मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ बैशाख १० शुक्रबार
  • Friday, 14 August, 2026
२o७८ बैशाख १० शुक्रबार o७:५o:oo
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

स्नातक पढ्ने विद्यार्थीलाई बेलबारी नगरपालिकाले  शुल्क तिरिदिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १० शुक्रबार o७:५o:oo

बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसमा यस शैक्षिक सत्रमा स्नातक प्रथम वर्षमा भर्ना हुने सबै विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएको छ । बिए, बिबिएस र बिएड संकायमा भर्ना हुने सबै विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले तिरिदिने भएको हो । 

बेलबारी बहुमुखी क्याम्पसमा यस शैक्षिक सत्रमा भर्ना हुन आउने स्नातक पहिलो वर्षका सबै विद्यार्थीलाई नि:शुल्क भर्नाको व्यवस्था मिलाइएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ‘कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्नेमा हामी सजग छौँ,’ नगर प्रमुख सुवेदीले नयाँ पत्रिकासँग भने, ‘त्यसैले क्याम्पसमा भर्ना हुने सबै विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले तिर्ने निर्णय गरेका छौँ ।’ नगर प्रमुख सुवेदी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत हुन् । 

५ वैशाखमा बसेको नगर कार्यपालिकाले बैठकबाट यस्तो निर्णय गरिएको हो । जुनसुकै जिल्लाबाट आउने विद्यार्थीलाई पनि हाल सो सुविधा प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगर प्रमुख सुवेदीले अहिले यस शैक्षिक सत्रका लागि मात्र यस्तो व्यवस्था गरिएको जानकारी दिए । ‘विद्यार्थीको संख्या हेरेर आगामी आर्थिक वर्ष पनि निःशुल्क भर्ना कार्यक्रमलाई निरन्तरता दिने–नदिने निर्धारण गरिनेछ,’ उनले भने, ‘नीतिगत निर्णय गरेर नगरपालिकाको कार्यक्रमकै रूपमा पनि कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन सकिनेछ, तर अहिले नै त्यसको टुंगो भने लगाइएको छैन ।’ 

क्याम्पस प्रमुख खगेन्द्रप्रसाद लुइँटेलका अनुसार भोजपुर, धनकुटा, तेह्रथुमलगायत पहाडी जिल्ला तथा बेलबारीआसपासका विभिन्न नगरपालिकाबाट विद्यार्थी अध्ययनका लागि आउने गर्छन् । क्याम्पसले स्नातक पहिलो वर्षमा नेपाली माध्यममा पढ्ने विद्यार्थीका लागि बिबिएस र बिएड संकायमा ६ हजार एक सय पाँच रुपैयाँ र अंग्रेजी माध्यममा ६ हजार दुई सय ५ रुपैयाँ भर्ना शुल्क निर्धारण गरेको छ ।

पहिलो वर्षको अध्ययनमा भर्ना भएका विद्यार्थीले नगरपालिकाको सहयोगबाट खुसी व्यक्त गरेका छन् । बिएड प्रथम वर्षका पुरुषोत्तम पौडेलले नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गरेको प्रतिक्रिया दिए । ०६५ मा स्थापना भएको बेलबारी बहुमुखी क्याम्पस हालै आफ्नो भवनमा सरेको छ । भवन निर्माणका लागि ६० प्रतिशत रकम नगरपालिकाले नै व्यवस्था गरिदिएको हो ।