मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख ४ शनिबार ०६:११:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाँकेको कोहलपुरमा बस र टिपर ठोक्किँदा पाँचको मृत्यु, ३७ घाइते

Read Time : < 1 मिनेट
२०७८ बैशाख ४ शनिबार ०६:११:००

बाँकेको कोहलपुर नगरपालिका– १२ रोहिणी खोलानजिक शुक्रबार बेलुकी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ३७ जना घाइते भएका छन् । सातजनाको अवस्था गम्भीर छ । सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे.१ख ३३४७ नम्बरको बस र शमशेरगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको टिपर कोहलपुर–अमिलिया सडकखण्डमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।  

दुर्घटनामा टिपरचालक कोहलपुर नगरपालिका– ३ बस्ने खगेन्द्रबहादुर सुनार, सहचालक कोहलपुर नगरपालिका– १२ का उदय बाँठा, सुर्खेत साताखान– ७ का जीवनबहादुर विक तथा झापाको मेचीनगर नगरपालिका– १२ घर भएका बसधनी छत्रबहादुर कटवाल छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अन्दाजी ३५ की एक महिलाको पनि मृत्यु भएको छ ।

तर, उनको नाम ठेगाना खुलेको छैन । एकजनाको घटनास्थलमै र चारजनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याउनेबित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालले जानकारी दिए । उनले घटनास्थलबाट ३७ जना घाइतेको उद्धार गरिएको बताए । ‘घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ, उनीहरूको कोहलपुरमै उपचार भइरहेको छ,’ डिएसपी खनालले नयाँ पत्रिकासँग भने । 

दुर्घटनाग्रस्त सवारीसाधनबाट घाइतेको उद्धार गर्न दुईवटा क्रेन र तीनवटा एक्स्काभेटर प्रयोग गर्नुपरेको थियो । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । उद्धारमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको र उद्धार गर्न दुई घन्टाभन्दा बढी समय लागेको डिएसपी खनालले जानकारी दिए ।