मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख २७ सोमबार ०९:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यस वर्ष पनि नखुल्ने भयो यार्सापाटन

Read Time : < 1 मिनेट
२०७८ बैशाख २७ सोमबार ०९:२६:००

कोभिड–१९ को दोस्रो भेरियन्टको कहरका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर्ने सम्पूर्ण यार्सापाटनहरू बन्द गर्ने निर्णय गरेको हो ।

देशमा कोभिड भाइरस संक्रमण तीव्र रूपमा बढिरहेकाले यार्सापाटन पुग्ने दसौँ हजार मानिसको जमघटबाट संक्रमण थप फैलिएर सयौँ नागरिकको ज्यान जान सक्ने खतरा बढ्ने डिसिसिएमसीले निष्कर्ष निकालेको छ ।

यसै कारण जिल्लाका सम्पूर्ण सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधिलगायतका सरोकारवालाको भेलाबाट यस वर्ष पनि जिल्लाका सम्पूर्ण यार्सापाटन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।
बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध चोरी–निकासी रोक्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेर पाटन भित्रिने सम्पूर्ण नाकाहरू बन्द गर्ने निर्णय भएको प्रजिअ ढकालले बताए । डोल्पाका दुई सयभन्दा धेरै यार्सापाटनमा यार्सागुम्बा पाइने गर्छ ।

यससँगै जिल्लाका आठवटै स्थानीय तहले अक्सिजनसहितका सुविधायुक्त आइसोलेसन बेड, क्वारेन्टिन तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्नुका साथै औषधि तथा एन्टिजेन किटहरू मौज्दात राख्नुपर्ने निर्णयसमेत गरिएको छ । कोरोना भाइरस संक्रमणलाई न्यूनीकरण गर्नका लागि डोल्पा प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।