मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रोबर्ट राइस
२०७८ बैशाख २० सोमबार ०९:०२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बाइडेनका सय दिन

नयाँ अमेरिकी राष्ट्रपतिको सफलतामा उनको साहसी प्रस्तावनाको मात्र भूमिका छैन, उनको पूर्ववर्तीको खराब रेकर्डले पनि सघाइरहेको छ

Read Time : > 2 मिनेट
रोबर्ट राइस
२०७८ बैशाख २० सोमबार ०९:०२:००

हरेक कोणबाट जो बाइडेनको सय दिन अत्यधिक सफल रह्यो । उनले कोभिड–१९ विरुद्ध करोडौँ अमेरिकीलाई खोप लगाए र अर्थतन्त्रको पुनरोत्थानमा सफलता पाए । यी दुई राष्ट्रपति बाइडेनका प्रमुख सफलता हुन् । दुईतिहाइ अमेरिकीले बाइडेनले ल्याएको १९ खर्ब डलरको सहायता योजनालाई समर्थन जनाए । बुधबार राति कंग्रेसको संयुक्त अधिवेशनमा उनले प्रस्तुत गरेको पूर्वाधार तथा परिवार योजनालाई पनि ठूलो समूहले समर्थन गर्छ । कुल मिलाएर ६० खर्ब डलर मूल्यका बाइडेनका सम्पूर्ण कार्यक्रम लिन्डन जोनसनपछिकै सबैभन्दा ठूलो संघीय सरकारको खर्च हुनेछ । 

एउटै विशाल कार्यक्रम ल्याउनुको साटो बाइडेनले विभिन्न लोकप्रिय अग्रसरतालाई समेटेर कार्यक्रम ल्याइरहेका छन् । बाइडेनले सार्वजनिक सामुदायिक कलेज, तलबी बिदा, होम केयर र पूर्वाधार मर्मतसम्बन्धी विषयलाई सम्बोधन गर्ने प्रयास गरेका छन् । यी विषयलाई विपक्षीले सहजै आलोचना गर्न सक्दैनन् । अर्थशास्त्रीहरूले महामारीका कारण निजी उपभोग्य वस्तुको माग बढेको बताइरहँदा बाइडेन सार्वजनिक वस्तुको माग वृद्धि गर्न अग्रसर छन् । तिनको माग वर्षौंदेखि नै थियो तर महामारीले तिनलाई झन् उदांगो बनाइदियो । 

अन्य विकसित मुलुकका श्रमिकको तुलनामा अमेरिकी श्रमिकले न्यून मात्रामा सामाजिक कल्याण र सामाजिक सुरक्षा उपभोग गर्छन् । बाइडेनले यस कुरामा अमेरिकालाई अन्य समकक्षी बराबर बनाउन खोज्दै छन् । बाइडेनलाई क्रान्तिकारी देखाउन रिपब्लिकनलाई गाह्रो छ । एक त उनी वृद्ध र हजुरबुबाजस्ता देखिन्छन् । उनी रोकिँदै बोल्छन् र नरम बोल्छन् । जब उनी औसत कामदार मानिसको आवश्यकताबारे कुरा गर्छन्, तब उनी तिनको अवस्थाबारे साँच्चै जानकार छन् जस्तो देखिन्छ । 

बाइडेनको छवि सुधार्न उनीलगत्तै अघिका पूर्ववर्तीको पनि ठूलो सहयोग छ । आधुनिक अमेरिकी राष्ट्रपतिमध्ये सबैभन्दा विवादास्पद र अधिनायकवादी व्यक्तित्वयुक्त राष्ट्रपतिपछि सत्तामा आएकाले बाइडेनलाई धेरै फाइदा पुग्यो । बाइडेन यदि ओबामापछि चुनिएका भए महामारी र आर्थिक संकटका बाबजुद उनी र उनको महत्वाकांक्षी योजना यति सहजतासाथ स्विकारिने थिएन । 

