश्वासमा समस्या थियो । कोभिड– १९को आशंका थियो, इमर्जेन्सीका डा. सुदीपले हेर्दै हुनुहुन्थ्यो । त्यही क्रममा केही युवा सुगर–प्रेसर भएका एक बिरामी लिएर आए । डाक्टर साबले पहिला गम्भीर बिरामीलाई हेरेर केहीबेरमा हेर्छु भन्नुभयो,’ संयोजक देवले भने, ‘त्यत्तिकैमा स्थानीयको बिरामी नहर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरे । त्यो क्रममा स्वास्थ्यकर्मी तितरबितर भए । डा. चौधरीलाई हेर्न सकिएन, उहाँ बित्नुभयो ।’ उनका अनुसार घटनामा चारजना संलग्न भएको भए पनि दुईजना फरार छन् ।

कुटपिटका कारण महामारीमा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल गिरेको देवले बताए । ‘महामारीमा खटिएका छौँ । कोभिडको बिरामीलाई रातदिन नभनी हेरिरहेका छौँ । यो घटनाले स्वास्थ्यकर्मीको मनोबल घटेको छ,’ उनले भने, ‘डा. सुदीप रेस्टमा हुनुहुन्छ । काम गर्ने वातावरण नै भएन ! घटना निन्दनीय छ ।’