Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
विराटनगर सिटी एफसीविरुद्ध गोल गरेपछि खुसी मनाउँदै ललितपुरका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७८ बैशाख २६ आइतबार ०९:१२:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिगको प्लेअफ समीकरण पूरा

Read Time : > 3 मिनेट
२०७८ बैशाख २६ आइतबार ०९:१२:००

शनिबार भएको खेलमा जित हात पार्दै ललितपुर र बुटवल लुम्बिनीले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । योसँगै एनएसएलको पहिलो संस्करणको समीकरण पूरा भएको छ ।पहिलो क्वालिफायरमा धनगढी र काठमाडौं तथा इलिमिनेटरमा ललितपुर र बुटवल भिड्ने भएका छन् ।

आजको खेल
काठमाडौं रेजर्सविरुद्ध एफसी चितवन
समय : ५ः३० बजे (दशरथ रंगशाला)

पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को प्लेअफ समीकरण पूरा भएको छ । शनिबारको खेलबाट ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्लेअफ चरणमा पुगेका हुन् । यसअघि धनगढी एफसी र काठमाडौं रेजर्सले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् ।शनिबार भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० गोलअन्तरले पराजित गर्दै ललितपुरले अघिल्लो चरणको यात्रा निश्चित गरेको हो । 

त्यसपछि साँझ भएको अर्काे खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवलले चौथो टोलीको रूपमा प्रतियोगिताको प्लेअफमा स्थान बनायो । पोखरा थन्डर्ससँग समान खेलबाट समान अंक भए पनि ‘हेड टु हेड’ नतिजाको आधारमा बुटवलले बाजी मारेको हो । बुटवलले यसअघि भएको खेलमा पोखरालाई २–० ले पराजित गरेको थियो ।

अब मंगलबार हुने पहिलो क्वालिफायरमा धनगढी र काठमाडौं भिड्नेछन् । यस्तै, बुधबार हुने इलिमिनेटरमा ललितपुर र बुटवल भिड्नेछन् । पहिलो क्वालिफायरको विजेता टोली सीधै फाइनलमा पुग्नेछ । पराजित टोलीले बिहीबार हुने दोस्रो क्वालिफायर खेलमा इलिमिनेटरको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आगामी १ जेठमा हुने फाइनल खेलमा उपाधिका लागि पहिलो र दोस्रो क्वालिफायरका विजेता भिड्नेछन् ।

ललितपुरको ठूलो अन्तरको जित
प्लेअफको यात्रा निश्चित गर्दै उपाधिको आशा जीवित राख्न ललितपुर र विराटनगर दुवै टोलीलाई जित आवश्यक थियो । पराजयले त दुवै टोलीको यात्रा लिग चरणमै टुंगिने पक्का थियो । बराबरीको नतिजा पनि अघिल्लो चरणको यात्राका लागि पर्याप्त थिएन ।

‘डु अर डाई’ अवस्थामा रहेको यो खेलमा दुवै टोली सुरुवातबाटै सशक्त उत्रिए । तर, गोलमा ललितपुर अघि रह्यो । एउटा राम्रो अवसरमा कप्तान अञ्जन विष्टले गोल गर्दै ललितपुरलाई १–० ले अघि बढाए । मिक्चेन तामाङले प्रहार गरेको कर्नर बल विराटनगरका गोलरक्षक किशोर गिरीलाई लागेर फर्किएको थियो । सोही बललाई भली सट प्रहार गर्दै अञ्जनले टोलीलाई प्रारम्भिक अग्रता दिलाए ।

प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको ललितपुरले खेलको ६२औँ मिनेटमा अग्रता दोब्बर बनाए । यसमा एउटा उत्कृष्ट मुभ बन्यो । द्रोण थापाले मैदानको केन्द्र भागबाट विपक्षी रक्षकसमेत ‘बिट’ हुने गरी दिएको बललाई कप्तान अञ्जनले डी–बक्सभित्रबाट गोलरक्षक किशोरलाई पनि कटाएर विमल रानालाई पास दिएका थिए । उक्त बललाई विमलले खाली पोस्टमा जाली चुमाए । 

त्यसपछि खेलमा केही नाटकीय दृश्य देखियो । रेफ्रीको निर्णयमा त्यसअघिबाटै असन्तुष्ट बनेको विराटनगरले आफ्ना खेलाडीलाई मैदानबाट बाहिर बोलायो । विराटनगरका विदेशी खेलाडी पेद्रो जेभियर मान्जी क्रुजभन्दा बाहेक सबै खेलाडी मैदानबाट बाहिर निस्किए ।

सोही कारण खेल सात मिनेट रोकियो । खेल फेरि सुरु हुँदा ललितपुरले थप दुई गोल थप्यो । टोलीको तेस्रो गोल अञ्जनले नै गरे । कमल श्रेष्ठले प्रहार गरेको फ्रीकिकमार्फत आएको बललाई फ्री हेडिङमार्फत अञ्जनले ललितपुरलाई ३–० को अग्रता दिलाएका थिए ।

त्यसपछि विराटनगरका खेलाडी र अफिसियलहरूको विरोधका कारण रोकिएको सातसहित जोडेर १२ मिनेट थप गरिएको अन्तिम इन्जुरी समयको तेस्रो मिनेटमा नुर्लान नोभ्रुजोभ जहिदले गोल गर्दै ललितपुरको जित ४–० ले निश्चित गरे । कमलले दिएको बललाई अघि बढाएका नुर्लानले गोलरक्षक किशोरसँगको वान भर्सेस वानको अवस्थामा सहज गोल गरेका थिए ।

