१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २३ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख २३ बिहीबार १३:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमिसनका लागि स्वास्थ्यमा खेलबाड गर्ने सरकार दण्डित हुनुपर्छ  ः  नेता महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख २३ बिहीबार १३:५९:oo

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारीबाट हजारौँ जनताले ज्यान गुमाइरहेका वेला स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकार दण्डित हुनुपर्ने बताएका छन् । नागरिक स्वास्थ्य संकटले बिचल्लीमा परेका छन्, तर सरकार कमिसनको चक्करमा खोप र औषधिको कृत्रिम  अभाव गराएर जनता मार्ने जनघाती काममा लागेको महरको थप भनाइ थियो ।

संकटमा सहयोगी हातहरू नामक अभियानले आयोजना गरेको ‘कहाँ चुक्यो सरकार’ विषयक भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता महरले वर्तमान सरकार इतिहासकै भ्रष्टाचार शिरोमणि र विवेकहीन पनि  साबित भएको बताएका हुन् । ‘तीनवर्षे  कार्यकालमा भ्रष्टाचार, आर्थिक अनियमितताका दर्जनौँ काण्ड घटाइएको बताउँदै  खोप काण्ड, ओम्नी काण्ड, फास्ट ट्रयाक काण्ड, सेक्युरिटी प्रेस काण्ड, वाइडबडी काण्ड, रेल्वे काण्डलगायतका दर्जनौँ काण्डमा अर्बाैँको अनियमितता गरेर वर्तमान सरकार भ्रष्टाचार शिरोमणि र विवेकहीन साबित भयो’, नेता महरले आक्रोश पोख्दै भने, ‘जनता स्वास्थ्य संकटले बिचल्लीमा परेका छन्, तर कम्युनिस्ट नामधारी सरकार भ्याक्सिनलगायत स्वास्थ्य सामग्री उपलब्ध नगराएर कमिसन खाने चक्करमा जनता मार्ने जनघाती काममा उद्यत् छ ।’

लामो समयदेखि महामारी संक्रमणको भय र त्रासले आतंकित भएर जीवनरक्षाका लागि जनताले गरेको पुकार सुन्नुको सट्टा स्वास्थ्य सामग्री र भ्याक्सिन खरिद गर्दा भ्रष्टाचारजन्य कार्यमा स्वयं सरकार संलग्न देखिनु अमानवीय र असंवेदनशीलताको पराकाष्ठा भएको नेता महरले टिप्पणी गरे । 

सबै सत्ताहरू नियन्त्रणमा राखेर सर्वसत्तावादी बनेको सरकारलाई जनता स्वयंका तर्फबाट जनताको अदालतमा उभ्याएर कारबाही गरे मात्र देशमा सुशासन र अमनचयन हुने नेता  महरको भनाइ थियो । भ्याक्सिन र औषधिको अभावले दैनिक दर्जनौँ जनताले ज्यान गुमाउनुपरेको छ, तर  सरकारले भने भ्याक्सिन खरिदमा ३२ करोडभन्दा बढी कमिसनको दाउमा तीन करोड नागरिकको जीवनमाथि खेलबाड गरेको कार्यक्रममा सहभागीहरूको भनाइ थियो ।