१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ७ मंगलबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ७ मंगलबार १९:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खनाल–नेपाल पक्षका सांसदको निष्कर्ष– स्पष्टीकरण दिने, एमालेमै लड्ने, आवश्यक परे अदालत जाने (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ७ मंगलबार १९:३२:oo

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदको बैठकले एमालेमै बसेर लड्ने निष्कर्ष निकालेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटेलमा मंगलबार बसेको सांसदहरूको बैठकले संविधानप्रदत्त हकका लागि लड्ने र संसदीय दलका नेता केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निष्कर्ष निकालेको हो ।

बैठकपछि सांसद रामकुमारी झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र सोहीअनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानुनी लडाइँ लड्ने बताइन् । पार्टीबाट सांसद पद हट्ने गरी कारबाही गरिए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै झाँक्रीले भनिन्, ‘हामी संसदीय दलभित्र लड्छौँ, अदालतसम्म पुग्छौँ किनभने प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा पनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नि त ।’

झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानुन र संविधानअनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यक्तिगत तवरबाट जवाफ पठाउने बताइन् । उनले भनिन्, ‘कुनै यो स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर, स्पष्टीकरण दिएनौँ भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ ।’

झाँक्रीले आफूहरूले २ जेठ ०७५ को नेकपा एमालेलाई चिन्ने, तर २८ फागुन ०७७ मा जिम्मेवारी थपिएका मान्छेसहितको एमाले नचिन्ने पनि बताइन् । उनले भनिन्, ‘हामी २८ फागुनमा थपेका मान्छेसहितको बैठक चिन्दैनौँ नि । त्यो नेकपा एमाले चिन्दैनौँ । हामीले २ जेठ ०७५ अगाडि, ३ जेठको एकतापूर्वको एमाले, त्यसका पदाधिकारी, त्यसका कमिटी, देशभरिको संरचना, जनसंगठन त्यसलाई चिन्छौँ र त्यसको बैठक बस्यो भने हामी जान्छौँ । त्योभन्दा यताको हामीलाई अमान्य हुन्छ ।’

झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरूको कुनै मनसाय नरहेको पनि स्पष्ट पारिन् । दल गठन गरेको भन्ने हो भने दलको संरचना हुनुपर्ने, दलको नाम हुनुपर्ने र दर्ता भएको हुनुपर्ने कुरालाई पार्टी अध्यक्ष ओलीले ख्याल गरेको हुनुपर्ने पनि उनले बताइन् । उनले भनिन्, ‘दल गठन भएको हुनका लागि प्रधानमन्त्रीले कानुन विधिलाई नै फलो गर्नुपर्छ होला । त्यसकारण दल गठन हुनका लागि दलको संरचना हुनुप¥यो, नाम हुनुप¥यो, दर्ता हुनुप¥यो, त्यसको प्रक्रिया–विधि सबै हुनुपर्छ । हामी त्यस्तो गर्ने मनसायमा पनि छैनौँ । यो नेकपा एमालेमा अरू कसैको भन्दा हाम्रो कम योगदान छैन । आज जनताको, नागरिकको, मतदाताको, पार्टीका सदस्यहरूको रगत–पसिनाद्वारा निर्मित भएको पार्टी हामी खुरुखुरु कसैलाई छोडेर जाँदैनौँ । त्यसकारण उहाँहरूको इच्छा त हामी छेडेर जाऔँ भन्ने नै छ । तर, हामी छोडेर जान्नौँ । यहीँ लड्छौँ । त्यसकारण हामीले अर्को पार्टी बनाउने भन्ने कुरै आउँदैन । यही पार्टीमा लडेर हाम्रो अधिकार स्थापित गर्ने हो ।’

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ओलीले खनाल–नेपालसहित २७ संघीय सांसद र पाँच प्रदेश सांसदलाई स्पष्टीकरण सोधेका थिए । पार्टीविरोधी गतिविधि गरेको ओलीको दाबी छ । ओलीले २७ संघीय सांसदलाई सांसदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका छन् ।