Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ५ आइतबार ११:२१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

छैटौँपटक सर्‍यो आलमको पेसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ५ आइतबार ११:२१:००

रौतहट बम विस्फोटका मुख्य योजनाकार मोहम्मद अफ्ताब आलमले थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा दिएको रिट निवेदनको पेसी छैटौँपटक सरेको छ ।

बम विस्फोटसम्बन्धी मुख्य मुद्दा जिल्ला अदालत रौतहटमा छ । उनलाई अहिले काठमाडौंको नख्खु कारागारमा राखिएको छ । रौतहटस्थित कारागारमा सुरक्षाका दृष्टिले अनुपयुक्त देखिएपछि उनलाई नख्खु ल्याइएको थियो । 

उनले साधारण तारेखमा मुद्दा लड्न माग गर्दै गत वर्ष सर्वोच्चमा रिट दर्ता गराएका थिए । उक्त रिटको पेसी छैटौँपटक गत शुक्रबार तोकिएको थियो । तर, शुक्रबार पनि बहस हुन सकेन । प्रतिवादी आलमबाटै बहस स्थगित गराउन सर्वोच्चमा रिट निवेदन परेपछि शुक्रबारको पेसी स्थगित गराइएको हो । अर्कोपटकको पेसी आइतबार मात्रै तोकिनेछ ।

पीडित पक्षबाट बहसमा संलग्न अधिवक्ता पुष्प पौडेलले शुक्रबारको पेसी स्थगित भएको जानकारी दिए । उनले भने, ‘थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले सर्वोच्चमा रिट हालेका थिए । त्यसको पेसी शुक्रबार तोकिएको थियो तर, बहस भएन । प्रतिवादी पक्षबाटै पेसी सारिपाउँ भन्दै निवेदन पर्‍यो । त्यसपछि सर्वोच्चले बहसको सूचीबाट हटायो । उनको मुद्दामा पेसी सरेको यो छैटौँपटक हो ।’ नियमतः प्रतिवादीलाई दुईपटकसम्म मात्रै पेसी सार्ने छुट छ ।

तर, आलम पक्षले शुक्रबारसम्म गरी चारपटक पेसी सारिसकेको छ । बाँकी दुईमध्ये एकपटक हेर्न नभ्याइने भन्दै सर्वोच्चबाट पेसी स्थगित गराइएको थियो । अर्को एकपटक भने निवेदन अर्थात् मुद्दाका पक्षबाट पेसी सार्न लगाइएको थियो । अधिवक्ता पौडेलले प्रतिवादीलाई दुईपटकसम्म पेसी सार्ने छुट भएको तर, आलमका हकमा लागू नभएको बताए ।