मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिपेश शाही काठमाडाैं
२०७८ बैशाख ८ बुधबार ०६:०९:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

ओलीको पत्र अवैध छ : झलनाथ खनाल

आयोजक कमिटी हाम्रो विधानले चिन्दैन, यस्तो कमिटीलाई स्पष्टीकरण माग गर्ने अधिकार नै छैन, ओलीको पत्र अवैध छ

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ बैशाख ८ बुधबार ०६:०९:००

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले तपाईंहरूको समूहका २७ संघीय सांसदलाई स्पष्टीकरण सोध्नुभएको छ । यसमा यसअघि नै पार्टीबाट निलम्बनमा परेका नेता पनि हुनुहुन्छ । स्पष्टीकरण सोध्ने ओलीको पछिल्लो कदमलाई कसरी लिनुभएको छ ? 

हामीले स्पष्टीकरणलाई ज्यादतीपूर्ण र पार्टीको विधान अनुकूलको होइन भन्ने निष्कर्ष निकालेका छौँ । हामी हाम्रो पार्टीको तर्फबाट सांसद र विधानबमोजिम पार्टीको केन्द्रीय कमिटीमा छौँ । केपी ओलीले केन्द्रीय कमिटीलाई भंग नै गरिसक्नुभयो । आयोजक कमिटीको तर्फबाट हामीलाई स्पष्टीकरण माग गरिएको छ । आयोजक कमिटीलाई स्पष्टीकरण माग गर्ने कुनै अधिकार नै छैन । यो आफैँमा अवैध हो । आयोजक कमिटी हाम्रो विधानले चिन्दैन । त्यसैले यो ओलीको अधिकार र अख्तियारभन्दा बाहिरको विषय हो । 

संसदीय दलको नेताको हैसियतमा पनि उहाँले स्पष्टीकरण माग गर्नुभएको छ नि ?

मलाई आएको पत्रमा संसदीय दलको नेतासँगै पार्टीको अध्यक्ष पनि भनिएको छ, दलको नेता मात्रै भनिएको छैन ।

आज बसेको तपाईंहरूको बैठकले स्पष्टीकरण पत्रको जवाफ दिने र कारबाही गरेमा कानुनी र राजनीतिक रूपमा चुनौती दिने निर्णय गर्नुभएको छ, त्यो भनेको के हो ? 

हामीलाई अलग पार्टी खोलेकोलगायत आरोप लगाइएको छ । हामी पत्र प्राप्त भएका २७ जना सबै नेकपा एमालेमा नै छौँ । नेकपा एमालेको संसदीय दलको सदस्य पनि हौँ । ओलीले के कारणले अर्को पार्टी खोलेको देख्नुभयो, त्यो आफैँमा आश्चर्य र अनौठो हो । तैपनि हामी पार्टीका अध्यक्ष र संसदीय दलको नेताले स्पष्टीकरण सोधेपछि जवाफ दिन्छौँ । 

केही दिनअघि ओलीले तपाईंको जुँगा उखेलिदिने भन्दै संसद् पद खोस्ने संकेत गर्नुभएको थियो । अहिले संसद्मा सत्तासमीकरणको दौडधुप भइरहेका वेला संसद् पद खोस्ने गरी काम अगाडि बढाउनु के उद्देश्य हुन सक्छ ? 

आफ्नाविरोधी सबैलाई निष्कासन गरेर, अकन्टक राज गर्ने ओलीको सपना हुन सक्छ । उहाँमा त्यस्ता सपना हुन सक्छन् । तर, हामीले त्यस्ता सपना देख्ने राणादेखि निरंकुश राजासम्म धेरै शासक देख्यौँ । ती सबैको हालत के भयो जगजाहेर नै छ । 

तर, कर्णालीमा तपाईंहरूले त ह्विप मान्नुभएन, पार्टीलाई सहयोग गर्नुभएन र त्यही संघीय संसद्मा पनि दोहोरिन सक्ने भय त तपाईंहरूले नै पैदा गराउनुभएको हो नि ? 

कर्णालीमा जुन प्रकारको विद्रोह देखापर्‍यो त्यो नेताले शिक्षा लिने ठूलो घटना हो । नेताले कार्यकर्तालाई ठीक ढंगले परिचालन गर्न सकेन, न्याय दिन सकेन, अग्रगतितर्फ अगाडि बढाउन सकेन, विभिन्न ढंगले अन्याय गर्दै गयो, अत्याचार र दमन गर्दै गयो भने यस्तो परिणाम प्रकट हुन्छ, जुन कर्णालीमा प्रकट भयो । देशका कुनै पनि स्थानमा यस्तो घटना नदोहोरियोस् भन्ने म चाहन्छु । त्यो नदोहोर्‍याउने हो भने लाठी, मुंग्री, डन्डा देखाउने खालका काम नहुन् । त्यस्ता कामले आज २१औँ शताब्दीका कोही पनि मानिस पटक्कै त्रसित हुँदैनन् ।

तपाईंहरूले दिने स्पष्टीकरणमा विषयवस्तुचाहिँ के हुन्छ ? 
क–कसलाई के–के प्रश्न सोधिएका छन् भन्ने मलाई थाहा छैन । तर, सबैले आ–आफ्ना स्पष्टीकरणको जवाफ दिनुहुन्छ । मलाई जे कुरामा स्पष्टीकरण सोधिएको छ, म त्यसको जवाफ दिन्छु । 

ओली समूहको फुटवादी प्रवृत्तिका विरुद्ध आत्मसमर्पण नगर्ने निष्कर्ष पनि निकाल्नुभएको छ । मतलब कारबाहीका लागि तयार हो ?

देश, जनता, राष्ट्र, मूल्य, मान्यता, सिद्धान्त र आदर्शलाई लक्ष्य बनाएर हामीले धेरै वर्षअघि शपथ खाएका हौँ । त्यसलाई हामी कसैले पनि बिर्सेका छैनौँ, हाम्रा सांसदले पनि बिर्सेका छैनन् । जसले ज्यान नै समर्पित गरेर हिँडेको छ, उसका लागि पदको कुरा र स्पष्टीकरणले के असर पार्छ र ? सीधा छ– कसैलाई पनि केही असर गर्दैन । हाम्रा सांसदलाई पनि असर गरेको छैन, गर्दैन । 

याे पनि पढ्नुहाेस् : नेपाल समूहलाई कारबाही भए सत्तासमीकरणमा के हुन्छ अंकगणित ?