
गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै निर्वाचन आयोगले उपचुनावको तयारी थालेको छ । आयोगका पदाधिकारीले आइतबार यसबारे छलफल गरेका छन् । पदावधि ६ महिनाभन्दा बढी रहँदै राष्ट्रिय सभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्र चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।
‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले रिक्त सदस्यको पद यो ऐनबमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ,’ राष्ट्रिय सभा निर्वाचन ऐन, २०७५ को दफा ६१ मा भनिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनी व्यवस्थाअनुसार उपनिर्वाचन गर्नेबारे छलफल भएको बताए । ‘राष्ट्रिय सभामा पद रिक्त भयो भन्ने थाहा पाएपछि हामीले कानुनी व्यवस्थाअनुसार चुनाव गराउने भन्ने विषयमा सामान्य छलफल गरेका छौँ,’ आयुक्त थपलियाले भने, ‘सरकारले निर्णय गर्नेबित्तिकै आयोग चुनावका लागि तयार छ ।’
माओवादी केन्द्रका तर्फबाट ०७४ मा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित थापा पार्टी छोडेर एमाले प्रवेश गरेका थिए । उनको पद खारेज गर्न माओवादीले संघीय संसद् सचिवालयलाई पत्राचार गरेको थियो । सोहीअनुसार आइतबार संसद् सचिवालयले थापाको पद रिक्त भएको सूचना जारी गरेको थियो ।
गत २३ फागुनमा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई अवैधानिक भनेर फैसला दिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका थिए । त्यसपछि थापा एमाले प्रवेश गरेका थिए ।