ललितपुरको तुलनामा विराटनगरले निकै कम आक्रमण गरेको थियो । अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका रक्षक विजय धिमाल खेलको ८५औँ मिनेटमा दोस्रो पहेँलो कार्डमा मैदानबाट बाहिरिएपछि विराटनगर १० जनामा सीमित भएको थियो । खेलपछि विराटनगरका भारतीय प्रशिक्षक यान लले रेफ्रीको तीव्र आलोचना गरे । उनले रेफ्रीको स्तर विद्यालयस्तरको रहेको आरोप लगाए । ‘मेरा खेलाडीले राम्रो खेलेका हुन्,’ उनले भने, ‘तर, रेफ्रीले पूर्ण रूपमा ललितपुरलाई सहयोग गरे । हामीले पाएको तीनवटा स्पष्ट पेनाल्टी अवसर रेफ्रीले दिएनन् । सबै राम्रो रह्यो । तर, यदि प्रतियोगितालाई स्तरीय बनाउने हो भने आगामी प्रतिस्पर्धामा रेफ्री बाहिरबाट मगाउनुपर्छ । अहिलेको रेफ्रीको स्तर स्कुल स्तरको छ ।’

प्रतियोगितामा ललितपुरको यात्रा फरक रह्यो । ललितपुर सुरुवाती चार खेलमा जितविहीन बनेपछि प्रशिक्षक प्रदीप हुमागाईंले जिम्मेवारी छाडेका थिए । त्यसपछि राष्ट्रिय टोलीका पूर्वखेलाडी राजु तामाङको प्रशिक्षणमा मैदानमा उत्रिएको ललितपुरले लगातार दुई खेलमा जित हात पार्दै प्लेअफको यात्रा तय गर्न सफल भयो ।

प्रशिक्षक राजुले अघिल्लो खेलमा देखिएको गल्तीमा सुधार हुँदा जित निस्किएको बताए । ‘खेलाडी उही हो । त्यही खेलाडीले खेलेका हुन् । यसअघिको खेलमा सबै राम्रो हुँदा पनि स्कोरिङमा चुक्दा जित मुस्किल भएको थियो,’ उनले भने, ‘अहिले स्कोरिङमा सुधार आएको छ ।’ 

एउटा अवसरमा चम्किएको बुटवलको भाग्य
बुटवल लुम्बिनीका प्रशिक्षक सनोज श्रेष्ठकै भनाइलाई विश्वास गर्ने हो भने पनि टोलीको प्रदर्शन पछिल्लो खेलमा निरन्तर खस्कँदो छ । शनिबार जित अत्यावश्यक रहेको धनगढीविरुद्धको खेलमा पनि बुटवलको प्रदर्शन तुलनात्मक रूपमा कमजोर नै रह्यो । 

यद्यपि, खेलको ८०औँ मिनेटमा सम्भव भएको एउटा उत्कृष्ट अवसरमा बुटवलको भाग्य चम्कियो । बुटवल लुम्बिनीले बनाएको त्यो साँच्चिकै उत्कृष्ट ‘मुभ’ थियो । त्यसका लागि प्रशिक्षक सनोजले रक्षक ओमोलाजा नुरइन करिमलाई मिडफिल्ड र विलियम ओपोकु असिदुलाई मिडफिल्डबाट अग्रपंक्तिमा पठाएका थिए । यसरी योजनामा त्यो उत्कृष्ट अवसर सिर्जना भएको थियो । 

करिमले मिडफिल्डबाट दिएको बललाई विलियमले डी–बक्सभित्र धनगढीका एक रक्षकलाई छक्याएर गोलरक्षक किरण चेम्जोङसमेत ‘बिट’ हुने गरी क्रस गरेका थिए । सोही बललाई सुमन लामाले गोलमा परिणत गरेका हुन् । 

अन्ततः त्यही गोल बुटवललाई प्रतियोगिताको प्लेअफमा पुर्‍याउन पर्याप्त बन्यो । खेलको ६५औँ मिनेटमा निशान लिम्बुले बुटवलका गोलरक्षक विशाल श्रेष्ठसँगको वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल साइड बारमा लागेर फर्किंदा धनगढी गोलबाट चुकेको थियो ।

टोली प्लेअफमा पुगेपछि बुटवलका प्रशिक्षक सनोजले खुसी व्यक्त गरे । यद्यपि, उनी आफ्नो खेलाडीको प्रदर्शनमा असन्तुष्ट देखिए । ‘धनगढीले यसअघिको जत्तिको पनि खेलिरहेको थिएन । तैपनि, मैदानमा उनीहरूले कडा टक्कर दिइरहेका थिए । सुरुवातको खेलको तुलना गर्ने हो भने आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट छैन,’ उनले भने, ‘यद्यपि, अन्तिम चारको यात्रामा खुसी छु ।’

धनगढीका प्रशिक्षक फुजा टोपेले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए । उनले आफ्ना मुख्य स्ट्राइकर अफिज अर्काे खेलमा मैदानमा फर्कने जानकारी दिए ।