बाइडेन यदि ओबामापछि चुनिएका भए महामारी र आर्थिक संकटका बाबजुद उनी र उनको महत्वाकांक्षी योजना यति सहजताका साथ स्विकारिने थिएन 
 

कंग्रेसको सम्बोधनमा बाइडेनले पहिलो सय दिनको उपलब्धिको श्रेय अरूहरूलाई दिए । ‘ती काम तपाईंहरूका कारण सम्पन्न भए,’ बाइडेनले भने । उनले रिपब्लिकनतर्फसमेत फर्केर यसो भनेका थिए । उनका पूर्ववर्तीले कुनै कामका लागि कसैलाई श्रेय दिन सक्दैनथे । रिपब्लिकन पार्टी अझै पनि उसको ट्रम्पवादी आधारको बन्धक बनेको छ । उनीहरूसँग बाइडेनको प्रस्तावनालाई प्रतिरक्षा गर्न सक्ने कुनै सन्देश वा नीति छैन । रिपब्लिकन पार्टी अधिकांश अमेरिकीका आवश्यकतासँग कुनै सम्बन्ध नभएका असन्तुष्टिको सूची बनाएर बसेको छ । उनीहरू डेमाक्रेट्स ‘समाजवादी’ रहेको र ‘वामपन्थी’को मूल मनसाय अमेरिकी स्वतन्त्रता हरण गर्ने रहेको बताएर बसिरहेका छन् । 

कंग्रेसमा बाइडेनसँग एकदम झिनो अन्तरको अग्रता छ । उनले आफ्ना योजना कार्यान्वयन गर्ने हो भने सबै डेमोक्रेटिक सिनेटरलाई सहमत गर्न सक्नुपर्छ । तर, दक्षिणपन्थीमाझ देखिएको खोक्रोपनका कारण बाइडेनको अग्रसरता सार्वजनिक बहसमा हाबी भएको छ । यसले पनि नीतिहरू पास हुन सम्भव छ । ट्रम्पले अन्य तरिकामार्फत समेत बाइडेनलाई सजिलो बनाइदिएका छन् ।

ट्रम्पले अघिल्लो वर्ष अधिकांश अमेरिकीलाई १२ सय डलरको अनुदान चेक पठाएर बाइडेनलाई बेरोजगार सहुलियत प्रदान गर्न सहज बनाइदिए । ट्रम्पले ठूला कर्पाेरेसन र धनाढ्यलाई दिएको विशाल १९ खर्ब डलरको कर सहुलियतलाई मध्यनजर गर्दै बाइडेनको कर्पाेरेसन र धनीहरूको कर बढाउने प्रस्तावना पनि सही देखिएको छ । ट्रम्पको उग्र आर्थिक राष्ट्रवादको तुलनामा बाइडेनको ‘बाई अमेरिकन (अमेरिकी सामान किन)’ कार्यक्रम सामान्य देखिन्छ । ट्रम्पले अँगालेको क्रुद्ध पपुलिजमका कारण बाइडेनले वाल स्ट्रिटको विरोध र मजदुर युनियनको समर्थन गर्दा पनि तरंग उत्पन्न भएको छैन । 
नश्लको मुद्दामा पनि ट्रम्पसँगको भिन्नताले बाइडेनको हात बलियो बनाइदिएको छ । अधिकांश अमेरिकी ट्रम्पको निर्लज्ज नश्लवादबाट यति विरक्त भएका थिए कि बाइडेनले अश्वेतविरुद्धको प्रहरी दमनको अन्त्य गर्ने प्रयासलाई सबैले सामान्य मानेका छन् । 

राष्ट्रपतिको रूपमा बाइडेनका पहिलो सय दिन अमेरिकाका लागि राष्ट्रपति ट्रम्पविनाको सय दिन पनि हो । दुइटालाई अलग गरेर हेर्न सकिँदैन । बाइडेनका योजना ट्रम्पवादविरुद्धको ओखती साबित हुन सक्छ । 
(अमेरिकाका पूर्वश्रममन्त्री राइस युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका प्रध्यापक हुन्) गार्जियनबाट