१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पीडित हिरादेवीको घरमा राष्ट्रिय महिला आयोगको टोली
२०७८ बैशाख १० शुक्रबार ०९:१७:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बोक्सी आरोपमा यातना, न्यायको पर्खाइमा हीरादेवी

Read Time : > 1 मिनेट
२०७८ बैशाख १० शुक्रबार ०९:१७:००

राष्ट्रिय महिला आयोगको टोली औरहीमा, गाउँपालिका न्यायिक समितिका पदाधिकारी अझै पुगेनन्, हीरादेवी भन्छिन्– छोरा विद्यालय जान डरायो, छरछिमेक बोल्न मान्दैनन्

औरही गाउँपालिका–५ मा गत शनिबार बोक्सी आरोपमा आफन्तबाटै यातना भोगेकी ५० वर्षीया हीरादेवी साह न्यायको पर्खाइमा छिन् । गाईलाई टुना लगाएर मारेको भन्दै उनलाई आफ्नै भतिजा र बुहारीले कुटपिट गर्दै जबर्जस्ती मानव मलमूत्र खुवाएका थिए । पीडक पक्षलाई अहिलेसम्म कारबाहीको दायरामा ल्याइएको छैन । 

घटनाबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय महिला आयोगको टोली घटनास्थल पुगेको छ । आयोग टोलीसँग घटनाबारे विस्तृत बताउँदै हीरादेवीले छोरा विद्यालय जान डर लागिरहेको सुनाइन् । ‘सात कक्षामा पढ्ने विशाल विद्यालय जानै छाडेको छ,’ उनले भनिन्, ‘ममाथि भएको घटनाले सानो छोरा डराएको छ ।’
शनिबारको त्यो भयानक घटनापछि आफूलाई छरछिमेक पनि भेट्न आउन छाडेको उनले गुनासो गरिन् । ‘पहिले–पहिले छरछिमेक घरमा कुराकानी गर्न आउँथे । अब त आउनै छाडे । कुराकानी गर्न पनि मान्दैनन् ।’ 

औरही गाउँपालिका कार्यालय घटना भएको नजिकै पर्छ । तर, अहिलेसम्म गाउँपालिकाको कार्यालय, न्यायिक समितिबाट कसैले आफ्नो अवस्था बुझ्न नआएको हीरादेवीले गुनासो गरिन् । स्थानीय तहमा उपाध्यक्ष÷उपप्रमुखको नेतृत्वमा न्यायिक समिति छ । तर, औरही गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी यादवसहितका सदस्यले अवस्थाबारे बुझ्न चाहेका छैनन् ।

राष्ट्रिय महिला आयोगकी सदस्य विद्या सिन्हा नेतृत्वको टोली घटनास्थलमा पुगेर हीरादेवीसँग कुराकानी गरेको छ । सिन्हाले महिलालाई दिएको यातनाबारे गाउँपालिकाकी उपाध्यक्ष यादवसँग पनि कुराकानी गरेकी छन् । ‘घटना कहिले भयो, थाहा छैन । यो पालिकामा सायद यो पहिलो घटना हो,’ उनले भनिन् । न्यायिक समितिका सदस्य राकेशकुुमार दासले घटनाबारे थोरै जानकारी भए पनि घरमा गएर भेट्न नसकिएको बताए । अर्का सदस्य रञ्जुकुमारी यादवले बोक्सी ओरोपमा यातना दिएको घटनाबारे अनभिज्ञता प्रकट गरिन् ।

महिला हकअधिकारका पक्षमा बोल्ने संघसंस्था बेखबर
सिराहामा विभिन्न कुरीति, विकृतिविरुद्ध अभियान चलाउने धेरै संघसंस्था क्रियाशील छन् । तर, हीरादेवीलाई बोक्सी आरोपमा यातना दिएको घटनाबारे सोधीखोजी गर्न राष्ट्रिय महिला आयोगबाहेक अन्य संघसंस्थाका प्रतिनिधि पुगेका छैनन् । ‘पत्रकार र प्रहरी मात्र भेट्न आएका छन्,’ हीरादेवी भन्छिन्, ‘न्यायिक समिति, संघसंस्थाबाट कोही आएका छैनन् ।’

महिला अधिकारका क्षेत्रमा सिराहामा क्रियाशील रहेका संघसंस्थाले हीरादेवीलाई दिएको यातनाविरुद्ध अगाडि आउन सकेका छैनन् । आयोग सदस्य सिन्हाले घटनास्थलमा पीडित, स्थानीय प्रहरी, न्यायिक समितिका पदाधिकारीलगायतसँग कुराकानी गरेको बताइन् । ‘घटनास्थल पुगेर स्थलगत अध्ययन गरेकी छु,’ उनले भनिन्, ‘विस्तृत कुरा आयोगले विज्ञप्तिबाट सार्वजनिक गर्छ ।’ हीरादेवीलाई आवश्यक पर्ने कानुनी र मनोवैज्ञानिक सहयोग दिन आयोगले सहयोग गर्ने सिन्हाले बताइन्।

मुद्दा दर्ता, एकजना पक्राउ
हीरादेवीलाई बोक्सी आरोपमा यातना दिने औरही गाउँपालिका–५ का २९ वर्षीय घुरन साहलाई प्रहरीले पक्राउ गरेको छ । घटनालगत्तै फरार भएका साहलाई प्रहरीले आइतबार पक्राउ गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले बताए । घटनामा संलग्न अन्य फरार भएका छन् । घटनामा संलग्नहरू घरमा ताल्चा लगाएर फरार रहेको भन्दै श्रेष्ठले मुद्दा दर्ता गरी अनुसन्धान थालिएकाले उनीहरू चाँडै पक्राउ पर्ने बताए ।